गोल्डेन न्यूज संवाददाता
बाँझापाटनको बी १३ ले प्रथम काजीपोखरी खुल्ला सेभेन ए साईडको उपाधि जितेको छ । शनिबार भएको फाईनल प्रतिष्पर्धामा आयोजक काजीपोखरी लाई २–० गोल अन्तरले हराउँदै उपाधि जितेको हो । खेल अवधिभर निकै दवाबमा राखेको बी १३ का लागि खेलको पहिलो हाफमा उत्तम गुरुङ्गले गरेको गोलसंगै अग्रता लिएको थियो । खेलको दोश्रो हाफमा सुशिल लामाले दोश्रो गोल गरेपछि उपाधि घरमै राख्ने काजीपोखरीको सपना अधुरै रह्यो । उपाधि संगै बी १३ ले नगद ८५ हजार ५ सय ५५ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उप विजेता काजीपोखरीले नगद ४५ हजार ५ सय ५५ कप मेडल र प्रमाणपत्र पायो । प्रतियोगितामा बी १३ का उत्तम गुरुङ्ग खेलको म्यान अफ दि म्याच समेत घोषित भए । प्रतियोगिता अवधिभर ९ गोल गर्ने नयाँगाउँ यूथ क्लबका सुशन गुरुङ्गलाई सर्वाधिक गोलकर्ता, काजीपोखरी यूथ क्लबका अजय विकलाई सर्वोत्कृष्ठ खेलाडी र बी १३ का तेन्जिङ्ग न्याम्गेल लाई उत्कृष्ठ गोलकिपरको उपाधिबाट सम्मान गरियो । विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि समाजसेवी कोमलप्रसाद गुरुङ्गले पुरस्कार प्रदान गरेका थिए । यसअघि शनिबार नै भएको सेमिफाईनलमा बी १३ ले एसी एआईजी लाई २–०ले हराउँदै फाईनलमा पुगेको थियो भने काजीपोखरीले नयाँगाउँ यूथ क्लबलाई १–०ले पराजित गर्दै फाईनलको यात्रा बनाएको थियो । सेवा नै धर्म हो भन्ने मूल नाराका साथ भूकम्प पीडितहरुको सहयोगार्थ एवं काजीपोखरीमा फूटलब मैदान निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । समापन कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष जितेन्द्रजंग थापाले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
Post a Comment