0
गोल्डेन न्यूज संवाददाता
सेवाग्राही सन्तुष्टी भएमात्र निजामती कर्मचारीको कर्तव्य पुरा हुने सोमबार भएको कार्यक्रमका वक्ताहरुले औंल्याएका छन् । सुशासनको लागि नागरिक समाज (सुनास) कास्कीले आयोजना गरेको सार्वजनिक सेवा सुधारमा निजामती कर्मचारीको भूमिका विषयक कार्यक्रमका वक्ताहरुले त्यस्तो औल्याएका हुन । निमित्त क्षेत्रीय प्रशासक दिवाकर बाँस्तोलाले सेवाग्राही सन्तुष्ट भएमात्र कर्मचारीको कर्तव्य पुरा हुने बताए । मुल प्रशासन नसुध्रेसम्म अरु कर्मचारीलाई सुधार गर्न नसकिने उल्लेख गर्दै प्रशासक बाँस्तोलाले विगार्ने थोरै भएको कारणले विगार्नेलाई सपार्नको लागि ध्यान दिनुपर्ने बताए । नेपाल सम्भावना भएको मुलुक भएको उल्लेख गर्दै उनले बिगार्नेलाई सपार्नसके देश बन्ने बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय प्रमुख विश्व प्रकाश सुवेदीले भ्रष्टाचारको अनुसन्धान गर्ने काम धेरै कठिन भएको बताए । पैसा कमाउनेलाई समाजले प्रोत्साहित गरेर सामाजिक मान सम्मान दिएको उल्लेख गर्दै उनले सादा जीवन उच्च विचार अवलम्वन गर्नेलाई प्रोत्साहित नगर्नु दुःखद् भएको बताए । सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले निजामती कर्मचारी प्रशासनमा देखिएका कमि कमजोरीलाई सुधार गर्न तयार रहेको बताए । उनले सुनास संग हातेमालो र सहकार्य गरी भ्रष्टाचार न्यूनिकरणको लागि काम गर्ने धारणा राखे । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कार्यसमिति सदस्य आनन्दराज मुल्मीले कर्मचारी तन्त्रले मुलुकको बाटो देखाउने गरेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र कानुनको कार्यन्वयनको जिम्मेवारी लिनुपर्ने सुझाव दिए । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव गुणराज श्रेष्ठले सार्वजनिक सेवा प्रवाहमा निजामती कर्मचारीको भूमिका विषयक कार्यपत्र पेश गरे । सेवाग्राहीको पहिलो प्रत्यक्ष सम्पर्क कर्मचारी संग हुने उल्लेख गर्दै उनले कर्मचारीहरुको व्यवहारबाट सेवाग्राहीले सार्वजनिक निकाय प्रतिको धारणा बनाउने बताए । सुनास कास्कीका अध्यक्ष पुण्य पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उपमहानगर पालिकाका कार्यकारी अधिकृत उदय बहादुर राना मगर, निमित्त स्थानीय विकास अधिकारी नारायण श्रेष्ठ, नागरिक समाजका विष्णु बराल, प्रमुख महिला विकास अधिकृत लक्ष्मी जिसी, पूर्व कर्मचारी ऋषिराम लामिछाने, शिव प्रसाद गौतम, कार्यसमिति सदस्य कृष्ण प्रसाद बराल, कार्यक्रम अधिकृत भानु पराजुली, दुर्गा भण्डारी, इन्दिरा पौडेल लगायतका वक्ताले मन्तव्य राखेका थिए ।

Post a Comment

 
Top