0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. ९ दरबारथोक मार्ग २ स्थित सीता खवासको घर नजिक जमिन भासिँदा स्थानीय चिन्तित बनेका छन् । खवासको घर नजिकै रहेका बुद्धिबहादुर रानाभाट, हुमबहादुर रानाभाट र कृष्णबहादुर रानाभाटको घरलाई पनि जोखिम वढेको छ भने विष्णु खवास र शेषनारायण खनालको जमिनलाई पनि अप्रत्यक्ष असर पारेका देखिन्छ । मंगलबार बिहानै स्थलगत निरीक्षणमा पुगेका पोखरा ९ का वडा सचिव लोकदर्शन कोईरालले अहिलेसम्म पोखराको जमिनमा परेका भ्वाङहरुको गहिराई चार मिटरसम्म रहेको वताए । साथै उनले पोखरा ९ न्यूरोड, साँघुमुख, सेती किनारका वस्तीहरु लगायतको स्थानहरु उच्च जोखिममा रहेकाले सम्बन्धित निकायले विपद व्यवस्थापन कोष स्थापना गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।सोमबार वेलुकीदेखि परेको अविरल वर्षाका कारण खवासको घर नजिक करिब तिन मिटर गहिरो र पाँच मिटर चौडाईको जमिन भासियको हो । त्यसै गरि दरबारथोक व्याङकेट पार्टी प्यालेसको पश्चिम तर्फ पनि दुई ठाउँमा जमिन भास्सिएको छ । एउटा करिव दुई मिटरको चौडाई रहेको छ भने अर्को सामान्य रहेको छ । आकाशको पानीले निकास नपाएको तथा दरबारथोक पार्टी प्यालेसको छतको पानीको उचित व्यवस्थापन नगरेका कारण त्यहाँको पानी पनि सोही स्थानमा आई जमेका कारण जमिन भासिएको हुन सक्ने पीडित सीता खवासले वताईन् । भविष्यमा पर्ने असरको वारेमा अवगत गराउँदै सो पार्टी प्यालेसको पानीलाई दरबारथोक मार्ग ३, सगरमाथा स्कुल अगाडिको पिच बाटोमा पानीको निकास गर्न वारम्बार ताकेता गर्दा पनि पार्टी प्यालेस संचालकले नटेरेको र अहिले यो आफूहरुले साचे जस्ते भएको स्थानीय चण्डिका आमा समूहकी सचिव विमला रानाभाटले वताईन् ।ति घरहरु सबैभन्दा होचो भागमा रहेको र पानीको निकास नभएको, वरिपरि झाँडी रहेको जमिनमा कहिल्यै घाम नपर्ने भएकाले पनि जमिन भास्सिएको हुनसक्ने स्थानियको भनाई रहेको छ । आफ्नो टोलमा प्राकृतिक विपत्ति आएको वेलामा नगरपालिका कार्यालयलाई समयमै जानकारी गराएको र वडा सचिवले समेत स्थालगत अध्ययन गरेका कारण नगरपालिकाले पनि सहयोग गर्नु पर्ने दरबारथोक टोल विकास संस्थाका अध्यक्ष पूर्णबहादुर भुजेलले बताए ।


Post a Comment

 
Top