गोल्डेन न्यूज संवाददाता
नमूना आदर्श आमा समूह पोखरा–५ ले आफ्नो ११ औं वार्षिक साधारणसभामा ७० वर्षभन्दा माथिका २० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । त्यसैगरी सोही कार्यक्रममा एसएसलसीमाा उत्तीर्ण भएका विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि सफलताको कामना गर्दै सम्मानसहित उपहार प्रदान गरिएको छ । आमा समूहका अध्यक्ष कालिका थापाले समाजमा ज्येष्ठ नागरिकहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न र शुरुवात महिलाहरुले आफ्नै घरबाट गर्नुपर्नेमा जोड दिदैं २० जना ज्येष्ठ महिलाहरुलाई सम्मान गरी सकारात्मक सन्देश दिने अभियान थालिएको बताईन् । कार्यक्रममा प्रमुख अतिथि हस्तकला संघकी अध्यक्ष हिरा भट्टराईले एकसय एक वर्षकी वृद्धा भद्रा थापा क्षेत्रीलाई सम्मान गर्दै नमूना आदर्श आमा समूहले गरेको कार्य प्रशंसनीय र अनुकरणीय रहेको बताईन् । पोखरामा सक्रिय आमा समूहको रुपमा स्थापित यो समूहले अझै प्रशंसनीय, अनुकरणीय र उदाहरणीय कार्यहरु गर्दै जाओस् भनी कामना समेत गरिन् । विशेष अतिथि समाजसेवी तथा टोल विकास संस्था नगर समन्वय समिति पोखराका अध्यक्ष उज्वल खत्रीले यस आमा समूहले स्थापनाकालदेखि नै समाजका लागि उदाहरणीय कार्य गर्दै आएकोले सदासर्वदा सहयोग जुटाउन र गर्न आफू र संस्था तयार रहेको बताए । टोल विकास संस्था नगर समन्वय समिति पोखराका अध्यक्ष खत्रीले भने–‘समाजलाई सकारात्मक परिवर्तन गर्न र महिलाहरुलाई रोजगारमूलक तालिमहरु दिने काममा यो समूह पोखराकै उदाहरणीय समूह बनेको छ ।’ कार्यक्रममा पोखरा वडा नं. ५ मालेपाटनका ११ वटा आमाा समूहका अध्यक्षहरुको सहभागिता रहेको थियो । आमा समूहका अध्यक्षहरुले समाज रुपान्तरण र विकासका लागि यस समूहले गरेको कार्य अतुलनीय र महत्वपूर्ण रहेकोमा खुशी व्यक्त गरेका थिए । समूहका अध्यक्ष कालिका थापाले महिलाहरुको आर्थिक, सामाजिक र व्यक्तित्व विकासका लागि समूहले धेरै ठूलो परिवर्तन गर्न सक्ने भएको हुँदा सबै आमा समूहहरुले यसलाई अभियान कै रुपमा अघि बढाउनु पर्नेमा जोड दिइन् । समूहका अध्यक्ष थापाले भनिन्–‘महिलाहरुको हक, अधिकार र स्वतन्त्रताका लागि मात्र नभई सामाजिक विकृति, विसंगति र विभेदका विरुद्धमा पनि आमा समूहले धेरै काम गर्न सक्दछ ।’ कार्यक्रममा आमा समूहका सविच जानुका थापाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष नेत्रमाया अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कालिका थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव जानुका थापाले गरेकी थिईन् ।
Post a Comment