गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका वडा नं. १६ लामाचौरमा रहेको नवआदर्श सामुदायिक विकास समाजले तीन दिने हरितालिका तीज महोत्सव तथा राष्ट्रिय महिला भलिवल प्रतियोगिता आयोजना गर्दैछ । महोत्सव यहि भदौ २८, २९ र ३० गते लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी उच्च माविको मैदानमा सञ्चालन हुनेछ । उक्त महोत्सव तथा प्रतियोगिताको केही समान्य काम बाहेक सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । महोत्सव मूल आयोजक समिति र विभिन्न उपसमितिले तयारीलाई तीव्र पारेको र तयारी पूरा भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मलेलनमा जानकारी गराइएको हो । कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा आयोजना गरिने सांस्कृतिक तथा खेलकुद कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्वनमा समेत टेवा पुग्ने विश्वास लिइएको संस्थाका अध्यक्ष धर्ममानसिंह भण्डारीले जानकारी दिए ।महोत्सवको आकर्षणमा राष्ट्रिय महिला भलिबल प्रतियोगितासहित अन्तर मावि छात्रा भलिबल, तीजगीत प्रतियोगिता, अन्तरमावि लोक नृत्य प्रतियोगिता, महिला म्युजिकल चियर, खुल्ला घैटो फुटाउने प्रतियोगिता, स्रष्टा सम्मान, पत्रकार दौड र ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहने अध्यक्ष भण्डारीले बताए । सांस्कृतिक तथा खेलकुद प्रतियोगितामा झण्डै एक हजार जनाले सहभागिता जनाउने उनले विश्वास व्यक्त गरे । दर्शकले महोत्सव तथा खेलकूद हेर्न टिकटको व्यवस्था गरिएको छ । कास्की जिल्ला खेलकूद विकास समितिका अध्यक्ष याम गुरुङले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार राष्ट्रिय भलिबल प्रतियोगितामा छ र अन्तर मावि छात्रा भलिबल प्रतियोगितामा आठ टीमको सहभागिता रहनेछ । महोत्सवको पहिलो दिन २८ गते खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्ने छन् भने तीज महोत्सवको मुख्य ३० गतेको कार्यक्रम नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले उद्घाटन गर्ने छन् । महोत्सव सम्पन्न गर्न २४ लाख खर्च लाग्ने तथा महोत्सवबाट ३१ लाख आम्दानी हुने अपेक्षा गरिएको छ । झण्डै एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ । पत्रकार सम्मेलनमा खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङका साथै संस्थाका पूर्व अध्यक्ष सञ्जयकुमार अधिकारी, खेलकुद संयोजक सुशिलकुमार श्रेष्ठ, अर्थ संयोजक एवं संस्थाका प्रथम उपाध्यक्ष बमबहादुर गुरुङ, प्रचार संयोजक अर्जुन अधिकारी लगायतले आ–आफ्ना भनाइ राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव लक्ष्मी पाण्डेले गरेकी थिइन् ।
महोत्सवमा स्थानीय एवं राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुले विभिन्न प्रस्तुति प्रस्तुत गर्ने बताइन्छ ।
महोत्सवमा स्थानीय एवं राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुले विभिन्न प्रस्तुति प्रस्तुत गर्ने बताइन्छ ।
Post a Comment