0
गोल्डेन न्यूज संवाददाता
नेपाली महिलाको महान चाड हरितालिका तीजलाई महिला अधिकार, स्वतन्त्रता सँगै महिला सशक्तिकरणका पर्वको रुपमा स्थापित गर्नुपर्ने पोखरामा आयोजित एक अन्तक्रिया कार्यक्रमका सहभागिले बताएका छन् । संचारिका समूह पश्चिमाञ्चलले आयोजना गरेको तीज र महिला स्वतन्त्रता विषयक अन्तरक्रिया एवम् शुभकामना आदान प्रदान कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । सो अवसरमा पत्रकार सावित्री शर्माले तीज र महिला स्वतन्त्रताको विषयमा कार्यपत्र प्रस्तुत गर्दै तीज पर्वको शुरुवात, वर्तमान अवस्था, महिला अधिकार र स्वतन्त्रताको विषय माथि प्रष्ट पारेका थिए । तीजलाई धार्मिक, सामाजिक, वा सांस्कृतिक जुनसुकै व्याख्यामार्फत स्थापित गरे पनि तीज स्वतन्त्रताको प्रतिक भएको उल्लेख गरे । कार्यक्रममा पोखरा उपमहानगरपालिका निमित्त कार्यकारी प्रमुख तथा इन्जिनियर शारदा मोहन काप्mलेले तीज महिलाको अधिकार र स्वतन्त्रतासँग जोडिएको चाड भएको बताए । यसको सांस्कृतिक पक्षका सकारात्मक कुरालाई आत्मसात गर्दै विकृति र विसंति मुक्त राखेर अगाडि बढ्नु पर्नेमा उनले जोड दिए । त्यसैगरी संचारिका समुह पश्चिमाञ्चलका संस्थापक तथा सल्लाहकार दुर्गा भण्डारीले तीज खाने लाउने र नाच्ने गाउने मात्र नभइ महिला सशक्तिकरणसँगै जोडेर अगाडि बढ्न सुझाव दिइन । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले तीजका पर्वको सांस्कृतिक र धार्मिक महत्वलाई पछ्याउँदै विकृति रहित बनाउनु पर्ने बताए । पोखरा उपमहानगरपालिका सामाजिक शाखा प्रमुख दुर्गा न्यौपाने, वरिष्ठ पत्रकार नारायण कार्की, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष वद«ी विनोद प्रतिक,  नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शुष्मा पौडेल, प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष शान्ति गुरुङ्ग, अधिवक्ता तथा संबिधान सूचना केन्द्र क्षेत्रीय संयोजक जुना गुरुङ्ग, संचार उद्यमी मिना गुरुङ्ग, रेडियो जननीकी अध्यक्ष हिरा भट्टाराई, नागरिक समाज पोखराका सयोजक राम बहादुर पौडेल लगायतले दोहोरो तेहेरो जिम्मेवारीको कार्यबोझ लिन बाध्य महिलाका लागि तीज एक मात्र स्वतन्त्रता पीडा बिसाउने चाड भएको बताएका थिए । संचारिका समूह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माको अध्यक्षतामा सम्पन कार्यक्रममा मानव बेचबिखन ओसार–पोसार नियन्त्रणका लागि लागि उल्लेखनीय भूमिका खेलेकोमा सम्मान प्राप्त प्रहरी निरीक्षक चन्द्रा गुरुङ्ग र शान्तिका लागि नागरिक समाजको सञ्जालको अध्यक्षमा निर्वाचित सरला पाण्डेलाई सम्मान एवं बधाई ज्ञापन गरिएको थियो ।

Post a Comment

 
Top