गत वर्ष सम्पन्न संविधानसभाको निर्वाचनका लागि प्रमुख राजनीतिक दलले प्रकाशित गरेको घोषणापत्रमा बन्द सधैंका लागि बन्द गर्ने भनेर लेखेका थिए । उनीहरुले बन्द र हड्तालले देशको अर्थतन्त्र धरासायी भएको, बालबालिकाले पढ्न नपाएको र गरिखाने जनताको बिजोग भएको भन्दै उनीहरुले घोषणपत्रमै बन्द सदाका लागि बन्द गरेका हुन् । तर त्यसको एक बर्ष नपुग्दै लगातार दुइसाता लामो बन्द गर्न राजनीतिक दलहरु तयार भएका छन् । उनीहरुले आफ्नो घोषणापत्रमा के लेखिएको थियो भन्ने पढ्ने हेक्का समेत भएन । किनकी आफ्नो माग पुरा गर्न बन्द हड्ताल गर्न सधै तयार रहने र अर्काले केही गरेको भएमात्र बन्द नगर्ने भनेर आदर्श वाक्य बोल्न उनीहरुलाई कसैले पनि सक्दैन । अखण्ड जिल्ला माग्न, छुट्टै राज्य माग गर्न र स्वायत्त प्रदेशको माग गर्नका लागि उनीहरुले पटक–पटक बन्द गरेर नेपाली जनताको स्वतन्त्र पूर्वक बाँच्न पाउने अधिकार, स्वतन्त्र पूर्वक व्यापार व्यवसाय गर्न पाउने अधिकारलाइ हनन् गरेका छन् । सरकारले निर्णय गरिसकेको विद्यालय शान्ति क्षेत्र अभियान र जारी भैसकेको शान्तिक्षेत्र कार्यान्वयन निर्देशिकालाई पनि लत्याएका छन् । निर्णयमा हस्ताक्षर गरेका शीर्ष नेता र उनीहरुका कार्यकर्ताले नै विभिन्न स्थानमा तोडफोड र सवारी साधन जलाएका छन् । उल्टै बन्द सदाका लागि बन्द गरौं भन्ने केही युवालाई उनीहरुले अपमान गरे । कुटपिट गर्ने वा तार्गेटमा राख्ने गरी राजनीतिक दलका कार्यकर्ताले तनाव सिर्जना गरेका छन् । आफ्नै हस्ताक्षरको अबमूल्यन गर्ने, जनताको जीवन माथि खेलवाड गर्ने हो भने किन बोल्ने ? राजनीतिक दलहरु भनेको जे गरेपनि छुट हुने शक्ति हो ? कि जनताले पढ्न लेख्न जानेका छैनन्, चुनाव जित्न जे लेखेपनि हुन्छ भन्ने सोचेका छन् ? होइन जनताका लागि आन्दोलन गरिएको हो भने उनीहरुलाई दुःख नदिइकन गरिने संघर्षका कार्यक्रम छैनन् ? डा. गोविन्द केसी पनि लामो समयदेखि जनताको पक्षमा आन्दोलनरत छन् । उनले जनताको अधिकारलाई कुण्ठित गर्ने काम गरेका छैनन् । बरु संसारलाई हल्लाउने उनको अभियानप्रति आम जनताको साथ र समर्थन प्राप्त छ र उनले उठाएका विषय पूरा हुने चरणमा छ । अखण्ड बागलुङकै सन्दर्भमा पनि दुइसाता लामो आन्दोलन भएको छ । आन्दोलनभर विद्यालय पूर्ण रुपमा ठप्प भए । बरु राजनीतिक दलका नेताहरु सवारी साधनमा सुटुक्क आउजाउ गरे, आम जनता र मजदुरले भारी बोकेरै यात्रा गर्न बाध्य भए । शान्तिक्षेत्र भनिएका विद्यालयहरु राजनीतिका अखडा भए । शिक्षकहरुनै आन्दोलनमा उत्रिए, राजनीतिक दलका प्रमुख शाक्तिका रुपमा शिक्षकहरु देखिएर विद्यालय बन्द गर्न र बालबालिकाको पढ्ने अधिकार हनन् गर्न उनीहरुनै उद्दत भए । बन्द गर्नै पर्ने भए कम्तिमा आफ्नो चुनावी घोषणापत्रमा लेखिएका बन्द विरोधी नाराहरु मेटाउ । नत्र भने आफैले लेखेका अक्षरले गिज्याउने काम नगरौं । यो अभियानमा राप्रपा नेपालले भने बरु आफ्नो घोषणापत्रको कार्यान्वयन गरेको देखियो । किनकी बन्द सदाका लागि बन्द लेकेकै कारण अखण्ड बागलुङ र सनातन हिन्दुूराज्यको माग गरेर उसले रिले अनसनको बाटो रोज्यो । जवरजस्ती बन्द गर्ने अभियानमा हिंडेन । एकपटक कम्तिमा उसले गरेको अभियानको मात्र अनुसरण गर्न प्रमुख भनिएका दलका नेताहरु अगाडि बढ्ने कि नबढ्ने ? यसतर्फ दलहरुले बेलैमा ध्यान पु¥याएनन् भने जनताबाट नेताहरुले पाउने विश्वास अझ घट्दै जाने छ । यसतर्फ बेलैमा ध्यान जरुरी छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment