0
गोल्डेन न्यूज संवाददाता
पोखरास्थित वन विज्ञान क्याम्पसमा विएस्सी प्रथम सेमेष्टरमा अध्ययन गर्ने एक विद्यार्थी स्थानीय वनपाले डाँडा नजिकै सेती नदीमा खसेर बेपत्ता भएका छन् । वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा अध्ययनरत भिष्मराज जोशी साथीसंग फोटो खिच्दै गर्दा अचानक चिप्लिएर सेती नदीमा खसेको र त्यसपछि बेपत्ता भएका हुन् । मंगलवार साँझ करिब ७ बजे उनीसंगै अध्ययन गर्ने साथी अशोक भण्डारीसँग घुम्दै उनी त्यहाँ पुगेका थिए । कैलाली अत्तरिया पहाडरोड घर भएका भिष्मराज फोटो खिच्ने क्रममा चिप्लिएर सेतीमा खसेको र त्यसपछि करिब २५ मिटर तलसम्म भण्डारीले किनाराबाट समात्न प्रयास गरेको भएपनि समात्न नसकेपछि उनी बेपत्ता भएको नेविसंघका इकाइ सभापति महेश न्यौपानेले गोल्डेन न्यूज दैनिकलाई बताए ।
खोंचमा खसेका उनी केही तलसम्म मोवाइल हातमा बोकेर गुहार मागेपनि आफूले उद्धार गर्न नसकेको भण्डारीले क्याम्पसमा आएर साथीहरुलाई खबर गरेपछि  प्रहरी, सेना र सशस्त्रको रेस्क्यू टोलीले राति १२ बजेसम्म बेपत्ता भिष्मराजको खोजी गरेको थियो ।  भिष्मराज खसेको क्षेत्र अत्यन्त अप्ठ्यारो ठाउँ भएको र चिप्लिने वित्तिकै खोंचमा खस्ने जोखिम क्षेत्र भएकाले खोजी कार्यमा समस्या भएको कास्कीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक हरिबहादुर पालले जानकारी दिए । प्रहरी लगायतका टोलीले बुधवार बिहानैबाट पुनः उनको खोजी गरेको भएपनि पत्ता लाग्न सकेको छैन । बेपत्ता विद्यार्थी भिष्मराज नेविसंघ वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका कोषाध्यक्ष हुन् ।
 
यसैबीच मंगलबार साँझ समयमा पोखरा वन विज्ञान अध्ययन संस्थानमा अध्ययनरत उक्त क्याम्पसका छात्र तथा नेपाल विद्यार्थी संघ इकाई कोषाध्यक्ष भिष्मराज जोशी सेती नदीको किनारमा जाँदा चिप्लिएर सेती नदीमा हराएको हुँदा उक्त घटनाप्रति नेविसंघ कास्कीले दुःख प्रकट गरेको छ । पढाइमा मेधावी छात्र जोशी एसएलसी तथा उच्च माध्यमिक तहमा विशिष्ट श्रेणीमा उत्तीर्ण विद्यार्थीको यो दुःखद् खबरले नेविसंघ कास्की गम्भीर चोटमा रहेको नेविसंघ कास्कीका संयोजक सुवास कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । उनको खोजिका लागि घटना भए लगत्तै  नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र प्रशासनको क्रियाशीलता प्रति संघले कृतज्ञता ज्ञापन गर्दै छिटो भन्दा छिटो उनको स्थिति पत्ता लगाउन नेविसंघले आग्रह गरेको छ ।
 
यसैबीच नेविसंघका केन्द्ीय सदस्य सरोज केसीले क्याम्पसको होस्टलमा रहेका विद्यार्थीहरुलाई होस्टेलबाट किन र कसरी बाहिर पठाइएको भन्ने बारेमा क्याम्पस प्रशासनले स्पष्ट पार्नुपर्ने बताएका छन् । यसअघि पनि पटक–पटक यस किसिमको घटना हुने गरेकोमा क्याम्पस प्रशासन र होस्टल व्यवस्थापनको लापर्वाहीले विद्यार्थीहरु बाहिर निस्किने र विभिन्न दुर्घटनामा पर्ने गरेको उनले बताए । उक्त घटनापछि वन विज्ञान अध्ययन संस्थानमा अध्ययन गरिरहेका विद्यार्थीहरुमा मानसिक तनाव परेको भन्दै बिहीबार सञ्चालन हुने वार्षिक परीक्षा स्थगनका लागि केही विद्यार्थीले माग गरेपनि केही विद्यार्थी परीक्षा दिन तयार भएपछि परीक्षा सुचारु गर्न नेविसंघ तयार भएको सभापनि न्यौपानेले जानकारी दिए । वेपत्ता भिष्मराजको खोजी एवं अन्य विषयमा संस्थानका निमित्त डीन जीवनाथ पाण्डे र क्याम्पस प्रमुख वीरबहादुर खनाल क्षेत्रीबीच वार्ता भएपनि उनीहरु वार्तामा संवेदनशील नदेखिएको बताइन्छ ।

Post a Comment

 
Top