गोल्डेन न्यूज संवाददाता
पोखराको गौरव विन्ध्यावासिनी मन्दिरको मुख्य प्रतिमा खिइँदै गएपछि दर्शनार्थीहरुलाई बाहिरवाटै दर्शन गरेर फर्कने गरी नयाँ ब्यबस्था गर्न लागिएको छ । डेढ सयबर्ष अघिको विन्ध्यावासिनी माताको प्रतिमा जोगाउन मुस्किल भएपछि प्रदक्षिणपथ निर्माण गरी बाहिरबाटै दर्शन गरेर फर्किने ब्यबस्था गर्न लागिएको हो । प्रतिमा जोगाउनकै लागि दुई साता अघिबाट प्रदक्षिणपथ निर्माणको काम सुरु भैसकेको छ । डेढ करोड भन्दा बढीको लागतमा मुल मन्दिरलाई घेरेर प्रदक्षिणपथ निर्माण गर्न लागिएको बिन्ध्यावासिनी धार्मिक क्षेत्रविकास समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले जानकारी दिए । पिस पोखरा डटकमले जनाए अनुसार प्रदक्षिणपथमा कलात्मक देविका मूर्तिहरु पनि राखिने भएको छ । एक पटकका झण्डै दुईसय दर्शनार्थी लामबद्ध हुन सक्ने क्षमताको प्रदक्षिणपथ घाम पानी बाट पनि जोगिने गरी निर्माण गर्न लागिएको हो । समितिका सचिव तीर्थ श्रेष्ठका अनुसार संरचना निर्माणको काम आगामी दशंै सम्ममा सक्काउने लक्ष्य छ । तर सौन्दर्यीकरणको काम सक्न भने झण्डै एक बर्ष लाग्ने अनुमान गरिएको छ । संरचना निर्माणको काम दशैसम्ममा सक्काउने लक्ष्य हो’, श्रेष्ठले भने ‘सौन्दर्यीकरणको काममा समय लाग्छ । दर्शनार्थीले अहिले मन्दिर भित्र गएर मूल प्रतिमामा आफै पूजा गर्न सक्छन् । तर दर्शनार्थीले चढाएको पानी, अविर लगायतका बस्तुले माताको प्रस्तर (प्रतिमा) खिईदै गएपछि त्यसको अस्तित्वनै समाप्त हुने खतरा बढेर यो विकल्प अघि सारिएको हो । बाहिरबाटै दर्शन गरेर फर्किने गरी नयाँ ब्यबस्था लागू गर्नेबारे संस्कृति मन्त्रालय, पुरातत्व विभागलाई आवश्यक जानकारी गराईसकिएको छ । ‘मूर्ति क्षयीकरण भैसकेको छ, जुन भगवानको पुूा गर्न जाने हो त्यहि भगवानको क्षयीकरण हुनेगरी पूजा गर्नु औचित्वपूर्ण छैन । सचिव श्रेष्ठले भने । मूर्तिलाई पुरानो यथावत स्वरुपमा ल्याउन बिषेशज्ञको खोजी भैरहेको उनले बताए । समितिले प्रतिमा जोगाउन केहि बर्ष देखि दर्शनार्थीको बढी भीड हुने दशैंको नवरात्रीभर बाहिरबाटै दर्शन गरेर फर्किने ब्यबस्था गर्दै आएको थियो । दशैं लगतै नयाँ ब्यबस्था लागू गर्ने तयारी भैरहेको छ । सचिव श्रेष्ठका अनुसार प्रतिमामा रहेको देवीको चाँदीको आँखा पनि मेटिन लागेको छ । ‘मुख पनि क्षतिग्रस्त अवस्थामा छ, खुट्टा भन्दा तलको भाग पनि क्षतिग्रस्त भएपछि रुमालले छोपेर नदेखिने गरी पूजा भैरहेको छ । सचिब श्रेष्ठले भने । दर्शनार्थीले चढाउने कतिपय बस्तुमा हुने केमिकलले प्रतिमा खिईएको समितिले जनाएको छ । प्रतिमा खिईदै गएको जानकारी पाएपछि आएको पुरातत्व विभागको टोलीले पनि मर्मत गर्न नसकेपछि प्रतिमा जोगाउन वाहिरबाटै दर्शन गर्ने गरी नयाँ व्यवस्था गर्न स्विकृति मागिएको हो । मर्मतको लागि आएको पुरातत्व विभागको टोलीले मन्दिर परिसरमै रहेको गणेशको प्रतिमामा भएको क्षति भने मर्मत गरेर फर्किएको थियो । पोखराका पुराना कलाकार कृष्ण प्रसाद श्रेष्ठले बनाएको विन्ध्यावासिनी माताको प्रतिमाको आकार हेरी मर्मतको प्रयास भएपनि टोली सफल हुन सकेन । सुरक्षाको उपाय नअपनाउने र यहि गतिमा प्रतिमा खिईदै जाने हो भने अबको १० बर्षमा विन्ध्यावासिनी माताको प्रतिमा पूर्ण रुपमा क्षतविक्षत हुने श्रेष्ठले बताए । विन्ध्यावासिनीको प्रतिमा जोगाउन चादीले ढाकेर त्यस्तै स्वरुप बनाउने अस्थायी उपाय पनि अपनाउन सकिने भएपनि स्थायी रुपमा जोगाउन मुर्तिलाई छुन नदिई दर्शन गर्ने र परिक्रममा मात्रै गर्ने ब्यवस्था उपयुक्त हुने समितिको ठहर छ । सरकारले विन्ध्यावासिनी मन्दिरको तस्विर अंकित हुलाक टिकट यसअघिनै प्रकाशनमा ल्याएको थियो । मन्दिरमा कास्कीसंगै यस आसपासका जिल्लाहरु तनहु, लमजुङ, स्याङजा ,पर्बत लगायत काठमाण्डौ तथा छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।
Post a Comment