0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका वडा नं. ८, सृजनाचोकमा रहेको ३ रोपनी सरकारी जग्गा ४० बर्ष पछि पुनः सरकारकै स्वामित्वमा आएको छ । सरकारकै जग्गा भएपनि २०३२ सालमा महिला सशक्तिकरणका लागि महिला संगठन नामक गैर सरकारी संस्थाले भोगचलन गरेको र अहिले जिल्ला विकास समितिले आफ्नो स्वामित्वमा ल्याएको हो । केन्द्रले लामो समयदेखि बिना सम्झौता स्थानीय निकायलाई कर पनि नतिरि भोगचलन गर्दै आएको थियो । स्थानीय निकायमा जनप्रतिनिधि हुदाँकै बेलादेखि संस्थाले यो जग्गा भोगचलन गरेको जिविसले जनाएको छ । तर आर्थिक बर्ष २०५७र५८ देखि यो जग्गा आफ्नो स्वामित्वमा ल्याउनका लागि जिल्ला परिषदबाटै पारित गराएर जिल्ला विकास समितिले धेरै अभ्यास गरेको थियो । त्यसको ठीक १० बर्षपछि २०६८ सालमा बल्ल जिविसले आफ्नो स्वामित्वमा ल्याएर जग्गा खाली गर्न निर्देशन दियो र खाली गर्न लगायो । लामो संघर्ष र पटक–पटकको ताकेता पछि अहिले बल्ल उक्त संस्थाले जग्गा खालि गरिदियो र यसलाई जिल्ला विकास समितिले भोगचलन गर्न लागेको छ । जिविसले टेण्डर नै आह्वान गरेर ३ बर्षसम्मका लागि जग्गा ठेक्कामा समेत दिईसकेको छ । सोही सम्झौता अनुरुप ठेकेदारले उक्त जग्गामा टहरा निर्माणको काम सुरु गरेका छन् । तर स्थानीयहरुले भने यो जग्गा भाडामा नदिन जिविससँग आग्रह गरेका छन् । सार्वजनिक जग्गामा स्थानीयको सरोकार बढी हुने भएकाले उनीहरुकै हितमा प्रयोग गर्न र पार्क निर्माण गर्नका लागि उनीहरुले माग गरेका हुन् । तर जिल्ला विकास समितिले भने जग्गाको ठेक्का सम्झौता भैसकेकाले यसलाई रोक्न नमिल्ने बताएको छ । हामीले प्रक्रिया अनुसार नै टेण्डर निकालेर ठेक्का सम्झौता समेत गरिसकेका छौं, जिविस कास्कीका राजश्व शाखाका माधव तिमिल्सिनाले भने–यसलाई रोक्न सकिँदैन, सम्झौता मिति सकिएपछि विकल्प सोच्नुपर्छ । यो जग्गा मासिक १ लाख ५ हजार रुपैयाँ जिविसलाई बुझाउने गरी ३ बर्षका लागि केशरकाजी गुरुङले ठेक्कामा लिएका हुन् । यसको रकम बार्षिक १० प्रतिशतका दरले बृद्धी हुँदै जानेछ । केही समय सूचना नै जारी गरी टेण्डर आह्वान गरिएपछि ६ जनाले टेण्डर प्रश्ताव गरेका थिए । तिमध्ये गुरुङले सबैभन्दा बढी रकममा टेण्डर प्रश्ताव गरेकाले उनीसँकै ठेक्का सम्झौता गरिएको तिमिल्सिना बताउँछन् । गुरुङ बाहेक नरेश बराल, बालकृष्ण सुवेदी, पोखरा कन्स्ट्रक्सन, गुडलक मल्टी ट्रेडर्स र मेट्रोसिटी हस्पिटल प्रालिले टेण्डर प्रश्ताव गरेका थिए । अहिले पार्कको माग गर्नेहरुले पनि मौखिक रुपमा जग्गा भाडामा लिने प्रश्ताव गरेका तर जिविसले प्रकृया अनुसार ठेक्कामा दिने बताएपछि उनीहरु रुष्ट बनेका जिविस श्रोतले बतायो । यो जग्गा सृजना सहकारीलाई भाडामा दिन मौखिक प्रश्ताव गरिएको थियो, श्रोत भन्छ–तर प्रतिश्तपर्धामा आउन अनुरोध गरेपछि ठेक्का भड्काउने काम गरिएको हो । ४० बर्षसम्म एउटा संस्थाले सरकारी जग्गा हडपेर ब्यापार गर्दा नबोल्ने र अहिले जिविसले लिएपछि अनाबश्यक टिका टिप्पणी किन गर्ने ?, श्रोतले भन्यो–आँफुले भनेजस्तो भएको भए स्थानीयहरु पनि चुप लाग्थे, भनेजस्तो नभएर मात्रै आन्दोलन गरेका हुन्, पार्क नै बनाउने भए नगरक्षेत्रमा अरु पनि जग्गा छ, बिकल्प खोज्न सकिन्छ । जिल्ला विकास समिति कास्कीका निमित्त स्थानीय विकास अधिकारी किर्तनराज पौडेलले भने उक्त जग्गा संरक्षण र रेखदेख गर्ने उद्देश्यले ठेक्कामा दिएको बताए । ठेक्कामा दिनुको मुख्य उद्देश्य संरक्षण गर्नु हो, उनले भने–यसो गर्दा अलि अलि जिविसलाई पनि आम्दानी हुन्छ र जग्गाको पनि संरक्षण हुन्छ । पार्क निर्माण गर्ने भए सम्झौता अघि नै आउनुपथ्र्यो, उनी भन्छन्–सम्झौता सकिएर काम निकै अगाडी बढिसकेपछि अहिले विरोध गर्नु कुनै काईदा होईन, हलो अड्काउने काम गरे स्थानीयले । स्थानीयले भने कुनै पनि हालतमा ब्यवसाय गर्न नदिने बताएका छन् । स्थानीय सृजना टोल विकास संस्थाका अध्यक्ष बलराम बरालले यो जग्गामा पार्क निर्माण नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए । हामीले हामीले पार्क निर्माणका लागि सिडिओ र एलडिओलाई स्थानीयको हस्ताक्षर पनि बुझाएका छौं, उनले भने–अहिले भैरहेको काम तत्काल रोक्नुपर्छ र पार्क निर्माण सुरु गर्नुपर्छ । स्थानीयले आईतबार पनि ¥यालीसहित जिविसमा पुगेर ज्ञापनपत्र बुझाएका छन् ।

Post a Comment

 
Top