गोल्डेन न्यूज संवाददाता
भारतले सीमा नाका ठप्प पारेपछि देशभर देखिएको पेट्रोलियम पदार्थको समस्या पोखरा सहित गण्डकी धौलागिरीका जिल्लामा पनि देखिएको छ । आपूर्ति नहुदा भएको स्टक पनि सकिएको छ । चार दिन अघिदेखि पेट्रोलपम्पमा देखिएको लाईन शुक्रवार शुन्य भयो । तेल सकिएपछि पेट्रोल पम्पपनि बन्द भएका छन् । पोखराको प्रस्र्याङमा रहेको सशस्त्र प्रहरीको कालिका पेट्रोल पम्पले पनि शुक्रवारबाट तेल दिन छोडेको छ ।
पम्पमा भएको स्टक सकिएकाले बितरण बन्द गरिएको पम्पका कर्मचारीले बताए । भारतले नेपालमा नाकाबन्दी गर्ने आशयको सूचना सार्वजनिक भएदेखि बितरणमा कडाई गरिएको भएपनि शुक्रवार बाट ठप्प भयो । अहिलेको स्टकले जेनतेन आईतवार सम्म धान्ने र त्यसपछि उपलब्ध गराउन नसकिने नेपाल आयल निगम गगनगौडा डिपो प्रमुख मनोज ठाकुरले जानकारी दिए । गण्डकी धौलागिरीमा पेट्रोलियम पदार्थ ढुवानी हुने रक्सौल नाकामै तेल लोड नभएको शुक्रवार छैटौ दिन हो । सीमा नाकाबाट लोड पनि हुन नसकेको र प्रहरी स्कटिङमा गएको गाडीहरु पनि रित्तै फर्किएकाले अबस्था झन् जटिल बनेको ठाकुरले बताए । ‘रक्सौलबाट लोड पनि हुन सकेन, वारीका गाडी वारी र पारिका गाडी पारि छन्’, उनले भने–‘स्कटिङमा गएका गाडी पनि रित्तै फर्किएका छन् ।’ पोखरा सहित गण्डकी धौलागिरीमा दैनिक ८० हजार लिटर पेट्रोल र एक लाख ६० हजार लिटर डिजेलको माग छ । यस क्षेत्रमा ५२ वटा पेट्रोल पम्पहरु रहेका छन् ।
पेट्रोलियम डिलर्स एशोसिएशन गण्डकी धौलागिरीका सचिव राजन गंगजुले आईतवार बाट यस क्षेत्रमा पेट्रोलियम पदार्थको हाहाकार हुनसक्ने बताए । ‘एक साता भयो अभाब सुरु भएको, ४ दिन देखि आपूर्ति शून्य छ’ उनले भने–‘आईतवारबाट अवस्था जटिल हुनेछ ।’ पेट्रोलियम पदार्थको ढुवानी असहज भएपछि नेपाल आयल निगमले निजी सवारी छोडेर सार्वजनिक सवारी चढ्न आग्रह गरेपनि यस्तै अवस्था रहे सार्वजनिक सवारी सञ्चालनमा समेत कठिनाई आउने यातायात ब्यबशायीले बताएका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐन कुमार साईले आईतवार बाट सार्वजनिक सवारी सञ्चालनमा समेत समस्या आउन सक्ने बताए ।
Post a Comment