0
गोल्डेन न्यूज संवाददाता
कास्कीको चापाकोट भदौरे तामागी र कास्कीकोट गा.वि.स.को बीचमा पर्ने माझथुम स्थित सिद्धबराह तपोवन सन्यास आश्रमको सर्वाङ्गिण विकासको लागि आयोजना गरिएको श्री सिद्ध वराह धनधान्याञ्चल धार्मिक महामहोत्सव तथा श्री मद्देवी भागवत नवाह ज्ञान महायज्ञ २०७१मा ६४ लाख ९० हजार ३ सय २६ रुपैयाँ आम्दानी भएको छ । महायज्ञमा विभिन्न व्यक्ति र संस्थाबाट दान स्वरुप प्राप्त भएको र कलश विक्रीबाट प्राप्त भएको रकम लाई आम्दानीमा उल्लेख गरिए पनि महायज्ञमा दान स्वरुप प्राप्त भएको ९ आना जग्गाको भने मूल्याङ्कन गरिएको छैन । स्थानीय चूडामणि पराजुली देवीलाल भण्डारी दुर्गा प्रसाद दाहालले क्रमश दुई आना, पाँच आना र दुई आना जग्गा दान गरेका थिए । महायज्ञमा बोलेको रकम मध्ये १२ लाख ४१ हजार ११८ रुपैयाँ उठ्न बाँकी रहेको छ ।  महायज्ञ सकिएको पाँच महिना पछि भदौ १५ गते मंगलबार माझथुममा आयोजित बृहत भेलामा दिएको जानकारी अनुसार महायज्ञमा संकलित रकम मध्ये २६ लाख ७ हजार ४८६ रुपैयाँ विभिन्न शिर्षकमा खर्च भएको छ । महायज्ञका कोषाध्यक्ष भरत राज भण्डारीले भेलामा महायज्ञको आयव्यय विवरण प्रस्तुत गरेका थिए । महायज्ञका अध्यक्ष एवम् तपोवन सन्यास आश्रमका परमाध्यक्ष श्रोत्रीय व्रम्हनिष्ट स्वामी श्री निःशेषानन्दजी महाराजले सकारात्मक सोचका साथ सबै एकजुट भएमा महायज्ञको लक्ष्य प्राप्त हुने बताए । महायज्ञबाट संकलित रकमबाट आश्रमको सर्वाङ्गिण विकास, मन्दिर र बहुउद्देश्य भवनको निमार्ण साथै गुरुकुल विद्याश्रमको विकास र विस्तारमा खर्च गरिने जानकारी समेत उनले दिए । भेलाका प्रमुख अतिथि विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक सदस्य जवाहर लाल श्रेष्ठले स्वामि निःशेषानन्दका कारण विन्ध्यवासिनी मन्दिरको विकास तीव्र गतिमा भएको बताउदै अब सिद्धवराह क्षेत्रको विकासले पनि गति लिने विश्वास व्यतm गरे । उनले स्वामीजीको निर्देशन अनुसार काम गर्न र साना–तिना कुरामा नअल्मलिन सबैलाई आग्रह गरे । कार्यक्रममा आश्रमका उपाध्यक्ष कलाधर भण्डारीले स्वामीजीको निर्देशन अनुसार यस क्षेत्रको विकासमा सक्रिय रहने बताए । यसै गरि महासचिव गोपाल प्रसाद भण्डारी, आश्रमका पूर्व अध्यक्ष ऋषिराम पराजुली, पूर्व अध्यक्ष गौमती थापा, पूर्व सचिव कृष्णप्रसाद दाहाल अतिथि सत्कार संयोजक प्रेमराज भण्डारी, भागवत परिकर नारायण प्रसाद, प्रहरी हवल्दार नारायण क्षेत्री, महायज्ञका सचिव भुवानी प्रसाद अधिकारी,आश्रम व्यवस्थापनका सचिव तारानाथ पराजुली, परिवर्तनशील आमा समूहका अध्यक्ष मनदेवी गुरुङ्ग, खाद्यन्न संयोजक टंक सुवेदी, भोजन संयोजक कृष्ण सुवेदी, सिद्धवराह आमा समूहका अध्यक्ष कृष्ण कुमारी सुवेदी, समितिका कोषाध्यक्ष टंक प्रसाद पराजुली, भवन निर्माण समिति सदस्य टिकाराम अधिकारी, देवीलाल भण्डारी, दिपकराज पराजुली , भरतराज कुँवर लगायतले आ–आफ्नो भनाई राखेको प्रचार प्रसार संयोजक केशव प्रसाद सुवेदीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।

Post a Comment

 
Top