गोल्डेन न्यूज संवाददाता
पोखरा पिस क्लवद्वारा आयोजित नवौं पोखरा पिस क्रिकेट कप २०७२ अन्तर्गत मंगलबार भएको खेलमा अल इन वान क्रिकेट क्लवले लामाचौर क्रिकेट क्लवलाई ७ विकेटले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिले क्षेत्ररक्षण गर्ने अल इन वानका कप्तान राजन थापाको निर्णयलाई सही सावित गर्दै लामाचौर क्रिकेट क्लवलाई १४ ओभरमा ८६ रनमा समेटेको थियो । लामाचौरका राजेश शाहीले १९ रनको योगदान गरे भने अल इन वानका विवेक तिवारीले ३ विकेट लिन सफल भए । ८७ रनको झिनो लक्ष्य पाएको अल इन वानले १३ ओभरमा ३ विकेट गुमाएर उक्त लक्ष्य पार गरेको थियो । जसमा मनोज कोइरालाले ३६ रन र प्रदीप धिवरले १५ रनको योगदान गरे । अल इन वानका विवेक तिवारी उक्त खेलको म्यान अफ दी म्याच घोषित भए ।मंगलबार नै स्याङ्गजा युनाइटेड ब्वाइज क्रिकेट क्लव स्याङ्गजा र पोखरा क्रिकेट क्लव पोखराबीच भएको अति नै प्रतिस्पर्धात्मक खेल टाइ भएर सुपर ओभरमा पुगेपछि वर्षाका कारण सुपर ओभरको खेल बिहीवार बिहान ८ः३० बजे हुनेछ । पोखरा पिस क्रिकेट कपको इतिहासमा टाइ भएको यो पहिलो इतिहास हो । टस जितेर पहिले ब्याटिङ्ग रोजेको पोखरा क्रिकेट क्लवले २० ओभर पूरा खेल्दै ७ विकेटको क्षतिमा १ सय ७८ रनको योगफल तयार पारेको थियो । उक्त योगफल तयार पार्नमा विधान श्रेष्ठले ६७ रन र अनिल गुरुङ्गले ३८ रनको योगदान दिए । स्याङ्गजा युनाइटेड ब्वाइजका विश्व थापाले २ विकेट हात पारे । १ सय ७९ रनको लक्ष्य पछ्याउने क्रममा स्याङ्गजा युनाइटेड ब्वाइजका विमल तिवारीले ५२ रन र आँसु गुरुङ्गले ३८ रनको योगदान दिए । अन्तिम ५ बलमा स्याङ्गजा युनाइटेड ब्वाइजलाई जितका लागि १३ रन र पोखरा क्रिकेट क्लवलाई १ विकेट आवश्यक हुँदा स्याङ्गजा युनाइटेड ब्वाइजले १२ रन जोड्दै खेल टाइ बनाएको हो । पोखरा क्रिकेट क्लवका अमृत र विपिनले २÷२ विकेट लिएका थिए । पहिलो खेलमा म्यान अफ दी म्याच अल इन वानका विवेक तिवारीलाई कास्की क्रिकेट संघका सहसचिव भोज गुरुङ्गले ट्रफी प्रदान गरेका थिए । प्रतियोगिता अन्तर्गत बुधबार क्वाटरफाइनलका २ खेल हुनेछन् । पहिलो खेल बिहान ९ः१५ बजे आयोजक पोखरा पिस क्लव ए र पोखरा वारियर्स क्लवका बीच र दोस्रो खेल धौलागिरी क्रिकेट क्लव बाग्लुङ्ग र एमसीसीका बीच हुने आयोजक क्लवका दिनेश के.सी.ले जानकारी दिएका छन् । प्रतियोगिता मालेपाटनको खेल मैदानमा भैरहेको छ ।
Post a Comment