0
गोल्डेन न्यूज संवाददाता
पोखरामा हुँदै आएको शैक्षिक मेला निकै प्रभावकारी रहेको प्रविधि र शिक्षा क्षेत्रका व्यक्तिहरुले बताएका छन् । तेस्रो ईक्यान शैक्षिक मेलाको समापनको क्रममा उनीहरुले नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीलाई शैक्षिक मेलालाई निरन्तरता दिनुपर्ने सुझाव दिए । विहीबार साँझ ईक्यान कास्कीले विशेष समापन समारोह राखेको थियो । समारोहमा ईक्यानका सदस्यहरु, प्रविधि र शिक्षा क्षेत्रका विज्ञहरुसँग संचारकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्यले विद्यार्थीहरुको शैक्षिक र व्यक्तिगत विकासका लागि ईक्यानले गर्ने मेला निकै सहयोगी भएको बताए । उनले ईक्यानलाई धन्यवाद ज्ञापन गर्दै शिक्षासँग जोडिएको विषयहरुमा जिल्ला शिक्षा कार्यालय कास्कीको तर्फबाट सदैव सहकार्य गर्ने प्रतिबद्धता जनाए । नेपाल टेलिकम पोखराका प्रमुख अनन्तमान सिंहले शैक्षिक मेलाले विद्यार्थीहरुलाई रोजाईको विषय पढ्नुपर्छ भन्ने सोँच विकास गरिदिएको बताए । त्यस्तै हिसान कास्कीका अध्यक्ष बाबुराम पन्तले पनि विद्यार्थीहरुको रोजाई अनुसारको शिक्षा लिनका लागि उचित परामर्श दिने गरि भएको मेला निकै राम्रो भएको प्रतिक्रिया दिए । मेलाको निरन्तरतामा उनले विशेष जोड दिए । विग एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले मेलाको प्रभावकारिता देखेर नै विग एफएमले तीन वटै सँस्करणका शैक्षिक मेलालाई प्रस्तुत गरेको भन्दै  शिक्षाको क्षेत्रमा सहयोग पुग्ने जुनसुकै खालको ईभेन्टमा जोडिने पनि उनले उल्लेख गरे । नेपाल शैक्षिक परामर्श संघका केन्द्रिय महासचिव महेशबाबु तिमिल्सिनाले पोखरा शाखाले सफलतापूर्वक अभिभावक र विद्यार्थीको मन जित्दै गरेको शैक्षिक मेला गरेकोमा खुशी व्यक्त गरे । ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मेलाका संयोजक मिलन तिवारीले धन्यवाद ज्ञापन गरेका थिए । ईक्यान कास्कीका महासचिव सन्दीप अर्यालले कार्यक्रमको संचालन गरेका थिए ।

Post a Comment

 
Top