0
गोल्डेन न्यूज संवाददाता
पोखरामा चिनियाँ पर्यटक भित्र्याउन पहल गर्न पोखराका पर्यटन व्यवसायीले चिनियाँ संचारकर्मीसँग आग्रह गरेका छन् । भूकम्प पछि पोखरामा चिनियाँ पर्यटक आगमन ठप्प भएकोले यहाँको वास्तविक जानकारी दिलाएर पर्यटक पठाउन सघाउन व्यवसायीले संचारकर्मीसँग आग्रह गरे । पोखरा पर्यटन पूर्नजागरण समिति (पिटिआरसी)ले पोखरा आएका चीनको कुन्मिङ सहरका विभिन्न संचारमाध्यमका संचारकर्मीसँग विहीबार आयोजना गरेको छलफलमा बोल्दै व्यवसायीले भूकम्पपछिको वास्तविक अवस्था बारे सहि जानकारी दिलाउन संचारमाध्यमले सघाउनुपर्ने बताए ।  कार्यक्रममा बोल्दै पिटिआरसी सह संयोजक विश्वशंकर पालिखेले पोखरा र चीनको कुन्मिङ सहरबीच सुमधुर सम्बन्ध रहेकोले पोखरामा चिनियाँ पर्यटक पठाउन सघाउन त्यहाँका संचारकर्मीसँग आग्रह गरे । ‘पोखरामा यतिबेला चिनियाँ पाहुना छैनन । भूकम्पपछि नकारात्मक सन्देश पाएर पोखरामा चिनियाँ पर्यटक आउन डराएका छन’ उनले भने, ‘तर, अब संचारकर्मीले वास्तविक जानकारी दिएर पर्यटकलाई नेपाल घुम्न आउने वातावरण बनाउनुपर्छ ।’ पोखराका संचारकर्मीलाई कुन्मिङ र कुन्मिङका संचारकर्मीलाई पोखरा ल्याउने र लैजाने गरेको खण्डमा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उनको भनाइ छ । दुइ मुलुकका संचारमाध्यलाई आउजाउ गराउन सकेको खण्डमा पर्यटन प्रवद्र्धनार्थ गतिविधिमा टेवा पुग्ने उनले बताए । भूकम्प पछि त्रसित भएर चिनियाँ पर्यटक नेपाल आउन त्रसित भएका छन । चीनले नेपाल घुम्न आउन चाहेका चिनियाँ पर्यटकलाई सचेत गराउँदै हालका लागि नेपाल नघुम्न आग्रह गरेको व्यवसायीको भनाई छ । चीन सरकारको त्यहि सचेतनापछि चिनियाँहरु नेपाल आएका छैनन् । पोखरा आएका संचारकर्मीले पोखरा र आसपासका क्षेत्र सुरक्षित रहेको भन्ने जानकारि दिलाउन सघाउने हो भने चिनियाँ पर्यटक आगमन बढ्ने व्यवसायीको भनाई छ ।  पिटिआरसीका प्रवद्र्धन समिति संयोजक बासुुदेव त्रिपाठीले भूकम्प आएपनि नेपालको सबैतिर नोक्सान नपुगेको बताए । उनले केहि क्षेत्रमा मात्र भूकम्पले असर पारेको बताए । भूकम्पले पर्यटन क्षेत्रमा निकै कम क्षति पुगेको उनले बताए । ‘सबै क्षेत्र ध्वस्त भएको छैन । नेपाल सबै ध्वस्त भएको हो कि भन्ने सन्देश फैलिएको हो । तर, त्यस्तो होइन’ उनले भने, ‘वास्तविकता भन्दा बाहिर गलत सन्देश गएर पर्यटक तर्सेका हुन् । त्यस्तो होईन । पोखरा साहसिक पर्यटकीय गन्तव्यका लागि परिचित रहेको उनले बताए । पोखराको आकाशमा अल्टूालाइट र प्याराग्लाइडिङमा रमाउन चाहने धेरै चिनियाँ पर्यटक हुने गरेकोले पनि उनीहरुलाई पोखरा पठाउन संचारमाध्यमको सहयोग चाहिने उनले बताए । पोखराको आकाशमा हुने साहसिक गतिविधिलाई रुचाएर अधिकांश चिनियाँ पर्यटक पोखरा आउन चाहन्छन् । नेपाल आएका मध्ये धेरै चिनियाँ पर्यटक पोखरा आउँछन् । पोखरा आएका मध्ये करिब ९० प्रतिशत चिनियाँ यहाँको आकाशमा रहेका साहसिक गतिविधिमा रम्न चाहन्छन् । कार्यक्रममा बोल्दै चीनको कुनमिङ नगरका संचार संयोजक यी जियाङरङले नेपालबारे कुन्मिङ सहरका संचारमाध्यमले सहि समाचार दिएर नेपाल आउन चाहने पर्यटकलाई घुम्न आउने वातावरण बनाउने बताए । उनले धेरै चिनियाँ पर्यटक नेपाल घुम्न आउन चाहेको बताए । पोखराबारे फैलिएको गलत सूचनाले पर्यटकहरु घुम्न आउन त्रसित भएको उनले बताए । कार्यक्रममा पर्यटन बोर्ड पोखराकी प्रमुख श्रद्धा श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको प्रर्वद्धनका लागि संचारमाध्यको भूमिका रहेको बताइन । संचारमाध्यबाटै थाहा पाएर पर्यटक आउने भएकोले पोखरा र आसपासको क्षेत्रबारे वास्तविक समाचार सम्पे्रषण गर्न सघाउनुपर्ने उनले बताइन । पोखरामा वर्षमा करिब ६० हजार चिनियाँ पर्यटक आउने अनुमान व्यवसायीको छ । करिब ५ वर्षदेखि पोखरामा चिनियाँ पर्यटकको आगमन बढ्न थालेको हो । चिनियाँ पर्यटक आगमन बढ्न थालेपछि यहाँका व्यवसायीले चिनियाँ रेस्टुरेन्टमा पनि लगानी बढाउन थालेका थिए । चिनियाँ व्यवसायीले आफ्नै मुलुकका पर्यटकलाई लक्षित गरेर पोखरामा लगानी गरेका थिए ।

Post a Comment

 
Top