कतै सुनेको थिए, भाग्यमानी मान्छेसमेत जिन्दगीमा एक पटक बाबुआमा मरेपछि टुहुरो बन्छ । अभागी मान्छे बाबुआमा हुँदाहुँदै पटक–पटक टुहुरो हुन्छ । आज सुमित्रा न्यौपानेको नविनतम् कथासङ्ग्रह आँखा र आँखाहरू अध्ययनको मेलो थाल्दा यो वाक्यांशको झल्यास्स याद आयो । उनका १३ थान कथाहरू कोही भाग्यमानी हुँदाहुँदै पनि कालगतीले बाबुआमा मरेर टुहुरा बनेका सन्दर्भ आएका छन् । कोही अभागी भएर पटक–पटक टुहुरा भएका छन् । आफ्नै आँखाले देखेका, हृदयले छामेका र स्नेहले पुल्पुल्याएका पात्र, परिवेश र उनका जीवन कहानी देखेरै हुनुपर्छ न्यौपानेको कलम यसरी अगाडि बढेको । हाम्रै गाउँ समाजका विभिन्न पात्रहरूका जीवनमा घटेका घटनाहरू उनका कथाका विषयवस्तु बनेका छन् । आउँदा नाङ्गै आइयो, जाँदा नाङ्गै जानुछ त्यसैले ‘संत दर्शन’ पृष्ठ ११४ मा स्वामी आनन्द अरूण लेख्छन् ः ‘मेरो लासबाट दुवै हात बाहिर निकालिदिनु, म चाहन्छु संसारले राम्रोसँग देखोस् र बुझोस् कि सिकन्दरले पनि केही लान सकेन । ऊ पनि खाली हातै जानुप¥यो ।’ कृति भित्रका केही कथाहरूले सबैलाई यही सन्दर्भ सम्झाउन सफल भएको हुनुपर्छ । न्यौपानेका कथाहरू पढ्दै जाँदा कतै हिजो बालादिनमा बाबुआमाले भनेका न्याउरी मारी पछुतोको याद दिलाउछन् । कोही घर परिवारको खुशीका लागि परदेश गएका पल्ला घरे साइला दाइ, माथिल्ला घरे बाटुली, चम्पा र चमेलीका सन्दर्भहरू, सबै उनका कथामा अटाएका छन् । विषयगत विविधता कथामा पाइन्छ । जहाँ विविधता हुन्छ, त्यहाँ सुगन्ध फैलिन्छ । यसैले कृति अध्ययन गर्न बस्दा एकै बसाइमा सकौ–सकौ भन्ने सुगन्ध फैलिइरहन्छ । सपना र पलाँसहरूबाट थालिएको यात्रा बन्द आवरण, आँखा र आँखाहरू, सम्बन्ध, नियति, अदिति, अनभिज्ञता, रगतको नाता, अधिकार, सतिसाल, विवाहित कुमारी, प्रारब्ध र फैसला शीर्षकमा आफ्नो फैसला सुनाएकी न्यौपानेका १३ थान कथा सामाजिक चिन्तन बोकेका कथाहरू हुन् । उनका केही कथा अध्ययन गर्दै जाँदा ज्यादै घतलाग्दा सन्दर्भहरू पनि आएका छन् । जो हामी दिनदिनै जस्तो देखिरहेका छौं, हाम्रै टोलछिमेकमा त्यस्तै प्रकृतिका घटनाहरू घटिरहेको सुनिरहेका छौं । घटना घटनु र कथा बन्नु लेखकीय धर्म हो । बजारमा छरिएपछि पढेर प्रतिक्रिया व्यक्त गर्नु पाठकीय कर्म ।दाम्पत्य धर्मको सर्वगुण सम्पन्न र आफ्नो पतिको आम्दानीअनुसार विवेकपूर्ण खर्च गर्ने पत्नी नै गृहस्थ जीवनमा सही सहधर्मिणी हुन् भनिन्छ । त्यो भनिए तापनि न्यौपानेका कथामा केही सहधर्मिणीहरूले आफ्नो नैतिक गुण पालन गर्दा गर्दै पनि श्रीमानको जिद्धीले दुःख पाएका सन्दर्भ पनि कथामा आएका छन् । मानव जीवन अनौठो प्रकृतिको हुन्छ । किनकि कर्तव्यबाट विमुख हुने मान्छे आइपर्न सक्ने विपत्तिको विरूद्ध केही सोच्दैन र जब विपत्तिले घेरिन्छ त्यस बेला उसले आफ्नो उदासीनताप्रति विलाप गर्नुपर्ने हुन्छ । ती कर्तव्य पूरा गर्न नसक्नेहरूको उदासीनता पनि कथामा छताछुल्लै भएर पोखिएको पाइन्छ । आम नेपालीहरूले झण्डै एक दशक सशस्त्र द्वन्द्वको त्रासदी भोग्नु प¥यो । त्यो अवधिमा कति आमाका काख रित्तिए । कति दिदीबहिनीका हातका चुरा र सिउँदोका सिन्दुर खोसिए । कति छोराछोरी अभिभावकविहिन बन्न पुगे । कति आर्थिक र भौतिक क्षति भयो । त्यसको कुनै लेखाजोखा रहेन । हिजो द्वन्द्व गर्नेहरूले यही हजार नेपाली जनताको बलिदानी र त्याग भन्दै भाषण पटक–पटक छाट्ने गरे तापनि यती हजार आमा र बाबुको चित्कार, करूणा, रोदन, पीडा, व्यथा र यति करोडौंको क्षती भनेर उनीहरूले कहिल्यै फलाकेनन् । तिनै करौंडौ मूल्यसँग तुलना गर्दा पनि नमेटिने चित्कारसमेत न्यौपानेको प्रस्तुत कृति भित्रका कथामा पाइन्छ । उनको फैसला कथा अध्ययन गर्दै गर्दा विगतको दर्दनाक चित्कारको तस्विर जो कसैको आँखा अगाडि आएको हुनुपर्छ । कथामा प्रयोग गरिएको भाषाशैली सरल, सहज र सरस छ । पाठकले एकै बसाइमा पढेर कथाको सारतत्व ग्रहण गर्न सक्ने भाषाको प्रयोग उनको सवल पक्ष हो । छोटा–छोटा वाक्य गठनले पढ्नमा सहजता पैदा गरेको छ । ग्रामीण भेकको चरित्र चित्रण कथामा पाइन्छ । कथाका विषयवस्तु आफू जन्मेको, हुर्केको, बाँचेको र हासखेल गरेको परिवेशमा घुमेका छन् । केही कथाहरूमा संस्मरणात्मक शैलीको प्रयोग भएको पाइन्छ । आयामका हिसाबले कृतिका कथाहरू, चार, पाँच, छ, सात, आठ, नौ १०, ११, १३ र १४ पृष्ठसम्म फैलिएका छन् । कृतिको सबैभन्दा छोटो कथा अदिति हो । जुन जम्मा चार पृष्ठमा संरचित छ । यस्तै कृति भित्रको लामो कथा बन्द आवरण, जुन १४ पृष्ठसम्मको संरचनामा फैलिएको छ । कथाहरू लामा छोटा जस्ता रहे तापनि कृति अध्ययनका क्रममा कुनै उल्झन फेला पर्दैन । सहजै अनुभुत गर्न सकिने, आफ्नै गाउँ टोलमा भइरहेका, हुँदै आएका र भइरहने घटनाहरूको नालिवेली नै उनका कथाका विषयवस्तु बनेकोले कथाहरू सरल छन् । देशको वर्तमान परिवेशमा देखिएका विविध समस्याहरूलाई छताछुल्ल पारिएको छ । नातावाद, कृपावाद र कुरावादले गाँजेको समाजको चित्रण गरिएको छ । सामाजिक र राष्ट्रवादी चेतना तथा आशावादी दृष्टिकोण उनका प्रवृत्तिगत विशेषता हुन् । आँखा र आँखाहरू शीर्षकको शीर्ष कथा नै कृतिमा समावेश छ । उनको प्रस्तुत कथा मात्रले भन्दा पनि सम्पूर्ण कथाहरूले शीर्षकको सार्थकता दर्शाएका छन् । लेखकका आँखाले देखेका आँखाहरूको कथा र व्यथा व्यक्त गरिएको हुँदा पनि शीर्षक सार्थक रहेको पाइन्छ । कृतिका राम्रा नराम्रा पक्ष सबैका हुन्छन् । सचेत हुँदाहुँदै सामान्य त्रुटि भइ नै हाल्छन् । न्यौपानेका कृतिमा झिनामसिना समस्याहरू देखिन आएका छन् । कथाहरूमा कहीँकहीँ वाक्य गठनमा त्रुटि र अस्पष्टता देखिन्छ । पात्र विधानमा केही समस्या देखिएका छन् । उनको पहिलो कृति भएकाले पनि हुनसक्छ । उनका अधिकांश कथाहरूमा संवाद र द्वन्द्व पक्षको कमी रहेको छ । कथाहरू संवादमा भन्दा वर्णन पक्षमा बढी केन्द्रीत छन् । जसबाट कथाहरू निबन्धात्मक पाराका बन्न पुगेका छन् । केही कथाहरू चरम उत्कर्षमा पुगिसकेपछि विषयवस्तु लाई अगाडि बढाइरहदा कथाको मर्म खस्केको अनुमान गर्न सकिन्छ । कल्पनाको संसारमा डुल्न र कलम डुलाउन सबैलाई आनन्ददायक नै हुन्छ तर न्यौपानेका केही कथाहरूमा स्वरैकल्पनाको मात्रा आवश्यकता भन्दा ज्यादा भएको पाइन्छ । जसले कथाको गुणस्तरलाई खस्काउनेमा दुई मत रहदैन । सामान्य त्रुटिहरूलाई उनले आत्मसात गर्न सकेको खण्डमा उनको कलमको गति कथा लेखनको क्षेत्रमा मनन् योग्य रहेको छ । कथा कृति पढेपछि केही भन्न मन लाग्यो किनकि कानुन नजानेको बदमासलाई कानुन बुझाएर सुर्धान सकिन्छ । कानुन जानेको बदमासलाई सुर्धान सकिँदैन । सोही कारण न्यौपानेलाई नेपाली वाङ्मयको कानुनका कुरा सिकाउनतर्फ लागिन । उनी आफैँ कयौं भाइबहिनीहरूलाई सिकाउछिन् । उनीहरूबाट आफूले पनि सिक्ने गर्दछिन् । उनलाई थाहा छ । मान्छे शिक्षित र शान्त भएन भने । बुद्धिमानी र ज्ञानी बनने भने । मेहेनत र धैर्यै गर्न जानेन भने । हिम्मत र विश्वासलाई तोड्यो भने । विधि र सत्यलाई छोड्यो भने । पतन हुन बेर लाग्दैन । बजारमा धेरै थरी हल्ला चल्न सक्छन् । न्यौपानेले उत्कृष्ट कथासङ्ग्रह प्रकाशन गरी । न्यौपानेले के–के न लेखे भनेकी होली के लेखेको होला ? उनको कृति अध्ययन गर्न लागेको विषयले तान्दै तानेन् । यावद हल्ला बजारमा फैलिइरहन्छन् । उनले त्यो हल्ला चल्ने वातावरणको सिर्जना गरेर छोडेकी छन् । आखिर हल्ला एउटा जीवन्त शब्द हो । मान्छेले जति नै त्यसलाई मूर्तरूप दिन खोजे पनि हल्ला चलिरहन्छ । अबको बाँकी भविष्य कति सुनिश्चित पार्ने डाडु र पन्यू उनकै हातमा छ त्यसैले बाँकी सिर्जनशील जीवनको शुभकामना !
Subscribe to:
Post Comments (Atom)
Post a Comment