गोल्डेन न्यूज संवाददाता
अहिलेको प्रविधिको युगमा स्र्माटफोन प्रायः सबैको हात हातमा हुन्छ नै । बजारमा आएका स्र्माटफोनहरुको अपरेटिङ्ग सिस्टम मा एन्ड्रोईडले कुल बजारको ७० प्रतिशत हिस्सा ओगटेको छ । यहि अपरेटिङ्ग सिस्टमा मा आाधारित रहेर पोखराका एक युवाले गेमको निर्माण गरेका छन । ५ वर्ष अघिदेखि वेबसाईट डिजाईन र अन्य एप्सहरु बनाउदै आएका लेखनाथका नविनराज आचार्यले हालैमात्र मोबाईलमा गेम खेल्नेहरुको रुचिलाई मध्यनजर गर्दै गोर्खाली हेलिकोप्टर कम्व्याट गेमको निर्माण गरेका हुन् । केहि दिन अघि मात्र गुगल प्ले स्टोरमा रिलिज गरिएको यो गेमको अहिलेसम्म ५ हजारको हाराहारीमा डाउनलोड भईसकेको उनले बताएका छन् । पोखरा विश्वविद्यालयबाट वि.वि.ए. को अध्ययन सकाएको भएता पनि रुचिले आई.टि. तिर लागेका उनले अहिलेसम्म १३० भन्दा बढि वेबसाईट र ३० भन्दा बढि एप्सहरु निर्माण गरिसकेको बताउँछन । उनका ‘नेपाली पन’, ‘हाम्रो नेपाल’ लगायतका एप्सहरु अहिले निकै चर्चित छन । अनलाईनबाट अध्ययन गरेर नै उनी वेबसाईट र एप्सहरुको निर्माणमा लागेका हुन । अनलाईन मार्केटमा अहिले नेपाली एप्स डेभलपर हरुको संख्या ज्यादै नै न्यून रहेको र आफूले निर्माण गरेको गेम पहिलो नेपाली एक्सन गेम भएको पनि उनको दावी छ । गेम खेल्दा निकै फरक खालको अनुभूति हुने र गेम खेलेर १ लाख स्कोर पु¥याउन सक्ने पहिलो १०० जनालाई १०० रुपैंया बराबरको मोवाईलको रिचार्ड कार्ड पुरस्कार स्वरुप प्रदान गरिने पनि उनले जानकारी दिएका छन । लाखौंको संख्यामा अहिले नेपाली युवाहरु विदेश पलायन भईरहेको अवस्थामा कम्प्युटर हार्डवेयर र सफ्टवेयरको राम्रो ज्ञान भएका उनको भने आई. टि. क्षेत्रमा नै रहेर देश र समाजको लागी केही गर्ने सोच रहेको छ । उनी भन्छन्–‘अहिले धेरै साथीहरु नेपालमा केही छैन, काम गर्ने वातावरण नै छैन भन्दै विदेशतिर पलायन भईरहेका छन, यसो हुनु समाज र राष्ट्रका लागि दुर्भाग्य हो, शिक्षित युवाहरु विदेश तिर पलायन हुँदा अहिले देशमा दक्ष जनशक्तिको समस्या छ । केही समयको लागि केही मानिसहरु आर्थिक रुपमा सम्पन्न त होलान, तर दुरगामी रुपमा यसले देशलाई अँध्यारोतिर धकेल्छ, गर्न सके नेपालमै प्रशस्त सम्भावना र अवसरहरु रहेका छन् ।’ उनले वेवसाईट डिजाईनिङ्ग र एप्सबाट राम्रै कमाई पनि गर्ने गरेका छन । केही समयपछि नै वेवसाईट डिजाईन र एप्स डेभलपिङ्ग सम्वन्धी तालिम पनि सञ्चालन गर्ने उनको सोच छ ।
Post a Comment