गोल्डेन न्यूज संवाददाता
पर्वतको तल्लो मोदीखोला हाईड्रोपावर कम्पनीमा कार्यरत मजदुरहरुलाई सेवासुविधा नदिई चरम श्रमशोषण गर्दै आएको खुलासा भएको छ । प्रशासनिक काम रोकिएको छ । कम्पनीले खासगरी तल्लो ओहोदामा कार्यरत कर्मचारीहरुलाई थोरै रकम दिई काममा खटाउदै आएको आरोप खेपेको छ । मजदुरहरुसँग दुई वर्ष पहिले करारमा सम्झौता गरी २०७२ साउन १ बाट सेवासुविधा वृद्धि गर्ने मौखिक सहमति भए पनि कुनै सुनुवाई नभएको मजदुरहरुको दावी छ । आफ्नो मागको सुनुवाई नभएपछि मजदुरहरु केही दिनदेखि धर्ना र आन्दोलनमा छन् । हाईड्रो पावरको सुरुङ खन्ने काम अवरुद्ध छ भने उच्च ओहोदाका कर्मचारीलाई खाना खुवाईने किचेन बन्द छ । हाईड्रोपावर कम्पनीले भने मागलाई वेवास्ता गर्दा मजदुरले श्रम र पसीनाको मूल्य पाउन सकेको छैनन् । हाईड्रोपावरको ठेकेदार कम्पनी साउथ एशियान इन्फ्राटक्चर र मनाङ टे«डकम्पनी दुवैले मजदुरहरुलाई न्यून रकममा खटाउदै आएका छन् । ठेकेदारले न्यून ज्यालामा काम गराउने मजदुरको संख्या करिव दुई सयको संख्यामा छ भने मनाङ ट्रेड लिङ्कमा दर्जन बरावर छन् । मजदुरको तलव न्यूनतम ५ हजार ४०० देखि ११ हजार रुपैयाँसम्म रहेको छ । सेक्युरिटी गार्डको बेसिक तलव ५ हजार ४०० रुपैयाँ भएको मजदुर प्रेम बहादुर क्षेत्रीको भनाई छ । यो न्यून तलव दुई वर्षभन्दा पहिले निर्धारण गरेको सेक्युरिटी गार्ड प्रेम बहादुर क्षेत्री बताउँछन् । उनका अनुसार सेवासुविधाको नाममा केही दिईएको छैन । कम्पनीमा सेक्युरिटी ईन्चार्ज भई काम गर्दै आएका हरिनारायण गिरीले आफू ड्युटीमै छदा रातीको समयमा बेहोस् भई लडेको र उपचारको क्रममा दुई लाख खर्च गरेको तर कम्पनीले कुनै आर्थिक सहयोग नगरेको भनि दुःखेसो पोखे । कम्पनीमा एक वर्षदेखिको तलव समेत नपाएको गुनासो गर्ने कर्मचारीको समेत कमि नभएको समाचार पाटीमा खबर छ । कम्प्यूटर अपरेटरको रुपमा कार्यरत निरु पोख्रेलले एक वर्षदेखिको तलव नपाएको गुनासो पोख्छिन् । कर्मचारीहरुको तलव कम्पनीका सुरक्षा गार्ड ईन्चार्ज, गार्ड, प्लम्वर, भान्से, किचेन हेल्पर, कम्प्यूटर अपरेटर, अफिस गर्ल, ड्राईभर, लगायतका कर्मचारी सेवासुविधा थप गर्नुपर्ने भन्दै धर्ना बसेका छन् । मंगलवार मजदुरहरु, सरोकार समितिका सदस्य, कम्पनीका प्रतिनिधि सुरेन्द्र बेलवासे र डिमुवा प्रहरी चौकीका प्रहरी ईन्चार्ज बीच सेवा सुविधाको विषयमा वार्ता भएको थियो । उनीहरुबीच धेरैवेरसम्म वार्ता भएपनि सहमति नभएको मजदुरहरु बताउँछन् । विगत ४ वर्षदेखि हाईड्रोपावर कर्मचारीहरुले आफ्नो तलव र सेवा सुविधा वृद्धिको माग गर्दै पटक–पटक निवेदन दिदै आए पनि कम्पनीले कुनै सुनुवाई नगरेको कर्मचारीहरुको गुनासो छ । विगत चार वर्षदेखि मनाङ ट्रेड लिङ्क कम्पनीको हाईड्रोमा काम गर्दै गरेका एक दर्जन कर्मचारीहरु धर्नामा बसेका छन् ।
मुलुकका धनाढ्य वर्गमा पर्ने ज्ञानेन्द्रलाल प्रधान, पशुपति मुरारका, कुमुद दुगड लगायतको ३ अर्व ६० करोड शुरुवाती लगानीमा हाईड्रोपावरको योजना अगाडि बढेको हो । अर्वौंको लगानीमा शुरु गरिन लागेका हाईड्रो कम्पनीमा सामान्य काम गरिखाने मजदुरको तलव भने न्यून छ । कम्पनीले दिएको न्यून तलवबाट सामान्य घरखर्च धान्न नसकेपछि मजदुरहरु आन्दोलनमा उत्रेका हुन् । यतिखेर कम्पनीको क्वार्टरमा भात पकाउन मजदुरले छाडेपछि कम्पनीको उपल्लो ओहोदाका हाकिमहरु होटलमा खाना खान बाध्य भएका छन् । चारवर्षभित्र सम्पन्न भईसक्नुपर्ने बताईएको २० मेघावाट क्षमताको तल्लोमोदी खोला हाईड्रोपावर कम्पनी पटक–पटक विवादमा मुछिदै आएको छ । हाईड्रोपावरले आयोजना ०६८ मा शुरु गरेको हो । यसअघि कम्पनीको सरोकारवाला समितिसँग मुआव्जाको सम्वन्धमा विवाद रहेको थियो । हाईड्रोपावरको ५५ प्रतिशत काम पुरा भएको बताइन्छ ।
Post a Comment