गोल्डेन न्यूज संवाददाता
नेकपा–माओबादीका सचिव देव गुरुङले सबै पक्षलाई समेटेर संबिधान जारी गर्न ठूला दलहरुलाई सुझाव दिएका छन् । संघियताको सिमांकनको बिषयमै आन्दोलन चर्किएकाले सबै जाती र क्षेत्रले अपनत्व लिने गरी संविधान जारी गर्नुपर्ने उनले बताए । तमुवान संयुक्त संघर्ष समिति निर्माणको लागि विहिवार पोखरामा आयोजित प्रादेशिक भेलामा उनले अहिलेकै गतिमा मुख्य दलहरु अघि बढे राजसंस्था फर्किन सक्ने संकेत गरे । दलहरु एकले अर्कोलाई निषेध गर्दै अघि बढेकाले विदेशी चलखेल बढेको उनले बताए । सबै दल र क्षेत्रलाई एक ठाउँमा राखेर संबिधान निर्माणको लागि जुट्न उनले आग्रह गरेका छन् । अहिले मुख्य दलहरुले अपनाएको बाटो दरवार आउने मूल बाटो भएको उनको आरोप छ । अन्य दल र क्षेत्रका मुद्धालाई लत्याएर संविधान जारी गरे त्यसले हिंसा निम्त्याउने र देशमा सेना परिचालन भई राजसंस्था पुनस्थापित हुने उनको आशंका छ । कार्यक्रममा बोल्ने आदिवासी जनजाति नेताहरुले आदिवासीको माग सम्बोधन हुने गरी संबिधान जारी गर्न आग्रह गरेका थिए ।
Post a Comment