गोल्डेन न्यूज संवाददाता
नेपालमा नयाँ संविधान जारी भएकोमा आम सर्वसाधारण र प्रमुख दलका कार्यकर्ताले खुशी मनाइरहँदा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भने बन्दको आह्वान ग¥यो । मधेश केन्द्रित केही दलहरु र विप्लव नेतृत्वको माओवादी सहित केही जनजातिसंग सम्बन्धित पार्टीहरुले असन्तुष्टि व्यक्त गर्दै कालोझण्डा सहित विरोध प्रदर्शन गर्नुका साथै मधेशका केही ठाउँमा साँझ ब्ल्याक आउट समेत भयो । दिउसो बन्दको प्रभाव सबैतिर परेको थियो । पोखरामा पनि संविधान जारी भएको खुशीयालीमा सार्वजनिक विदा दिइएको कारण सबैजसो सरकारी गैरसरकारी कार्यालय तथा शिक्षण संस्था लगायत बन्द रहेपनि यातायात र बजार भने संविधानको विरोध गर्नेहरुले आह्वान गरेको नेपाल बन्दका कारण बन्द रहे । बिहान पोखराको पृथ्वीचोक, अमरसिंहचोक र लेखनाथ लगायतका क्षेत्रबाट करिब ३५ जना बन्द आह्वान कर्तालाई प्रहरीले पक्राउ गरेपछि दिनभर जसो नै बन्दकर्ता सडकमा देखिएन्न । तथापि बजार खुल्न सकेन र यातायातका साधन पनि केहीमात्र चले । साँझ बन्द खुलेको र संविधान जारी भएको खुशीयालीमा टोल–टोल र चोकचोकमा दीपावली गरिएकोले चहल–पहल निकै बढेको थियो । साँझपख नै पोखराको पृथ्वीचोक, शितलादेवी र बगरबाट नयाँ संविधान प्रति असन्तुष्टि जनाउँदै र तमुवानको माग गर्दै मशाल जुलुस प्रदर्शन गरिएको थियो । जुलुशमा जनजाति र विशेष गरि गुरुङ समुदायका मानिसहरुको सहभागिता थियो । उनीहरुले पहिचान विरोधी संविधान चाहिंदैन, पहिचान मेट्न पाइँदैन जस्ता नारा लगाएर महेन्द्रपुलमा आइ जुलुसको समापन गरिएको थियो । जारी संविधानको विरोध र तमुवानको माग गर्दै सोमबार तमुवान क्षेत्र बन्द आह्वान गरेको संयोजक हुमबहादुर गुरुङले जानकारी दिए ।
Post a Comment