0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्ला भलिवल संघद्वारा आयोजित ‘ए’लेबल भलिबल प्रशिक्षक प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ । तालिममा उत्कृष्ट प्रशिक्षार्थीहरुलाई कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ्ग तथा राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षण विभाग प्रमुख नविन उप्रेतीले एक समारोहका बीच प्रमाणपत्र प्रदान गरे । प्रमाणपत्र वितरण गर्दै गुरुङ्गले तालिममा लिएको ज्ञानलाई व्यवहारमा लागू गर्न प्रशिक्षार्थीहरु लाई आग्रह गरे । त्यस्तै उप्रेतीले खेलकुदका कर्मचारीहरुले आफ्ना छोराछोरीलाई पनि खेलकुद क्षेत्रतर्फ लाग्न अभिप्रेरित गर्नुपर्नेमा जोड दिए । एक हप्ते तालिममा पश्चिमाञ्चलका विभिन्न जिल्लाबाट २५ जना प्रशिक्षार्थीहरुले भाग लिएका थिए । ती मध्ये २० जना उत्तीर्ण भए । समापन समारोहमा नेपाल भलिवल संघका केन्द्रिय सचिव रामनाथ भण्डारी, सदस्य डिवि नेपाली, तालिमका प्रमुख प्रशिक्षक सुदेश कुमार रिमाल, प्रशिक्षक बलराम क्षेत्री, कौशिला खत्री, क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख डेम बस्नेत, जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल लगायतले बोलेका थिए । कार्यक्रममा बोल्दै आयोजक संघका अध्यक्ष भिम पराजुलीले खेलकुद विकासका लागि संघहरुले प्रशिक्षण केन्द्र सञ्चालन गर्नुपर्नेमा जोड दिए । साथै संघ आउँदो असोजको पहिलो साता यहाँ आयोजना गर्न लागिएको इलाका स्तरीय पुरुष भलिवल प्रतियोगिताको तयारीमा जुट्ने पनि उनले जनाए । संघका सह–सचिव शेषकान्त शर्माले सञ्चालन गरेको कार्यक्रममा सदस्य टंक पौडेलले स्वागत गरेका थिए भने प्रशिक्षार्थीको तर्फबाट रमेश श्रेष्ठले आफ्नों अनुभव सुनाएका थिए ।

Post a Comment

 
Top