गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेस कास्कीका नेता तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य रामजी पौडेल बादलको निधन भएको १३औं दिन मंगलबार नेपाली कांग्रेस कास्कीले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । पौडेलको निवास लेखनाथ नगरपालिका गगनगौंडामा हुने श्रद्धाञ्जली सभामा भाग लिन नेपाली कांग्रेस उपसभापति एवं पूर्व उपप्रधान मन्त्री रामचन्द्र पौडेल सहितका नेताहरु आउने कार्यक्रम छ । जस अनुसार कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बालकृष्ण खाँड, केन्द्रीय सदस्य एवं सभासद जीवन परियार र अर्का केन्द्रीय सदस्य तथा सभासद धनराज गुरुङ लगायत अन्य नेताहरु पनि सहभागी हुने बताइन्छ । सरकारमा रहेका केही मन्त्री तथा कांग्रेस नेताहरु समेत आउने भनिएपनि मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण मन्त्री हरुको सहभागिता भने अनिश्चित छ । पौडेलको लेखनाथ नगरपालिकामा कांग्रेसको अधिवेशनका सम्बन्धमा उत्पन्न विवादलाई समाधान गर्न भनि छलफलमा बसे लगत्तै रातिको समयमा हत्या गरिएको थियो । हत्यामा संलग्न रहेको आरोपमा कांग्रेसका कार्यकर्ता राजु रानाभाट पक्राउ परेका छन् भने प्रकाश गुरुङ, विश्वास गौतम र रविन केसी लगायत केही फरार रहेका छन् । प्रहरीले फरार अपराधीको खोजी जारी राखेको छ । टेलिफोन सम्पर्कका आधारमा फरार अभियुक्तहरु संग सम्पर्क भएको भन्दै नवल परासी लगायत कास्कीको अन्य केहीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको भएपनि त्यस बारेमा अझैसम्म जानकारी दिएको छैन । यसै घटना योजनामा संलग्न रहेको अभियोगमा लेखनाथ कांग्रेसका सभापति राजेन्द्रमणि लामिछाने पनि प्रहरी हिरासतमा छन् । लामिछानेको पक्राउलाई लिएर कतिपयले उनलाई फँसाउन खोजिएको टिप्पणी गरेका छन् भने कतिपयले हत्या योजनामा उनको संलग्नता रहेको आरोप लगाएका छन् । कास्कीका सबैजसो कांग्रेस नेताहरुले हत्यामा संलग्न बास्तविक दोषी यथाशीघ्र पत्ता लगाएर कार्वाही गर्न माग गरेका छन् । उनीहरुले कांग्रेसभित्रको एकतालाई कमजोर पार्ने र खल्वल्याउने प्रवृत्तिबाट सजग रहन सबैसंग आग्रह गरेका छन् ।
Post a Comment