0
शान्ता कमली
आफ्ना श्रीमान्ले वेवास्ता गरेपछि दैनिक गुजारा चलाउने समस्या भोग्दै आएकी मालिङकी दलित समुदायकी एक महिलालाई दलित सञ्जाल लमजुङले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । उत्तरीभेगको मालिङ गाउँ विकास समिति वडा नं ४ की २४ वर्षीया सविता विकलाई दक्षिण अफ्रिकामा कार्यरत् दलित एकता सञ्जाल अन्तर्राष्ट्रिय समितिका सल्लाहकार एवं अभियान्त राजेन्द्र अछामीले उपलब्ध गराएको सहयोग सोमबार बेसीशहरमा हस्तान्तरण गरिएको हो । श्रीमान् रोशन विकले उनी सहित २ छोराहरुको लालनपालन र पठनपाठनमा सहयोग नगरी दोस्रो विवाह गरि सम्पर्क बाहिर रहेपछि समस्यामा परेकी सवितालाई ५ हजार बराबरको सहयोग उपलब्ध गराईएको हो । दलित सञ्जालका सदस्य एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य किसान संगीत नेपालीको प्रमुख आतित्थ्यमा भएको कार्यक्रममा छोराहरुलाई पठनपाठनका लागि कापीकलम, विद्यालय पोशाक, झोला, जुत्ता र नगद २ हजार ६ सय १५ रुपैयाँ प्रदान गरिएको हो । पीडित विकलाई नगद तथा सामाग्री हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपालीले समुदायमा सचेतनाको अभावले सयौं चेलीबेटी घरेलु तथा लैङ्गिक हिंसाको शिकार हुनुपरेको र जातिय समानताको अधिकार सँगै घरेलु हिंसा, लैङ्गिक हिंसाका विरुद्धमा पनि सचेतना मूलक अभियान गर्नुपर्ने बताए । सञ्जालका अध्यक्ष विवश बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सन्दीप विक, अभियान्तहरु उर्मिला बसेल, नारायणी नेपाली लगायतको सहभागिता रहेको थियो ।सात वर्ष अघि विवाह भएकी सविताका ५ वर्ष र २ वर्षका छोराहरु रहेकोमा श्रीमान्ले विवाह भएदेखि नै सहयोग नगरेको, गालीगलौज र कुटपीट गर्दै आएको र गत असारमा भोर्लेटारबाट दोस्रो विवाह गरि परिवारको सम्पर्कमा नरहेको पीडित विकले बताइन । आफ्ना श्रीमान्ले अझैपनि बेलाबेलामा फोन गरेर आफू पोखरामा भएको र सम्बन्ध विच्छेद गर्छु भन्दै धम्क्याउने गरेकाले श्रीमान्को खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकोमा प्रहरीले कुनै सुनुवाई नगरेको सबिताले गुनासो गरिन् । गत साउन ११ गते प्रहरीमा निवेदन दिएपनि प्रहरीबाट सहयोग नपाएकाले आवश्यक पहल गरिदिन दलित एकता सञ्जाल लमजुङलाई अनुरोध गरेको अभियान्त उर्मिला बसेलले बताइन ।त्यसैगरि, मालिङ गाउँ विकास समिति वडा नं ४ बस्ने २१ वर्षीया सुमित्रा विकका श्रीमान् विनोद विक पनि गतसाल मंसिर देखि बेपत्ता भएपछि खोजीगर्दा नभेटिएकाले खोजी कार्यमा सहयोग गरिदिन दलित एकता सञ्जाललाई अनुरोध गरेका छन् । बैदेशिक रोजगारीको लागि मलेशिया गएका विक ४ वर्षमा मंसिरमा घरमा आएका र २ दिनपछि टिकट मिलाउन काठमाडौं जान्छु भनेर हिडेकोमा अहिलेसम्म सम्पर्कमा नआएको सुमित्राले बताइन । उनले पनि श्रीमान्को खोजीका लागि यही सोमबार जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको बताइन । कमाई गर्ने श्रीमान् वेपत्ता भएको र सासु ससुराबाट सहयोग नपाएपछि छोराछोरीको लालनपालनमा समस्या भएको विकले बताइन । पीडित सविता र सुमित्राको सहयोगका लागि सञ्जालका तर्फबाट पहल गरिने सञ्जालका अध्यक्ष बुढाथोकीले बताइन ।

Post a Comment

 
Top