0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेस कास्की र धादिङका नेताहरु शनिबार पोखराको एक कार्यक्रममा एउटै मञ्चमा देखिए । उक्त कार्यक्रममा धादिङवासीको पनि उल्लेख्य सहभागिता थियो । कार्यक्रम  तीव विशेष भएकाले महिलाहरुको उत्साहजनक सहभागिता थियो भने नेपाली कांग्रेस कास्कीका पूर्व सभापति शुक्रराज शर्मा, नेता शोभियत बहादुर अधिकारी, पार्टी सचिव कृष्ण केसी, नेपाली कांग्रेस धादिङका नेता शिवराज अधिकारी, महासमिति सदस्य डा. राजाराम कार्की, धादिङ क्षेत्र नं. २ का पार्टी सभापति विनोद तिमिल्सिना, नेविसंघका केन्द्रीय सदस्य रामप्रसाद अधिकारी लगायत सहभागी थिए । यी दुई जिल्लाका पार्टी नेताहरुलाई एकै ठाउँमा उभ्याउन पुलको काम ‘नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क सदन’ ले गरेको थियो ।कार्यक्रममा बोल्दै नेता शुक्रराज शर्माले कांग्रेसको विकल्प अन्य पार्टी कदापि हुन नसक्ने ठोकूवा गरे । उनले कम्युनिष्टहरु कहिल्यै पनि देशभक्त हुन नसक्ने भन्दै उनीहरुकै कारण देशमा विखण्डन आउन लागेको आरोप लगाए । कम्युनिष्टहरुको ४ वटा सरकारले संविधान निर्माण गर्न नसकेको प्रसङ्ग उल्लेख गर्दै नेता शर्माले कांग्रेसकै नेतृत्वमा संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको स्पष्ट पारे । उनले भने–‘२००७ साल, ०१७ साल, ०४६ , २०६२÷०६३ को राजा फाल्ने समेत कांग्रेसकै नेतृत्वमा सफल भएको थियो । पहिलो संविधान सभामा पनि कांग्रेसले त्याग र तपस्या गर्दा–गर्दै असफल भयो तर दोस्रो संविधानसभाबाट संविधान जारी गर्ने अवस्थामा कांग्रेस नेतृत्व कै कारण आइपुगेको छ ।’ संविधान जारी गर्ने समयमा यसलाई विथोल्न कैयौं प्रयास भएको तर यसलाई असफल तुल्याउँदै संविधान जारी गर्न कांग्रेस दृढ भएर अघि बढ्ने नेता शर्माले स्पष्ट पारे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता शर्माले पोखरामा रहेका धादिङवासीहरुको खुलेर प्रशंसा गरे । उनले भने–‘कास्की कांग्रेस नेतृत्व आफूले गर्दा होस् या वर्तमान समयमा पनि धादिङवासीको महत्वपूर्ण सहयोग छ ।’ उनले धादिङवासीको यो गुन कास्की कांग्रेस र आफूले तिरेर कहिल्यै नसक्ने स्पष्ट पारे । उनले पोखरामा रहेका धादिङवासीलाई एक्लो महसूस नगर्न आग्रह गर्दै  धादिङवासीको जस्तोसुकै समस्यामा पनि कास्की कांग्रेस र आफू सधैं साथमा रहेको प्रतिवद्धता जनाए । उनले भने–‘तपाइँहरुको जन्मघर धादिङ हो । धादिङलाई कदापि नभुल्नुस् । रगतपछिको नाता विचार हो । हामी सबैको विचार एउटै छ । त्यसैलै हामी सबै नेपाली कांग्रेसर्कै घरमा छौं ।’ कांग्रेसको विचार बोकेर हिंडे कहिल्यै एक्लो महसूस नुहने र कहिंपनि समस्या नआउने नेता शर्माले बताए । नेपाली कांग्रेस धादिङका नेता एवं महासमिति सदस्य डा. राजाराम कार्कीले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि ७० वर्षदेखि कांग्रेस लड्दै आइरहेको भएपनि वर्तमान समयमा राष्ट्रियता धरापमा पर्न लागेको भन्दै चिन्ता प्रकट गरे । उनले देशमा विखण्डनकारी तत्वहरु सलवलाइरहेको अवस्थामा मुलुक र नेपाली जनताको भविष्य निर्माणमा नेपाली कांग्रेस एकढिक्का भएर उभिनुपर्नेमा जोड दिए । नेपाली कांग्रेस अखण्ड मुलुक र लोकतन्त्रका लागि सधैं प्रतिवद्ध रहेको स्पष्ट पार्दै उनले भने–‘कांग्रेसले लोकतन्त्रमा विश्वास गर्ने हो भने बहुमतको कदर हुने भएकाले हिन्दूराष्ट्र विरुद्ध कांग्रेस जान हुँदैन ।’धादिङ कांग्रेस पार्टीभित्रको अवस्था बारे पोखरामा रहेका धादिङ वासीहरुलाई जानकारी गराउदै नेता कार्कीले धादिङमा पार्टी संगठन ध्वस्त रहेको, १८ वर्षदेखि प्रशिक्षण नभएको भन्दै चिन्ता प्रकट गरे । उनले भने–‘१८ वर्ष भयो पार्टीको पूर्ण बैठक बस्न सकेको छैन । नेता कार्यकर्तालाई प्रशिक्षण दिन सकिरहेको छैन । आर्थिक हिसाव–कितावको समेत टुङ्गो छैन । यसले  पार्टीलाई ठूलो हानी पु¥याएको छ ।’ यसैका कारण संविधानसभा चुनावमा पार्टी निकै कमजोर भएको दावी गर्दै उनले यस विषयमा पोखरादेखि नै आवाज उठाउनुपर्नेमा जोड दिए । कार्यक्रममा कास्की कांग्रेसका नेता शोभियत बहादुर अधिकारीले नेपाली कांग्रेसलाई तहस–नहस पार्ने र देशलाई टुक्रा–टुक्रा पारेर विखण्डमा लैजाने षड्यन्त्र भइरहेको भन्दै त्यस्ता षड्यन्त्र विरुद्ध नेपाली कांग्रेस एकढिक्का भएर लाग्नुपर्ने बताए । संविधान निर्माणको क्रममा देशकै रक्षकहरुको हत्या हुनु दुःखद् भएको भन्दै उनले जतिसुकै चुनौती आएपनि संविधान निर्माणमा एकढिक्का हुन आग्रह गरे । धादिङवासी कार्यकर्ताहरुलाई निर्देशन दिंदै नेता अधिकारीले भने–‘कांग्रेसको सहि विचार अवलम्वन गरि पार्टी र आफ्नो काममा एकतावद्ध, दृढ संकल्पका साथ लाग्नुस्, तपाईको मनोवल बढाउन कांग्रेस पार्टी प्रतिवद्ध छ ।’नेपाली कांग्रेस कास्कीका सचिव कृृष्ण केसीले रगतको नाता भन्दा विचारको नाता नजिक हुने भएकाले कास्कीमै रहेर पनि कांग्रेसको काममा लाग्न सकिने स्पष्ट पारे । नेपाली कांग्रेस धादिङका नेता शिवराज अधिकारीले संगठन, धार्मिक स्वतन्त्रता, भर र गरिवमुक्त  कांग्रेसको र चारतारे झण्डाको उद्देश्य रहेकाले यसै विचारमा प्रतिवद्ध भएर उभिन आग्रह गरे ।  धादिङ क्षेत्र नं. २ का पार्टी सभापति विनोद तिमिल्सिनाले नेपाली कांग्रेलेमात्र संविधान र गणतन्त्र चाहेको स्पष्ट पार्दै पार्टीको विचार भन्दा बाहिर नजान सुझाव दिए । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य रामप्रसाद अधिकारीले हिजो, आज र भोलिपनि कांग्रेसकै विचार सही हुने भन्दै कांग्रेसलेमात्र मुलुक संवृद्ध बनाउन सक्ने ठोकूवा गरे । उनले पोखरामा रहेका धादिङ वासीहरुको छाता संस्था धादिङ–पोखरा सम्पर्क समिति राजनीति प्रभावमा चल्न थालेको आरोप लगाउँदै त्यसलाई रोक्न सदनले भूमिका खेल्नुपर्नेमा जोड दिए । कार्यक्रममा धादिङ–पोखरा सम्पर्क समितिका अध्यक्ष झम्कबहादुर सारु मगरले पनि बोलेका थिए ।सदनका सभापति केदार धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव माधव लम्साल, स्वागत उपाध्यक्ष यदुप्रसाद ढकालले र धन्यवाद ज्ञापन कार्यक्रम संयोजक गंगा श्रेष्ठले गरेकी थिइन । 

Post a Comment

 
Top