0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेस कास्कीका नेता रामजी पौडेल ‘वादल’ को हत्यामा संलग्न ४ र उनीहरुलाई भगाउन सघाउने पाँच जना पुर्पक्षका लागि थुनामा गएका छन् । कास्की जिल्ला अदालतले सोमबार हत्यामा प्रत्यक्ष संलग्न र सघाउने पाँच गरी ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । गत साउन २८ गते राति लेखनाथ १२ गगनगौंडामा भएको हत्याकाण्डमा संलग्न मध्ये लेखनाथ १६ घर भई लेखनाथ १२ बस्ने ३० बर्षिय राजु रानाभाट, लेखनाथ १३ का ३० बर्षिय प्रकाश गुरुङ , लेखनाथ १३ सुकुम्वासी टोल बस्ने २० बर्षिय बले गुरुङ भन्ने अशोक गुरुङ र लेखनाथ १२ का २५ बर्षीय विश्वास गौतमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो । जिल्ला न्यायाधिश नरिश्वर भण्डारीको ईजलासले उनीहरुलाई भगाउन सहयोग गरेको अभियोगमा तनहँु शुक्लागण्डकी ३ दुलेगौंडाका ३५ बर्षीय चन्द्रबहादुर थापा मगर, नवलपरासी सोमनाथ नगरपालिका १ सुनवलका २५ बर्षीय भरत पौडेल, नवलपरासी पिठ्यौली २ घर भई गैडाकोट २ बस्ने ३४ बर्षीय मिन बहादुर घले, स्याङजा विचारी चौतारा ७ घर भई हाल नवलपरासी गैडाकोट २ पुलचोक बस्ने २३ बर्षीय रवि क्षेत्री र कपिलवस्तु घर भई हाल रुपन्देही सिद्धार्थ नगर नगरपालिका १ बेलहिया बस्ने ३४ बर्षीय विरेन्द्र कुमार रानामगरलाई पनि थुनामा राख्ने आदेश जारी गरेको छ । उनीहरुलाई पछि ठहरे बमोजिम सजाय हुने गरी पुर्पक्षको लागि थुनामा राख्ने आदेश भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार दिनबन्दु बरालले जानकारी दिए । पीडितको तर्फबाट सरकारी वकिल योगनाथ ढकालको साथै कमल प्रसाद अर्याल, गोविन्द पौडेल, निर्मला सुवेदीले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट अधिवक्ता कृष्ण बहादुर थापा, मुकुन्द अर्याल, ईन्द्र प्रसाद वराल, दुर्गेषराज पन्त लगायतले बहस गरेका थिए ।
 
हत्यामा प्रत्यक्ष संलग्न भनिएका लेखनाथ १२ का २४ बर्षीय रविन केसी अझै फरार छन् । हत्या अरोपमा पक्राउ परेका कांग्रेस लेखनाथका नगर सभापति राजेन्द्रमणि लामिछानेले २६ दिन हिरासतमा बसेपछि जिल्ला सरकारी वकिललको कार्यालयबाट सफाई पाएका थिए ।


Post a Comment

 
Top