0
गोल्डेन न्यूज संवाददाता
संविधानसभाबाट असोज ३ गते नयाँ संविधान जारी हुने भएको छ । संविधानसभा सचिवालयले संविधानको अन्तिम विधेयक सम्पूर्ण रुपमा पारित गरी असोज ३ गते अपरान्ह ५ बजे संविधान सार्वजनिक गर्ने कार्यक्रम तयार गरेको छ । संसोधन प्रस्तावसहित संविधानका सबै धारामा मतदान, एकमुष्ठ विधेयकमाथि २ तिहाई सभासदले पारित गर्ने प्रक्रियाका लागि लाग्ने समय समेतलाई ख्याल गरी उक्त मितिमा संविधान जारी गर्ने तय भएको सभाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए । ‘सबै प्रक्रिया पूरा गरी असोज ३ गते जारी गर्ने तयारी गरेका हौं । यो नेपाली जनताको लागि सुखद् खबर समेत हो’, नेम्वाङ्गले अब कुनै हिसाबले पनि प्रक्रिया नरोकिने र उक्त मितिमा संविधान सार्वजनिक हुने दृढता राख्दै कान्तिपुरसँग भने ।
संविधान सार्वजनिक गर्नका लागि सचिवालयले राष्ट्रपति रामवरण यादवलाई निमन्त्रणा दिने तय गरिसकेको छ । संविधान सभा अध्यक्ष सुवास नेम्बाङ र महासचिव मनोहर भट्टराईले निमन्त्रणाका लागि  सोमबार साँझ ७ बजे नै भेट्न जाने तयारी गरेका थिए । तर राष्ट्रपति कार्यालयले भने मंगलबार बिहान ९ बजे मात्र भेटो समय मिलाएको छ ।
सभाध्यक्षले मंगलबार बिहानको भेटमा संविधानको अन्तिम तयारीबारे औपचारिक जानकारी दिंदै उक्त दिन सार्वजनिक गर्नका लागि लिखित निमन्त्रणा गर्ने भएका छन् । नेम्वाङ्गले भने सोमबार संविधान सभाको बैठक सकिएलगत्तै भेटेर निमन्त्रणा गर्न खोजेका थिए । सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइकेलले निमन्त्रणाका लागि औपचारिक पत्रसहित सभाध्यक्ष नेम्वाङ्ग र महासचिव मनोहरप्रसाद भट्टराई साँझ जाने जानकारी संवाददाताहरुलाई दिएका थिए । तर, शितल निवासले मंगलबारको मात्र भेट व्यवस्थापन गरेको हो । शितल निवासले भने सभाध्यक्ष भन्दा पहिले प्रधानमन्त्री सँग भेट्नु उपर्युक्त हुने भन्दै भेटघाटको समय सारेको हो । ‘सभाध्यक्षसँगको भेट मंगलबार विहान ९ बजे तय गरिएको छ’, राष्ट्रपतिका कानुनी सल्लाहकार ललितबहादुर बस्नेतले कान्तिपुरसँग भने । अघिल्लो दिनदेखि नै प्रधानमन्त्री सुशिल कोइरालासँग भेट्ने कार्यक्रम तय भएको समेत उनले बताए ।
 
स्रोतले भने संविधानसभाबाट संविधान जारी भइसकेपछिको सुरक्षा अवस्थालगायतबारे राष्ट्रपति यादवले प्रधानमन्त्रीसँग जानकारी लिन खोजेको दावी गरेको छ । ‘खासगरी मधेशमा भइरहेको आन्दोलनको सन्दर्भमा राष्ट्रपतिले सुरक्षा अवस्थाबारे समेत बुझेर संविधान सार्वजनिक गर्ने तयारी गरिरहनुभएको छ’, श्रोतले जानकारी दियो । संविधानको मतदान प्रक्रिया सकिएपछि त्यसमा सबै सभासद्हरुले हस्ताक्षर गर्नेछन् । संविधानको ५ प्रतिमा सभासद्हरुले हस्ताक्षर गर्नुपर्नेछ । सभासद्ले हस्ताक्षर गरेपछि संविधान सभा अध्यक्षले पारित संविधानको प्रमाणिकरण गर्नेछन् । सभाध्यक्षले प्रमाणिकरण गरेको उक्त प्रतिलाई राष्ट्रपतिले सार्वजनिक गर्नेछन् ।
राष्ट्रपतिले संविधान जारी गर्ने समारोह औपचारिक हुनेछ । विभिन्न संवैधानिक निकाय प्रमुख, कुटनीतिक नियोगलाई समेत बोलाइनेछ । त्यसको तयारी बारेसमेत सभाध्यक्ष नेम्वाङ्गले शीर्ष तहका नेतासँग छलफल गरेका छन् । नेताहरुको सल्लाहमै उनले राष्ट्रपतिलाई निमन्त्रणाको कार्यक्रम बनाएका थिए ।
 
प्रदेशको संख्या र खाकाप्रति असन्तोष भई मधेशमा जारी आन्दोलन र एजेण्डाप्रति गम्भीर भई आगामी संसोधनमार्फत सुनुवाई गर्दै जाने रणनीति राजनीतिक नेतृत्वले लिएका छन् । संविधान सभाबाट संविधान जारी गर्ने २००७ सालदेखिको प्रयत्न यसपटक पूरा हुन लागेको हो । अघिल्लो संविधान सभाले ४ वर्षको अवधिमा पनि संविधान दिन नसकेपछि दोस्रो संविधान सभा चुनाव भएको थियो ।
 
यता, संविधानसभाको बैठक ५७ धारा पारित गरेर भोलि मंगलबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको छ ।  संविधानसभाको बैठक तेस्रोपटक सुरु भएको छ ।  बैठकले संविधान विधेयकका धारा ५० सम्मका धाराहरु पारित गरेको छ । राज्यका निर्देशक सिद्दान्तबारे चित्रबहादुर केसी र कमल थापाले दर्ता गरेका संशोधन प्रस्तावलाई सभाले बहुमतले अस्वीकार गरेको छ । संविधानसभाको बैठक अपरान्ह साढे ३ बजेबाट पुनः बसेको थियो ।

Post a Comment

 
Top