पोखरामा दोश्रो नेप्लिज इन्काउण्टर पोखरा ओपन टेनिस प्रतियोगिता बुधबारदेखि शुरु भएको छ । विश्व पर्यटन दिवसको अवसर पारि आयोजित प्रतियोगिताको उद्घाटन खेलमा शान्ता श्रेष्ठले सक्षम विजुक्छेलाई ६–१,६–१ को सहज सेटमा पराजित गरे । यसैगरि प्रतिस्प्रर्धात्मक खेलमा सुरेश श्रेष्ठले हर्क गुरुङ्गलाई ६–१,५–७ र सुपरटाईमा १०–६ ले पराजित गरे । अर्को खेलमा नविन चालिसेले विष्णु गुरुङ्गलाई ६–०,६–१ ले, मिकाश गुरुङ्गले प्रेम सुवेदीलाई ६–४,६–० ले, चन्द्र लामाले राजकुमार घिमिरेलाई ६–४,६–० ले, इन्द्र गुरुङ्गले सुजित थापालाई ६–३,७–५ ले पराजित गरे । हरि सिग्देलले मनोज विजुक्छेलाई संघर्षपूर्ण खेलमा २–६, ६–४ र सुपरटाईमा १०–४ ले पराजित गर्दै अघि बढे ।
यसअघि नेपाल टेनिस संघका केन्द्रिय उपाध्यक्ष विनोद कायस्थले एक समारोहका बीच प्राविधिक संयोजक निरज थापालाई बल हस्तान्तण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिता उद्घाटन गर्दै उनले पोखरेलीहरुको टेनिस खेलमा निखारता आएको बताउँदै आउँदो पुष महिनामा यहाँ सञ्चालन हुने राष्ट्रिय टेनिस प्रतियोगिताको तयारीमा जुट्न आग्रह गरे । कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषद्का पूर्वाध्यक्ष सूर्य भुजेलले यस्तो प्रतियोगिताहरु लाई संघले वार्षिक क्यालेण्डरमा राखेर सहयोग गर्नुपर्ने उल्लेख गरे । प्रतियोगिताका मुख्य आयोजक एवं संयोजक नारायण पहारीले सबैको हौसलामा प्रतियोगिता आयोजना गरेको बताए । साथै सबैको साथ र सहयोग रहे आउँदा वर्षहरुमा पनि प्रतियोगितालाई निरन्तरता दिने बताए । खेलाडीको खेल कौशल र भाइचारा सम्बन्ध विकासका लागि गतवर्ष देखि यो प्रतियोगिता शुरु गरेको पहारीको भनाई थियो । गुरुङ्ग भिलेज टेनिस कोर्टका प्रवन्धक पदम गुरुङ्गको सभापतित्वमा भएको उद्घाटन समारोहमा टेनिस खेलाडी विष्णु गुरुङ्गले स्वागत तथा नविन चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए । पाँचदिन सम्म चल्ने प्रतियोगितामा पोखराका २७ खेलाडीले भाग लिएका छन् । प्रतियोगिताको विजेता तथा उप–विजेताले नगद सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् भने इमर्जिङ्ग प्लेयर र उत्कृष्ट खेलाडीलाई पनि छुट्टाछुट्ट पुरस्कार प्रदान गरिने बताइएको छ ।
Post a Comment