0
गोल्डेन न्यूज संवाददाता
उपन्यासकार जीवन बरालद्वारा लिखित सामाजिक उपन्यास ‘टुहुरोको छोरो टुहुरो’को पोखरामा लोकार्पण गरिएको छ । शनिबार पोखराम आयोजित एक कार्यक्रममा नेपाल राष्ट्रबैंक पोखरा शाखाका डिपुटी म्यानेजर एवं साहित्यकार दुर्गा शाह ‘बाबा’ लोकार्पण गरे । त्यस अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बाबाले मानिसको जीवन भोगाइ र गराइबाट उत्पन्न हुने सृजना अत्यन्तै महत्वपूर्ण हुने बताए । बराल सानैदेखि सृजनशील व्यक्ति भएको आफूलाई लागेको भन्दै उनले बरालद्वारा रचित उपन्यासका केही पाटा सुधार गर्न सके उत्कृष्ट बन्ने दावी गरे । पुस्तकको समीक्षा गर्दै साहित्यकार एवं समीक्षक असफल गौतमले बरालको उपन्यासमा मार्मिक र कारुणिक विषयवस्तु पस्तुत गरिएकाले पढौं–पढौं लाग्ने खालको भएको बताए । उनले उपन्यासमा एठाएका विषयवस्तु र प्रस्तुतिले लेखक बराल पाको लेखक भएको बताए । स्रष्टा बरालको परिचय दिंदै डा. केदारराज पाण्डेले स्रष्टा बराल सानैदेखि दुःख पाएको व्यक्ति भएकाले उपन्यासका कथावस्तु समेत उहाँकै जीवनसंग मेल खाने जस्तो भएको बताए । सानैदेखि आफू बराल निकट रहेको भन्दै उनले बरालले स्कूल जीवनदेखि नै कविता, कथा लगायतका विषयवस्तु माथि कलम चलाउँदै आएको बताए । स्रष्टा बरालले आफू विदेशमा रहँदा भोगेका केही भागाइ र देखेका कुरालाई उपन्यासका रुपमा प्रस्तुत गरेको बताए । उनले पुस्तकलाई परिमार्जन गर्न सबैको माया र सहयोग पाउने विश्वास व्यक्त गरे ।गोरखा मिलन समाजद्वारा आयोजित कार्यक्रममा पोखरेली युवा साहित्य परिवारका अध्यक्ष सुरेश रानाभाटले उपन्यास पुस्तकमा केही त्रुटि भएपनि सच्याएर पुनःप्रकाशन गर्ने हो भने उत्कष्ट उपन्यास बन्ने दावी गरे । गोखरा मिलन समाजका अध्यक्ष सूर्य क्षेत्रीले बरालको कृति उपन्यासलाई अघि बढाउन आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले लेखक बराल गोरखावासी नै भएकाले पुस्तकले गोर्खालीहरुबीच भावनात्मक एकता गराउन टेवा पु¥याउने विश्वास व्यक्त गरे । कार्यक्रममा पत्रकार सन्तोष अधिकारी, हरि पन्त, गोरखा मिलन समाजका रमेश श्रेष्ठ, गण्डकी यातायात मजदूर संगठनका अध्यक्ष विष्णुबहादुर खत्री लगायतले आ–आफ्नो भनाइ राखेका थिए । बरालद्वारा लिखित उपन्यास ग्रामिण परिवेशको कथावस्तुमा आधारित छ । गोरखा गाइखुरमा जन्मिएका बराल हाल पोखरामा व्यवसाय गर्दै आइरहेका छन् । उनको उपन्यास विभिन्न प्रसङ्ग उठान गरि १६ भागमा संग्रहित छ ।

Post a Comment

 
Top