गोल्डेन न्यूज संवाददाता
नेवारी कला, संस्कृतिमा आधारित गाईजात्रा महोत्सव तथा तायामचा नृत्य प्रतियोगिता पोखरामा सम्पन्न भएको छ । पोखरामा रहेका नेवार समुदायले गाइजात्रा महोत्सव आयोजना गरि नेवारी कला संस्कृतिलाई आत्मसाथ गर्दै मनाएका छन् । पोखरामा रहेका नेवारी संघसंस्था तथा व्यक्तिहरु नेवारी भेषभूषामा सजिएर कार्यक्रममा उपस्थित भएका थिए । नेवा खल कास्कीको आह्वान तथा नेवाःकचाः पुच र नेवाःमिसाःपुच बागबजार, बगर १ पोखराको आयोजनामा शनिबार गाईजात्रा महोत्सव तथा तायामचा नृत्य प्रतियोगिता भएको हो । महोत्सव तथा तयामचा प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका सचिव सुरजमान श्रेष्ठले यस्ता महोत्सव तथा कार्यक्रमले संस्कृतिको संरक्षण र सामाजिक सद्भाव विकासमा सहयोग पु¥याउने बताए । ‘पोखरा प्रकृतिले दिएको बरदा हो’ श्रेष्ठले भने–‘प्रकृतिसँगै यहाँको कला, संस्कृति, रीतिरिवाजले पोखरालाई पोखरा बनाएको छ ।’ उनले पोखराको विकासमा आयोगबाट महत्वपूर्ण निर्णय भएको भन्दै यहाँको विकासका लागि आफू सक्दो प्रयासमा रहने प्रतिवद्धता व्यक्त गरे । “हाम्रो चाहना ःपरम्परागत मौलिक संस्कृतिको जगेर्ना” भन्ने मूल नाराका साथ नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरेली नेवारी संस्कृति, गाइजात्रा र तयामचा नाचको बारेमा प्रकाश पार्दै संस्कृतिकर्मी तथा नेवा खल कास्कीका उपाध्यक्ष तीर्थ श्रेष्ठले नेपालमा प्रचलित विभिन्न जात्रा पर्व मध्ये एउटा विशेष महत्व र परिचय वोकेको पर्व गाइजात्रा पर्व भएको बताए । यसको २ सय ६० बर्ष भन्दा पुरानो इतिहास रहेको बताए । गाईजात्रा नेपालका विभिन्न जिल्ला र शहरहरुमा मनाउने चलन रहेतापनि पोखरामा भने अलि फरकरुपले यसको विकास भएको श्रेष्ठले बताए । यस्ता पर्व र जात्राहरुले जातीय परम्परा र संस्कृति बचाईराख्ने तथा पुस्तान्तरण बढ्दै जाने बताए । नयाँ पुस्ता पनि आफ्नो परम्परा र संस्कृतिसँग जोडिइ राख्ने भएकाले यसको प्रभाव लामो समयसम्म पर्ने उनको भनाई छ । यसको प्रारम्भ काठमाडौं उपत्यकाका तात्कालिन राजा प्रताप मल्लले पुत्र वियोगमा रहेकी आप्mनी रानीको मन वहलाउनका लागि गरेको इतिहास रहेको उनले बताए । बागबजारको खुला सडकमा भएको महोत्सव तथा तयामचा प्रतियोगितामा विभिन्न नेवारी परिकारहरु, नेवारी कला संस्कृतिमा आधारिक झाँकी तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएको गाईजात्रा महोत्सव तथा तायामचा नृत्य प्रतियोगिता मूल आयोजक समिति संयोजक सुविन्द्र श्रेष्ठले जानकारी दिए । तयामचा प्रतियोगितामा १६ समूहले सहभागिता जनाएका थिए भने ३ समूहले प्रतियोगी नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा तेस्रापट्टी तयामचा नृत्य समूह पहिलो, भैरव टोल दोस्रो, मोहोरिया टोल तेस्रो र रामकृष्ण टोल तयामचा समूह सान्त्वना भएका थिए । प्रतियोगितामा पहिलो, दोस्रो तेस्रो र सान्त्वना हुनेले क्रमशः ३१ हजार १ सय र खसी, २१ हजार १ सय र खसी, ११ हजार १ सय र कुखुराको भाले प्राप्त गरेका छन् । प्रतियोगितामा हेमजा, राष्ट्र बैंकचोक, विरौटा र मालेपाटन समूहले प्रोत्साहन स्वरुप २५ सय रुपैयाँ प्राप्त गरे भने बगाले टोलका सरोज श्रेष्ठ उत्कृष्ट जोगर र रामकृष्ण टोलका कृष्णबहादुर श्रेष्ठ उत्कृष्ट नर्तक बनेका छन् । उनीहरुले १ हजार प्रोत्साहन पुरस्कार प्राप्त गरे । प्रतियोगिताको कृष्ण बहादुर श्रेष्ठ संयोजक र आनन्द श्रेष्ठ, गोपाल श्रेष्ठ, रमेश कर्माचार्य र सुवर्ण बज्राचार्य सदस्य रहेको समितिले निर्णायकको भूमिका निभाएको थियो । कार्यक्रममा सभासद शारदा पौडेलले नेपाली कला, संस्कृति र परम्पराले नेपालको विविधतालाई जोगाएको बताइन् । सोही अवशरमा उनले नेपाली मिसापुचलाई प्रोत्साहन स्वरुप ४० हजार रुपैयाँ हस्तान्तरण गरेकी छन् । नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा तायमचा नृत्य प्रतियोगिता मूल संयोजक सुविन्द्र श्रेष्ठले स्वागत र महासचिब महेन्द्र श्रेष्ठले सञ्चालन गरेका थिए ।
Post a Comment