दुई दशकपछि नेपालले फुटबलमा अन्तर्राष्ट्रिय उपाधि हात पार्न सफल भएको छ । १९ वर्षमुनिको साफ च्याम्पियनसिपममा भारतलाई पराजित गर्दै नेपालले उपाधि जित्न सफल भएपछि अहिले राष्ट्र नै खुशी भएको अवस्था छ । नेपालले विगतदेखि थुप्रै अन्तर्राष्टियस्तरका खेलहरुमा भाग लिएपनि च्याम्पियनसिपको उपाधि हात पार्न सकेको थिएन । खेलप्रेमीहरुको लागि यो सफलताले नयाा उत्साह थपेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा हामी सफलताका लागि चासोका साथ हेरिरहेका हुन्छौं । तर उपाधि जित्नका लागि सानो मेहनत र लगानीले पुग्दैन । धेरै प्रतियोगितामा भाग लिए पनि नेपालले विगतमा उपलब्धिमूलक जीत किन हासिल गर्न सकेन ? भनेर समीक्षा गर्ने समय आएको छ । खेल जित्नको लागि प्रतियोगिताका बखत मात्र कडा मेहनत गरेर पुग्छ त ? यस विषयमा खेल क्षेत्रमा सरोकार राख्नेहरुले गम्भीर भएर सोच्नुपर्ने देखिन्छ । ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ नारा नै बनेको छ । खेलले मुलुकको राष्ट्रियतालाई संसारमा चिनाउने मात्र होइन, स्वयं खेलाडीको स्वास्थ्यमा समेत फाइदा पुग्छ । नेपालमा अहिलेसम्म खेल क्षेत्रको समुचित विकास हुन सकेको छैन । लगानीबिनाको प्रतिफलको अपेक्षा गर्नु वस्तुसंगत मानिदैन । हामीले प्रतियोगितामा उपाधि जित्नको लागि विगतमा त्यो क्षेत्रमा कत्तिको लगानी गरेका छौं भनेर हेर्न जरुरी छ । नेपाली खेलाडीहरुका लागि उपाधि जित्न थुप्रै चुनौतिहरु देखिएका छन् । लामो समयसम्म अभ्यासमा संलग्न नहुनु, खेल क्षेत्रमा चरम राजनीतिकरण हुनु र खेलाडीको छनौटमा पक्षपात देखिनु नै नेपली खेल क्षेत्रको मुख्य समस्या बन्दै आएको छ । विश्वका सबैजसो देशहरुमा खेलकूद क्षेत्र राज्यको प्रमुख लगानीको क्षेत्र बनेको छ । तर हाम्रो नेपालमा खेलमा अपेक्षाकृत लगानी हुन सकेको छैन भने भएको लगानी पनि उपलब्धिमूलक हुन सकेको छैन । विद्यालय तहदेखि नै खेल क्षेत्रमा लगानी गर्दै जाने हो भने हामी भविष्यमा यस्ता खाले थुप्रै राष्ट्रिय उपाधिहरु जित्न सक्छौं । अहिले पनि हाम्रा कैयौं विद्यालयहरु खेल सामग्रीबिहीन छन् । खेल भनेको नियमित अभ्यासबाट सफलता मिल्ने क्षेत्र हो । नियमित अभ्यासबिना एकैपटक प्रतियोगिताको समय नजिकिदै गर्दा गरिएको अभ्यासले सफलताका लागि योगदान पु¥याउन सक्दैन । खेल क्षेत्र विशुद्ध क्षमता र प्रतिभा देखाउने क्षेत्र भए पनि अहिले यहाँ चरम राजनीतिकरण भइरहेको छ । खेलकूद क्षेत्रमा खेल विशेषज्ञहरुले नेतृत्व समाल्नुपर्ने अवस्थामा राजनीतिक नियुक्तिबाट आफ्नालाई ल्याउने काम भइरहेको छ । सीमित अबधिमा आफ्नालाई जागिर खुवाउनका लागि यसले केही सहयोग पुगेपनि समग्र खेल क्षेत्रको हित गर्दैन । पार्टीगत र राजनीतिक मात्र होइन व्यक्तिवादी सोच हावी हुँदा पनि हामीले खेल क्षेत्रमा अपेक्षाकृत उपलब्धि हासिल गर्न सकेका छैनौं । अन्तर्राष्ट्रियस्तरका खेलमा खेलाडी छनौट गर्दा वास्तविक क्षमता भएकाहरुलाई भन्दा आफ्ना नातागोता र पहँुच भएका व्यक्तिहरुले अवसर पाउने प्रचलन छ । यसले गर्दा वास्तविकरुपमा क्षमता भएको खेलाडी अवसरबाट बञ्चित त हुन्छ, त्यसको साथसाथै अन्तर्राष्ट्रियस्तरमा हाम्रा खेलाडीहरुले मुलुकको साख बचाउन सक्दैनन् । सरकारले अब विद्यालय तहबाटै खेल क्षेत्रको विकास गर्नुपर्छ । पछिल्लो समय क्रिकेटमा नेपालले केही सफलता हात पारिरहेको छ । यो सफलतालाई कायम गर्नको लागि घरेलु मैदानमा खेलाडीहरुको अभ्यासलाई निरन्तरता दिनुपर्छ । उचित खेल मैदानको अभावमा हाम्रा खेलाडीहरुले नियमित अभ्यास गर्न पाउँदैनन् । खेल क्षेत्रमा लामो समय खर्चिसकेका खेलाडीहरुको उचित सम्मान हुन सकेको छैन । खेलाडीहरुको पारिश्रमिक पनि न्यून रहेको छ । लामो समय खेल क्षेत्रमा समय खर्च गरिसकेका व्यक्तिहरुको भरणपोषण र उनीहरुको भविष्यको विषयमा राज्यले सोच्नैपर्छ । मुलुक चरम ध्रुबीकरण र विभिन्न बहानामा विभाजित भएको बेला खेल क्षेत्रको यो जीतले एकपटक सबैलाई एकताको सन्देश दिएको छ । खेल एउटा यस्तो क्षेत्र हो जसले सबैलाई एउटै केन्द्रमा गोलबन्द गर्न सक्छ । खेल र खेलाडीको उचित सम्मान गर्न सकेको खण्डमा तथा उनीहरुको विकासका लागि आर्थिक, भौतिक र मानसिकरुपमा सहयोग गर्न सकेमा आगामी दिनमा यस्ता थुप्रै सफलताहरु हात पर्नेमा द्विविधा छैन ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment