0
गोल्डेन न्यूज संवाददाता
पोखरा अमरसिंहचोक स्थित बंगुर वृडर कृषक सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभाले अझै एक वर्ष समय रहेको कार्यसमिति भंग गरी नयाँ कार्यसमिति चयन गरेको छ । सहकारीको मंगलबार सम्पन्न साधारणसभाले कानुनी सल्लाहकार योगबहादुर आचार्यलाई अध्यक्षमा चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा ननश्री थापा, द्वितीय उपाध्यक्षमा दिनेशमान गुरुङ, सचिवमा सीताराम भण्डारी, सहसचिवमा जंगबहादुर थापा, कोषाध्यक्षमा विष्णु गुरुङ, सदस्यहरुमा कर्णकुमारी थापा, लालकुमारी थापा, लक्ष्मी थापा र थानबहादुर गुरुङ तथा व्यवस्थापकमा मोहन थापालाई नै निरन्तरता दिएको छ । समितिले चुस्त र प्रभावकारी ढंगले अघि बढ्नुपर्ने दायित्व बोध गरी नयाँ कार्यसमिति गठन गरिएको सहकारीले जनाएको छ । पाँच वर्ष अघि लेखनाथ ५ विजयचोकमा स्थापित सो सहकारीले गत वर्षदेखि अमरसिंहमा सरेर दाना उद्योग समेत सञ्चालनमा ल्याईसकेको छ भने यही वर्ष पोखरा पृथ्वीचोक स्थित यातायात कार्यालय जाने बाटोमा कृषक फ्रेश हाउस एण्ड मिट सप्लायर्स सञ्चालनमा ल्याएको छ । साधारणसभामा बोल्दै प्रमुख अतिथि जिल्ला पशु सेवा कार्यालय कास्कीका प्रमुख डा. राकेश प्रजापतिले सरकारले पिग मिसन कार्यक्रम संचालन गर्ने बताए । बंगुरको उत्पादनदेखि बजारसम्म एक चेन सिष्टम बनाउनु नै यस मिसनको उद्देश्य भएको उनको भनाई छ । ‘सच्चा कृषकहरुले आफ्नो दुःखको ज्याला समेत नपाईरहेको अवस्था छ । वास्तविक किसानले प्रतिफल पाउनका लागि यो मिसन अघि सारिएको हो ।’ उनले भने । बंगुरको लागत मूल्य घटाउन पनि लागिपरेको उनको भनाई छ । पशु विकास फार्म, लामापाटनका प्रमुख मणिकुमार श्रेष्ठले यही वर्षभित्र मुलुकलाई खोरेतमुक्त घोषणा गर्ने अभियानमा रहेको र यसपछि नेपालमा उत्पादित बंगुरहरु नेपाल बाहिर पनि निर्यात गर्न सकिने बताए । उनले नश्ल सुधार, उचित तालिमको प्रबन्ध, दबाईपानी सहयोगमा आफूहरु सदैव साथमा रहने बताए । कार्यक्रममा सिप्रेड प्रोजेक्टका डा. राजेश चौधरी लगायतले बंगुर व्यवसायका बारेमा बोलेका थिए । संस्थाका अध्यक्ष मिनबहादुर घलेको अध्यक्षतामा भएको साधारणसभामा सचिव सीताराम भण्डारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्षको तर्फबाट व्यवस्थापक मोहन थापाले आयव्यव विवरण प्रस्तुत गरेका थिए । २०६७ सालमा स्थापित सहकारीमा करिब चार दर्जन बंगुर पालक सदस्यहरु आबद्ध छन् ।

Post a Comment

 
Top