नपाली कांगे्रसका संस्थापक एवं महामानव वीपी कोइरालाको आज १०२ औं वीपी स्मृति दिवस । उनैले स्थापित गरेको पार्टी नेपाली कांग्रेस, उसका भातृ तथा शुभेच्छुक संस्थाहरु तथा लोकतान्त्रिक संघसंस्था एवं लोकतन्त्रवादीहरुले विभिन्न कार्यक्रमको आयोजना गर्ने गर्दछन् । ती कार्यक्रममा वीपीको महिमा गान हुने गर्छ । तर, त्यो महिमाको कुनै अंश राजनीतिक, सामाजिक गतिविधिमा अनुशरण गरिन्छ कि गरिंदैन भन्ने महत्वपूर्ण कुरा हो । यो महत्वपूर्ण पक्षलाई वेवास्तालाई गर्दै महिमागानले मात्र कुनै अर्थ राख्दैन । वीपीले नेपाली राजनीतिलाई नयाँ दिशा दिएका थिए । उनले नेपालको सामाजिक, आर्थिक र अन्य पक्षको विकासका लागि नै राजनीति गरिनुपर्छ भन्ने मान्यता स्थापित गरेका हुन् भने राष्ट्रियता, लोकतन्त्र र समाजवादको त्रिवेणीमै यो मुलुकको कल्याण हुनसक्छ भन्ने स्पष्ट मार्ग निर्देश गरेका छन् । नेपाली राजनीतिलाई उनले गरेको यो मार्गनिर्देश अझै पनि सान्दर्भिक छ । यहाँको राष्ट्रियतालाई बलियो बनाई लोकतान्त्रिक विधिबाट आर्थिक सामाजिक कार्यक्रम अगाडि सारेर मात्रै देशको कल्याण गर्न सकिन्छ भन्ने उनको विश्लेषणको सान्दर्भिकता युगौंयुगसम्म रहने छ । आज देश संक्रमण कालमा रहेको बेला देश भित्रका राष्ट्रिय शक्तिहरुका बीचको बलियो एकता र यहाँका नागरिकहरु बीचको सौहार्दपूर्ण सम्बन्धको बलमा नै मुलुकले निकास पाउने हो । बीपी यो कुरामा प्रष्ट थिए । उनले भन्ने मात्र हैन व्यवहारबाटै सिद्ध गरिदिएका थिए कि राष्ट्रिय संकटका बेलामा व्यक्तिगत खतरालाई तिलाञ्जली दिदै घरेलु शक्तिकाबीच एकता कायम गर्नुपर्छ भनेर । २०३३ सालमा उनले अघिसारेको मेलमिलापको नीति यस्तै उनको बलियो मान्यताको व्यवहारिक प्रयोग हो । आज देशलाई संक्रमणकालबाट मुक्त गर्नुपर्ने अवस्थामा यसैगरी व्यक्तिगत, समूहगत र दलीय स्वार्थबाट माथि उठी राष्ट्रिय एकताका आधारमा राष्ट्रिय हितको पक्षमा निर्णय लिनु आवश्यक छ । यसो गर्न सकियो भने मात्र वीपीको स्मरण गर्दै उनको महिमा गानको अर्थ रहन्छ । यो मान्यताका आधारमा मात्र नेपाली समाज र राजनीतिलाई अगाडि बढाउने सन्दर्भमा योगदान दिएको ठहर्छ । आज बीपीको भैतिक उपस्थिति छैन, तर, नेपाली समाजका सन्दर्भमा उनको विश्लेषण र नेपालको राष्ट्रियताका सन्दर्भमा उनको दृष्टिकोणका साथै राष्ट्रियतालाई मजबूत गराउने सन्दर्भमा उनको अवधारणा भने हामीले हेर्न, बुझ्न र प्रयोग गर्न सक्ने अवस्थामा छांै । आज देशभित्रका ठूला शक्तिहरुकाबीच कलह छ, जात र भूगोलका नाममा नागरिक नागरिकका बीचमा विद्वेश फैलाउने काम भैरहेको छ, एक अर्काको अस्तित्व अस्वीकार गर्ने र आफूलाई मात्र ‘हिरो’ सम्झने संस्कृतिको विकास भएको छ । अहिलेको मुख्य समस्या भनेको यीनै चरित्रहरु हुन् । यी चरित्रहरुमा सुधार नल्याउदासम्म देश संक्रमणकालबाट मुक्तहुने अपेक्षा गर्न सकिंदैन । यो निश्कर्षका आधारमा पनि हामीले भन्न सक्छौं कि नेपालको सुन्दर भविष्यका सन्दर्भमा वीपीले अघि सारेको दृष्टिकोण कालजयी छन् र सान्दर्भिक छन् । आज हामीले ती कालजयी र सान्दर्भिक विचारहरुको अनुशरण गरेर देशलाई समृद्धिको मार्गमा हिंडाउने कि त्यसलाई वेवास्ता गर्दै देशलाई संक्रमणकालमा अल्मल्याइरहने ? १०२ औं वीपी स्मृति दिवसका अवसरमा हामी आफैले आफैलाई गर्ने प्रश्न हो यो । यो प्रश्न आफैलाई सोधौं, जे जवाफ आउछ, त्यही गरौं । यो प्रक्रियामा इमान्दार हुन सकेमा वीपीको महिमा गान अथवा उनको स्मरणको अर्थ रहन्छ । अन्यथा ती सबै एउटा औपचारिकतामा मात्रै सीमित रहने छ । विपिसंग जोडिएको नेपाली कांग्रेसले यस विषयमा गम्भीर भएर सोच्न जरुरी छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment