गोल्डेन न्यूज संवाददाता
कास्कीको दाङसिङ गाविसका स्थानीयहरुले तत्काल गाविस भवन बनाईदिन माग गरेका छन् । गाउँ विकास समितिको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उनीहरुले गाविस भवन नहुँदा सेवा लिन निकै समस्या भएको भन्दै जतिसक्दो छिटो भवन निर्माण गरिदिन सम्बन्धित निकायसँग माग गरेका हुन् । गाविस भवन नहुँदा सेवा लिन जाँदा साह्रै गाह्रो भयो, स्थानीय टेक बहादुर गुरुङले भने–‘हामीलाई तत्काल गाविस भवन चाहियो ।’ अर्का स्थानीय अमर बहादुर नेपालीले पनि गाविसको आफ्नै कार्यालय नहुँदा कर्मचारी समयमा नभेटिने र समयमा सेवा नपाउने गुनासो गरे । गाउँमा कार्यालय छैन, अर्काको घरमा बस्नुपर्छ, उनले भने–गाविस सचिवलाई गाउँमै बस भन्न पनि सक्ने अवस्था छैन । जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत किर्तनराज पौडेलले गाविसको कार्यालय भवन चालू बर्षभित्रै बनाईसक्ने जानकारी दिए । शान्ति तथा पुनःनिर्माण मन्त्रालय अन्तर्गतको बजेटबाट यो भवन बनाउने तयारी गरिएको हो । यो सँगै सहभागीहरुले गाविसमा लक्षित बर्गको बजेट सम्बन्धित समुदायको प्रत्यक्ष फाईदा पुग्ने काममा खर्च नभएको, अधिकांश योजनाहरु धारा र बाटोमा खर्च गरेको, समयमा प्राविधिक सेवा नपाएको लगाएतका गुनासो गरेका छन् । महिलाका लागि छुट्याईएका बजेट हामीले माग गर्दा पनि हाम्रो कुरा सुनिएन, महिला समूहकी सदस्य भीम कुमारी क्षेत्रीले भनिन्–‘हामीलाई भाग लगाईदिएको रकम निकै कम भयो, कार्यक्रम गर्न सकिएन ।’ गाउँ स्तरबाट तालिमका लागि ९० हजार रुपैयाँ माग गरेपनि गाविसले जम्मा २० हजार रुपैयाँ तालिममा दिएर अरु सबै खानेपानी र भवन निर्माणमा लगानी गरिदिएको उनको गुनासो छ ।गुनासोको सुनुवाई गर्दै गाविस सचिव राजन तिमिल्सिनाले भने महिलाहरुको बजेट उनीहरुकै हितमा खर्च भएको बताए । हामीले कुनै हस्तक्षेप गरेका छैनौं, उनी भन्छन्–‘बजेट माग गर्ने बेलैमा खानेपानी र भवन निर्माणका लागि माग आएको थियो, त्यसैमा लगानी गरेका हौं ।’ माग अनुसार बजेट नपुग्ने भएकाले सबैलाई समेट्ने गरी योजना छनौट गरिएको तिमिल्सिना बताउँछन् ।नेपाली कांग्रेस गाउँ सभापति तिल बहादुर गुरुङले पनि अपूरा कामहरु पूरा गर्न बजेट विनियोजन गरिएको बताए । नेकपा एमालेका अध्यक्ष बुद्धि बहादुर गुरुङले भने गाउँलेको माग बढी मोटरबाटो र भवन निर्माणमा आउने भएकाले उनीहरुकै मागलाई सम्बोधन गर्ने प्रयास गरिएको उल्लेख गरे । एकिकृत नेकपा माओवादीका अध्यक्ष लिल बहादुर कुवँर पनि कानुनले भनेझै सबै प्रक्रिया पूरा गर्न निकै कठिन भएको स्विकार गर्छन् । हामीले कानून वमोजिम चल्ने प्रयास गर्ने हो, उनी भन्छन्–तर कति कुराहरु ब्यबहारिकता पनि हुन्छ, कानून मात्रै भनेर हुँदैन । पत्रकार प्रकाश ढकालले सहजीकरण गरेको कार्यक्रममा सरोकारवालाहरुले गाविसले आन्तरिक श्रोत बृद्धी गरेकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा अझै थप गर्न सुझाव दिए । दाङसिङ गाविसले गत बर्षदेखि गाविस क्षेत्रभित्र सञ्चालित होटल तथा रेष्टुरेण्टबाट ब्यवसाय कर लिन थालेको छ । यसबाट पहिलो बर्ष नै १ लाख ८५ हजार रुपैयाँ संकलन गरेको थियो । आन्तरिक श्रोतको दायरा विस्तार गर्ने र गाविसलाई सवल बनाउने उद्देश्यले कर संकलन थालिएको र आगामी बर्षहरुमा यसलाई अझै बिस्तार गर्दै लैजाने गाविस सचिव राजन तिमिल्सीनाको भनाई छ । स्थानीयको सहयोग भएमा अबका बर्षहरुमा निर्देशिका विपरित योजना छनौट र कार्यान्वयन नगर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा गाविसका पूर्व अध्यक्ष देवेन्द्र कुमार शेरचनले गाविसका कमी कमजोरी सुधार गरी आगामी दिनमा जनउत्तरदायी सेवा प्रवाहमा जोड दिन गाविस सचिवसँग आग्रह गरे । नेकपा एमालेका क्षेत्रीय सह–सचिव सुरेन्द्र गुरुङले पनि गाविसमा महिला सहभागिता बढेकोमा खुशी लागेको भन्दै समाबेशी प्रतिनिधित्व विकासका लागि सबैभन्दा महत्वपूर्ण पक्ष रहेको उल्लेख गरे । दाङसिङ गाविसले गत बर्ष ६२ लाख ८८ हजार ३ सय रुपैयाँ बजेट कार्यान्वयन गरेको थियो । यो मध्ये २ लाख ४५ हजार रुपैयाँ आन्तरिक आम्दानी छ ।
Post a Comment