कास्कीको भाचोक गाउँ विकास समिति स्थित भाचोक गाउँका बासिन्दाले आफ्नै खल्तीको पैसा लगानी गरेर गाउँ सम्म जोड्ने गरी पछिल्लोपटक निर्माण गरेको बाटोले गाउँमा पर्यटनको ढोका खुल्ने विश्वास व्यक्त गरेका छन् । लम्तरी ग्रामीण सडक निर्माण तथा उपभोक्ता समिति र भाचोक पोखरा जनसरोकार मञ्चको अगुवाईमा गाउँलेले जम्मा गरेको रकममध्ये ५० लाख रुपैयाँ हाराहारीको लागतमा उक्त सडक निर्माण गरिएको मञ्चका सचिव कल्याण गुरुङले जानकारी दिए । पाँच किलोमिटर लामो उक्त कच्ची सडकले भाचोक गाउँ र सैमराङ गाउँ विकास समितिको वारचोक गाउँलाई जोड्छ । पोखराबाट ३३ किलोमिटर टाढाको भाचोक पर्यटकीय गाउँ समेत भएका कारण बाटो निर्माणसँगै गाउँ पुग्ने पर्यटकलाई समेत सहज भएको सचिव गुरुङले सुनाए । भाचोकबाट पदयात्रा गरी पवित्र तीर्थस्थल दूधपोखरी समेत पुग्न सकिन्छ । बाटो निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोषबाट छ लाख हाराहारीमा बजेट प्राप्त भएको जनाइएको छ । भाचोक गाउँ र सो गाउँबाट विवाह गरेर अन्यत्र गएका चेलीबेटीबाट पाँच लाख २३ हजार रुपैयाँ प्रदान गरिएको छ ।
यसैगरी भाचोक बहुउद्देश्यीय अक्षयकोषबाट दुई लाख ५० हजार रुपैयाँ र क्याप्टेन मेजर दूधप्रसाद गुरुङबाट दुई लाख दुई हजार रुपैयाँ प्राप्त भएको मञ्चका कोषाध्यक्ष वीरजंग गुरुङले जानकारी दिए । वारचोकका ग्राण्ड मास्टर तुलसीकुमार गुरुङले दुई लाख प्रदान गरेका छन् । अक्षय कोष निर्माणका लागि लम्तरी संरक्षण तथा विकास समितिलाई बाटो बनाउन उठेको रकमबाट डेढ लाख प्रदान गरिएको छ । बाटो निर्माणका लागि उपभोक्ता समितिका अध्यक्ष क्याप्टेन मानवहादुर गुरुङ र मञ्चका अध्यक्ष आशपुर गुरुङले ठूलो भूमिका खेलेका थिए । नयाँ बाटो बनेपछि यसअघि संचालन भएको बाटोभन्दा करिब पाँच किलोमिटर यात्रा छोटिएको मञ्चका सचिव कल्याण गुरुङले बतए । पोखराबाट गाउँ सम्म एउटा वस आउने र एउटा जाने गरी यातायात संचालन गरिएकोमा हाल बर्खाका कारण यातायात अवरुद्ध हुन पुगेको छ । पोखराबाट मादी नदीको किनार घुम्ले बजारसम्म मात्रा मोटर जाने गरेको छ । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने कास्कीको लेखनाथ स्थित विजयपुर वा कालिकाचोकबाट कालिका, सौर्य, हुँदै भाचोक सम्म यसअघि नै बाटो पुगे पनि सो मार्ग अन्तर्गत पर्ने घुम्ले बजार र थुम्सिकोट छुट्याउने मादी नदीमा पुल नहुँदा भाचोकसम्म हरेक मौसममा पोखराबाट सहज र सिधा मोटर पुग्न सकेको थिएन ।
तर घुम्ले बजार भन्दा केही माथि भगवतीमा मादी नदी माथि पुल बनेपछि सौर्यबाट तल झरेको सवारी साधन घुम्ले बजार नगई भगवती थुम्सिकोट हुँदै भाचोक सम्म जाने वातावरण बने पनि यो मार्ग घुमाउरो हुन पुगेको थियो । हाल भने भगवतीको पुल तरेको सवारी थुम्सिकोट नगई वारचोक उक्लेर भाचोक जान थालेको हो । कास्कीको पूर्वोत्तर गाउँ भाचोकमा ७५ भन्दा बढी घरमा मानिसहरु बसोबास गर्छन् । यो गाउँ गुरुङ जातिको बाहुल्य रहेको गाउँ हो । गाउँमा विद्युत र पानीको व्यवस्था पनि गरिएको छ । पछिल्लो क्रममा गाउँमा होमस्टेको समेत व्यवस्था गरिएको लम्तरी क्लवकी उपाध्यक्ष पवित्रा गुरुङले जानकारी दिइन् । भाचोकमा ११ घरमा होमस्टेको सुविधा उपलब्ध छ । समुन्द्र सतहबाट दुई हजार दुई सय मिटरको उचाईमा रहेको यो गाउँ गुरुङ संस्कृति र पुराना घरका हिसावले आकर्षक रहेको मंचका उपाध्यक्ष भीमवहादुर गुरुङले बताए । लम्तरी डाँडा, रानी पोखरी, मन्दिरहरु, लालीगुराँस, मनाश्लु हिमालको दृष्य लगायत पनि यो गाउँका आकर्षण हुन् । ताङतिङ, सिक्लेस, याङ्जाकोट हुँदै कहिलेकाँही विदेशी पर्यटक यहाँ रात बिताउन पनि आउने गरेका छन् । भाचोक गाउँ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले समेटेको क्षेत्र भित्र पर्छ ।
Post a Comment