गोल्डेन न्यूज संवाददाता
गजल सन्ध्या, पोखराले माति जयन्ती विशेष गजल वाचनमा देशका विभिन्न ठाउँका दश गजलकारलाई उभ्याउने भएको छ । भदौ महिनाभरी नै मोति विशेष रुपमा मनाएको सन्ध्याले यही २६ गते १० गजलकारलाई विशेष गजल वाचनमा उभ्याउने भएको हो । १० गजलकारको साथमा पोखराका केही चर्चित गायकहरुले गजल गाउने सन्ध्याले जनाएको छ । कार्यक्रमका लागि विभिन्न समिति पनि गठन भई तयारी तिब्र पारिएको सन्ध्याका अध्यक्ष बिर्सना बस्नेतले जानकारी दिईन् । उपाध्यक्ष अमृत सुवेदी कार्यक्रम संयोजक रहेका छन् भने सल्लाहकार मन क्षेत्रीको संयोजकत्वमा स्रष्टा छनोट उपसमिति गठन भएको छ । यसैगरी कार्यक्रम सफल पार्नका लागि सल्लाहकार दीपक समिपको संयोजकत्वमा अथिति सत्कार उपसमिति, ईश्वरमणि अधिकारीको संयोजकत्वमा आर्थिक उपसमिति, रुपीन्द्र प्रभावी ‘कटु’को संयोजकत्वमा प्रचार–प्रसार उपसमिति र उदिपराज ढुङ्गानाको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन भई तयारी थालिएको छ । स्रष्टा छनौट उपसमितिले १० गजलकारको नाम छनौट गरिसकेको छ । गजल वाचनका लागि स्याङ्जाका गजलकार जीवनपानी, बाग्लुङका राम अविरल, अछामका तपेन्द्र घोडासैनी, गोरखाकी सुमि प्रकृति, चितवनका मुक्त उदास, ललितपुरका समिर हुमागाई, कास्कीका विशाल थापा, कृष्ण अधिकारी ‘त्रुपक’, कृष्ण देवकोटा र पवित्रा भण्डारी ‘पारु’ नाम छनौट गरिएको संयोजक क्षेत्रीले जानकारी दिए । गएका विशेष गजल वाचनमा गजल नभनेका गजलकार र नयाँ पुस्ता तथा पुराना पुस्तालाई एकै ठाउँमा ल्याउने गरी नाम छनौट गरिएको क्षेत्रीले बताए । मोति जयन्तीको अवसरमा हुन लागेको विशेष कार्यक्रमको पोखरेली गजलमा सुरुवाती दिनमा कलम चलाउने गजलकार तथा कवि तीर्थ श्रेष्ठले गजल वाचन गरी कार्यक्रमको उद्घाटन हुनेछ भने श्रेष्ठले नै गजल वाचन गरी कार्यक्रमको समापन हुने सन्ध्याले जनाएको छ । यसैबीच ‘जीवन र जगतको यथार्थबोधका लागि अक्षरयात्रा’ भन्ने मुल उद्घोषलाई आत्मसाथ गर्दै आएको पोखरेली साहित्यिक अभियान अक्षरयात्रा यसपटक पोखराको विश्व शान्ति स्तुपमा पुगेको छ । गजल सन्ध्या पोखरा र नवनित साहित्य सागरको संयुक्त आयोजनामा प्रत्येक महिनाको तेस्रो शनिबार हुँदै आएको अक्षरयात्राका देशको अवस्था, पोखराको सौन्दर्य, पर्यटकीय संभावना, सामाजिक विषयबस्तु र मायाप्रेमका विषयलाई अक्षरमा उतारे । पर्यटन साहित्यको अवधारणालाई जोड दिँदै देशका विभिन्न ठाउँमा पुगेर त्यहाँको अवस्था, संभावना र स्थानीय सिर्जनालाई उजागर गर्नका लागि सोही ठाउँमा रचिएका रचना अक्षरयात्रीले प्रस्तुत गरेका थिए । सिर्जनशील युवा क्लव र इलाइट क्यापेको स्थानीय व्यवस्थापनमा भएको १ सय २१ औं अक्षरयात्रामा करिव २० जनाले रचना वाचन गरेका थिए । साहित्य क्षेत्रमा अलग्गै अभियान लिएर हिँडेको अक्षरयात्राले स्थानीय विषयबस्तुलाई साहित्यक रचनामा उतारेर उजागर गर्ने काम गरेको भन्दै पत्रकार, लेखक तथा स्थानीय व्यवस्थापक यस्ता अभियानहरुले साहित्यमा ठूलो महत्व राख्ने बताए । गजल सन्ध्या पोखराका अध्यक्ष विर्सना बस्नेत, नवनित साहित्य सागरका अध्यक्ष लक्ष्मण थापा र सिर्जनशील युवा क्लवका अध्यक्ष झम्कनाथ देवकोटाको संयुक्त अध्यक्षतामा अक्षरयात्रा भएको हो । अक्षरयात्रामा रुपिन्द्र प्रभावी, सौगात संघर्ष, कपिल शर्मा, पोखरा बाहिरका कवि निश्चल परदेशी, मनोज विराली, पोखराका प्रकाश ज्ञावाली, राम कुमार पुच्चे, बालिका अभिलाषी, कृष्ण अधिकारी ‘त्रुपक’ अनिता भण्डारी, दिपक त्रिपाठी लगायतले रचना वाचन गरेका थिए ।
Post a Comment