गोल्डेन न्यूज संवाददाता
विश्व प्राथमिक उपचार दिवसको अवसरमा पोखरामा विभिन्न कार्यक्रम हुने भएको छ । ‘प्राथमिक उपचार र जेष्ठ नागरिक’ भन्ने मूल नाराका साथ आगामी भदौ २६ गते (१२सेप्टेम्वर) रेडक्रस केन्द्रीय कार्यालय प्राथमिक उपचार महाशाखा अन्तर्गत यो दिवस पोखरामा मनाउन लागिएको हो । एक साताभर विभिन्न कार्यक्रमका साथ दिवस मनाउन लागिएको नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति एवम् व्यवस्थापन समितिका संयोजक वामदेव ढुङ्गानाले जानकारी दिए । कार्यक्रम सम्पन्न गर्न कास्की शाखाका पदाधिकारी र सदस्यहरुलाई समेटेर ९ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । कार्यक्रम अन्तर्गत सोमवार जिल्लास्तरीय चित्रकला प्रतियोगिता आयोजना गरियो । प्रतियोगितामा कास्कीका विभिन्न ३९ वटा सामुदायिक एवम् निजी विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । “सडक दुर्घटना, यसबाट बच्ने उपाय एवम् रेडक्रस स्वयंसेवकहरु को भूमिका” विषयमा विद्यार्थीहरुले आफ्नो चित्र उतारेका छन् । वरिष्ठ कलाकार गोपाल श्रेष्ठ, ज्योत्स्ना उदास र सूर्य ढकालको मूल्याङ्कन टोलीले उत्कृष्ट चित्रहरुको घोषणा गर्नेछन् । जुनियर रेडक्रस सर्कल महेन्द्र उच्च मावि, नयाँबजारका संरक्षक एवम् विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रेडक्रस कास्कीका सभापति वामदेव ढुङ्गाना, रेडक्रस केन्द्रीय कार्यालय प्राथमिक उपचार महाशाखाका टिकाराज पौडेल, कलाकार गोपाल श्रेष्ठ, सर्कल अध्यक्ष सुनिता शाक्य लगायतले सडक दुर्घटना न्युनिकरणमा विद्यार्थीको भूमिका रहेको बताएका थिए । दिवसकै अवसरमा निवन्ध प्रतियोगिता, स्वयंसेवक भेला, रेडियो तथा टेलिभिजनमा परिसंवाद, पत्रपत्रीकामा लेख रचना प्रकाशन, ¥याली, प्राथमिक उपचार तालिम प्राप्त स्वंयम सेवकहरुबिच प्रतियोगिता, जेष्ठ नागरिकहरुलाई प्राथमिक उपचार परिचय लगायतका कार्यक्रमहरु तय गरिएको प्राथमिक उपचार समितिका संयोजक सूर्यप्रसाद ढकालले जानकारी दिए । प्रत्येक वर्ष मनाइने कार्यक्रमले जनसमुदायमा चेतनाको अभिवृद्धि, चासो जगाउनुका साथै प्राथमिक उपचारको महत्ववारे प्रचारप्रसार हुन सहयोग पुग्ने विश्वास गरिएको छ । नेपालमा हालसडक दुर्घटना बाट दैनिक ६ जनाको ज्यान जाने गरेको तथ्यांक छ । सडक दुर्घटनाका साथै विपदमा प्राथमिक उपचारको ठूलो महत्व रहन्छ ।
Post a Comment