गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिकाले नगर क्षेत्रको फोहोर उठाउनका लागि नयाँ कार्यतालिका तयार गर्ने भएको छ । २ बर्ष अघि तयार गरिएको तालिका खासै प्रभावकारी नभएको गुनासो आएपछि टोल विकास संस्थाको समन्वयमा नयाँ तालिका निर्माण गर्न लागिएको हो । यसका लागि नगरपालिकाले वडा वडामा फोहोरमैला अनुगमन तथा निगरानी समूह गठन गरिरहेको छ । अहिलेसम्म वडा नम्बर १ र २ मा समिति गठन भैसकेको र यो महिनाभित्र सबै वडामा समिति गठन गरिसक्ने नगरपालिकाका सरसफाई अधिकृत चुडामणि तिवारीले जानकारी दिए । केही महिनाभित्रै सरसफाईको क्षेत्रमा देखिने गरी काम गरेर देखाउँछौं, तिवारी भन्छन्–यसका लागि टोलटोलमा भेला राखेर समिति गठन गरिरहेका छौं, यो महिनामा फोहोर उठाउने तालिका सार्वजनिक गर्छौं । तालिका तयार भएपछि सोही तालिका अनुसार फोहोर उठाउने ब्यवस्था मिलाईने उनले बताए । फोहोर उठे नउठेको अनुगमन भने गठित अनुगमन तथा निगरानी समूहले गर्नेछ । तालिका अनुसार फोहोर उठाउने गाडी नआएमा वा तोकिएको समयमा फोहोर नउठेमा नगरस्तरीय अनुगमन समितिलाई उजुरी गर्न सकिने तिवारीले बताए । यसको अनुगमन गर्नका लागि नगरपालिकाका कार्यकारी अधिकृत उदय बहादुर रानाको संयोजकत्वमा नगरस्तरीय समिति गठन भैसकेको छ । नगरपालिकाले अहिलेसम्म वडा नम्बर १ र २ मा यस्तो समिति गठन गरिसकेको जनाएको छ । वडा नम्बर १ मा डिल्लीराम अधिकारीको संयोजकत्वमा ७ सदस्यीय र वडा नम्बर २ मा कृष्ण तिमिल्सिनाको संयोजकत्वमा ११ सदस्यीय निगरानी समूह तथा ५ सदस्यीय सल्लाहकार समिति गठन भएको छ । नगरपालिकाले २०७० सालमा पनि यसरी नै फोहोर उठाउने तालिका सार्वजनिक गरेको थियो । तर तालिका अनुसार फोहोर नउठाएपछि नगरबासीहरु आक्रोशित बनेका छन् । नयाँ तालिका आएपछि यस्तो समस्या नहुने कार्यकारी अधिकृत उदय बहादुर रानाले बताए । नगरक्षेत्रको सार्वजनिक ठाउँमा फोहोर फालेको पाईएमा फोहोरमैला ऐन २०६८ अनुसार कारबाही हुने उनको भनाई छ । फोहोरमैला ऐन २०६८ मा सार्वजनिक ठाउँमा फोहोर फालेको पाईएमा सम्बन्धित स्थानीय निकायले न्यूनतम १ रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँ सम्म जरिवाना गर्न सक्ने प्रावधान छ । सोही प्राबधानलाई कार्यान्वयनमा ल्याउन लागेको रानाले बताए । पहिलो चरणमा नगरक्षेत्रमा रहेका साविकका १८ वडाको तालिका बनाउने र अन्य वडामा पनि यसलाई विस्तार गर्दै लैजाने नगरपालिकाले जनाएको पिस पोखरा डटकममा खबर छ ।
Post a Comment