गोल्डेन न्यूज संवाददाता
aसंविधानसभाले नयाँ संविधान पारित गरेपछि देशव्यापी खुशी सृजना भएको छ । यसैक्रममा पोखरा उद्योग वाणिज्य संघले नयाँ संविधानसभाबाट नयाँ संविधान पारित भएकोमा खुसी व्यक्त गर्दै संविधानको स्वागतको लागि तत्पर भएको जनाएको छ । संघका कार्यबाहक अध्यक्ष प्रकाशदेव पालिखेद्वारा बिहीबार जारी विज्ञप्तिमा नयाँ संविधानले जारी संक्रमणकालको अन्त्य गर्दै शान्ति, सम्वृद्धि र विकासको मार्ग अवलम्वन गर्ने विश्वास समेत व्यक्त गरिएको छ । विज्ञप्तिमा नयाँ संविधान निजी क्षेत्रको अन्तरमनको चाहना भएको उल्लेख गर्दै नयाँ संविधानमा निजी क्षेत्रका भावनाहरुको यथोचित सम्वोधन भएकोमा समेत खुसी व्यक्त गरिएको छ । ‘राजनीतिक स्थिरताले सम्वृद्धिको बाटो समाउँछ भन्ने विश्व उदाहरणले पुष्टि गरेको परिपेक्ष्यमा नयाँ संविधान निर्माणसँगै आर्थिक सम्वृद्धिका लागि सम्पूर्ण नेपालीहरु एकढिक्का हुनुपर्ने बेला आएको हामीले महसूस गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ–‘देशमा दोहोरो अङ्कको आर्थिक वृद्धि, सन् २०२२ सम्म विकासशील राष्ट्रको लक्ष्य पूर्तिको लागि संविधान जारी भए सँगै सिँगो राष्ट्र नै दृढ संकल्पित हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।’ साथै विज्ञप्तिमा आन्दोलन र हड्तालले देश नै प्रताडित भएको सन्दर्भमा संघ आफ्ना मागहरु पूरा गराउने सन्दर्भमा बन्द र हड्तालको विकल्प खोज्न तथा वार्ता र संवादको माध्यमबाट नै समस्याको निकास निकाल्न सम्वद्ध पक्षसँग अनुरोध गरिएको छ । संघले नयाँ संविधान निर्माणको यो उपलब्धि हाँसिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सार्वभौम संविधान सभाका सदस्यहरु, नेपाल सरकार, प्रमुख राजनीतिक दलहरु तथा सम्पूर्ण नेपाली जनताप्रति धन्यवाद ज्ञापन समेत गरेको छ ।
यसैगरी पश्मिाञ्चल क्षेत्रीय पर्यटन पर्वद्धन समितिद्वारा नयाँ संविधान संसदबाट जारी भएकोमा एक विज्ञप्ति मार्फत स्वागत एवं खुसी व्यक्त गरेको छ । समितिमा अध्यक्ष गोविन्द पहारीद्वारा हस्ताक्षरीत विज्ञप्तिमा लामो समयसम्म अन्योलग्रस्त संविधान सभाले संविधान दिने भएपछि जनतामाझ खुसी छाएको र देश संकटग्रस्त घडीमार्फत विस्तारै मुुक्त हुने पनि बताएका छन् । विज्ञप्तिमा यस संकटग्रस्त घडीबाट मुक्त गराउन सफल सम्पूर्ण शीर्ष नेताहरुप्रति आभार व्यक्त गरिएको छ । साथै हस्ताक्षरित विज्ञप्तिमा नेपालमा रहेका सबै ३ करोड जनता सबैको माग पुरा नहुने भएकाले सबैले आ–आफ्नो ठाउँमा सन्तुष्ट रहनुपर्ने बताएका थिए । यसपश्चात देशमा आर्थिक सामाजिक रुपान्तरण गर्दै समृद्ध नेपाल बनाउने अभियानमा हामी सबै जुट्नुपर्ने बताएका छन् । साथै विकासको सम्भावना बोकेको पर्यटन क्षेत्रमा पनि व्यापक सुधार गर्दै नवनिर्माणको अभियानमा जुट्न समेत आह्वान गरेको पश्चिमाञ्चल क्षेत्रीय पर्यटन पर्वद्धन समितिका सदस्य घनश्याम सुवेदीले बताए ।
यसैगरी दशकौं लामो अथक प्रयास पछि जनताका प्रतिनिधिबाट संविधानसभाबाट संविधान बनाउने सपना सकार भएको भन्दै पश्चिमाञ्चल होटल संघ पोखराले स्वागत गर्दै खुसी प्रकट गरेको छ । नयाँ संविधानको निर्माणसँगै पर्यटन क्षेत्रमा समेत उत्साह थपिएको संघका अध्यक्ष भरतराज पराजुलीले बिहीबार विज्ञप्ति जारी गरी जनाएका छन् । जनताले आफ्नो संविधान आफैं बनाउने सपना अन्ततः पूरा भएको छ, अध्यक्ष पराजुलीले भनेका छन्, यसले देशलाई विकासको मार्गमा अग्रसर गराउन र अर्थतन्त्रलाई सही दिशामा लैजान मद्दत पुग्ने विश्वास लिएका छौं । भूकम्पले थिलोथिलो पारेको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउँदै अझ अगाडि बढ्न सहयोग पुग्ने विश्वास समेत नयाँ संविधान निर्माणले प्रदान गरेको अध्यक्ष पराजुलीले बताएका छन् । संविधान बनेको खुसियालीमा संघले आफ्ना सम्पूर्ण होटल सदस्यहरुलाई यही भदौ ३ गते साँझ दीपावली गर्न र भदौ ४ गते आयोजना हुने विजय उत्सवमा सहभागी हुन समेत अनुरोध गरेको छ ।
यसैगरी असोज ३ गते जारी हुन लागेको नेपालको संविधान २०७२ लाई स्वागत गर्न अनेरास्ववियु त्रि.वि. जिल्ला कमिटी कास्कीले भव्य रुपमा दीप प्रज्वलन सहित स्वागतसभा पृथ्वीनारायण क्याम्पसको गेट पोखरामा सम्पन्न ग¥योछ । कार्यक्रमको शुभारम्भ अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य कमरेड सरिता पुरी र नेकपा एमाले जिल्ला कमिटी सदस्य अर्जुन सुनामले संयुक्त रुपमा मैनबत्ती बालेर गरेका थिए । कार्यक्रमको संचालन कमिटीका अध्यक्ष विवेक देवकोटाले गरेका थिए भने शुभकामना मन्तव्य सहित नेकपा एमाले जिल्ला कमिटी कास्कीका सचिव कमरेड दामोदर बैरागीले कार्यक्रमको समापन गरेका थिए ।
Post a Comment