लामो गतिरोधलाई अन्त्य गर्दै संविधान निर्माणमा राजनीतिक दलहरु जुटिरहेका बेला सत्तारुढ नेपाली कांग्रेस भने महाधिवेशन गर्ने कि संविधान निर्माण प्रक्रियामा जुट्ने विषयमा अलमल परेको छ । संविधानको विषयलाई लिएर चारतिर फर्किएका दलहरु एकजुट भईरहेका बेला कांग्रेस पार्टीको महाधिवेशन गर्ने कि संविधान निर्माणमा जुट्ने विषयमा दोधारमा रहनु राम्रो कुरा होइन । कांग्रेस पार्टीको १३ औं महाधिवेशनमा जुट्ने हो भने संविधान निर्माण गर्न बनेको माहौल बिग्रने खतरा बढ्ने छ । जनताले कहिले संविधान जारी होला भनी पर्खिरहेका बेला सत्ताको प्रमुखघटक कांग्रेस महाधिवेशन गर्न होइन संविधान निर्माण प्रक्रियामा जुट्न जरुरी छ । संविधान निर्माणको प्रक्रिया लम्बिदै जादाँ सत्तारुढ नेपाली कांग्रेस दोहोरो चेपुवामा परेको छ । महाधिवेशनको तिथि मिति र संविधान निर्माण प्रक्रिया एउटै समयमा जुधेपछि आफूलाई संविधान निर्माण प्रक्रियामा सक्रिय हुने कि पार्टीको वैधानिकतामाथि उठ्नसक्ने प्रश्न संविधान निर्माणभन्दा ठूलो कुरा होइन । कांग्रेसले तय गरेको महाधिवेशन र भातृ संगठनका महाधिवेशन वर्षाैदेखि हुन नसकेका पनि थुप्रै उदाहरण छन् । महाधिवेशनलाई लिएर कांग्रेसले सत्ता लम्ब्याउने बहाना बनाएको सत्ता साझेदारले आरोप समेत लगाउँदै आएका छन् । सत्ता साझेदारको आरोपलाई मिथ्या तुल्याउनका लागि भएपनि कांग्रेसले संविधान निर्माणको विषयलाई प्राथमिकतामा राख्न राख्नु पर्छ । भदौ मसान्तभित्र संविधान जारी हुन सकेन भने संबैधानिक र कानूनी समस्या उत्पन्न हुने निश्चित छ । त्यसैले कांग्रेस संविधान निर्माणमा जुटी अधिवेशन सार्न केन्द्रीय समितिको बैठक डाक्नु पर्छ । संविधान निर्माण प्रक्रियालाई असफल पार्नको लागि देशभर आन्दोलन चर्किरहेका बेला पार्टी विचलित नभई संविधानको विवादित विषयमा सहमति जुटाउन अग्रसर हुनुपर्छ । देशमा जति संक्रमणकाल लम्बिदै जान्छ त्यति नै देशको विकास अवरुद्व हुनुका साथै नागरिक असुरक्षित हुन्छन् । त्यसैले जारी संक्रमणकाललाई छोट्याउनका लागि दलहरुले तोकेकै समयमा जनतालाई संविधान दिनुपर्छ । संविधान निर्माण प्रक्रिया लम्बिएकै कारण अहिले तराई अशान्त बनिरहेको छ । थारुहरुले छुट्टै संघ माग्दै मधेशमा आगो सल्काएका छन् । त्यसको शिकार देशको शान्ति सुरक्षा गर्ने प्रहरी अधिकृत र प्रहरीहरु बनेका छन् । जातिय दंगा भड्काएर देशलाई अशान्त पार्नका लागि यि सबै प्रपञ्चहरु रचिएका छन् । यसमा दक्षिणको पनि भूमिका रहेको स्वयं थारुका अगुवा नेताहरुले स्वीकारदै आएका छन् । धमिलो पानीमा माछा मार्न पल्केकाहरुले देशलाई ठप्प पार्न खोजिरहेका छन् । अतिवादीहरुले मिलेर बसेका विभिन्न जातजाति र विभिन्न धर्ममा आस्था राखेकाहरुलाई विभाजन गरेर राज्य शक्तिको केन्द्रमा रहिरहने प्रपञ्च रचिरहेका छन् । यस्ता अतिवादीका गतिविधिलाई निष्तेज पार्दै देशलाई समृद्वितर्फ लैजानका लागि छिटोभन्दा छिटो संविधान जारी गर्ने विषयमा पहिलो शक्ति कांग्रेस तत्पर हुन जरुरी छ । दोस्रो शक्ति नेकपा एमाले अहिले संविधान निर्माणमा पुरै केन्द्रित भएको छभने अन्य दलहरु पनि संविधान निर्माणमा क्रियाशिल बनेका छन् । दलीय एकजुटले संविधान जारी गर्ने वातावरण बनिरहेका बेला कांग्रेस पार्टी अधिवेशनमा होइन संविधान निर्माण प्रक्रियामा जुट्नु पर्छ । यो नै वर्तमान समयको प्रमुख आवश्यकता हो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment