0
गोल्डेन न्यूज संवाददाता 
पोखरा वडा नं ९ मा अवस्थित सिद्धमार्ग टोलका स्थानीयहरु आफ्नो टोल विकास गर्न आफै लागि परेका छन् । टोल बिकासका लागि चाहिने पूर्वाधारहरु उनिहरुले आफै निर्माण गरेका हुन् ।करिब सय मिटरको पक्की बाटो, एउटा पानि ट्याङ्की र चौतारोको निर्माण टोलबासीहरुले स्वयं पैसा जुटाएर र श्रमदानबाट निर्माण गरेका छन् । सिद्धमार्ग टोल बिकास संस्था र सिद्धमार्ग आमा समूहको संयुक्त पहलमा निर्माण गरिएका उक्त पुर्वाधारहरुको उद्घाटन शनिबार एक कार्यक्रमका बिच प्रमुख अतिथी वडा नं ९का वडा सचिव सुदर्शन कोइरालाले गरे । रिबन काटेर बाटोको उद्घाटन गरेका उनले ट्याङ्की र चौताराको उद्घाटन शिलालेख अनावरण गरेर गरेका थिए । उद्घाटन पछि बोल्दै उनले सरोकारवाला निकायले गर्न नसकेको कार्य स्थानिय स्वयंले गरेको भन्दै प्रशंसा गरे । स्थानिय निकायले गर्न नसकेको काम यहांका स्थानियले गरेका छन् उनले भने यो कार्य उदाहरणीय छ । साथै अरु टोलबासीहरुले पनि सिद्धमार्ग टोलबासीहरुको सिको गर्नुपर्ने उनको भनाइ थियो । आफू २८ बर्ष बिभिन्न वडामा पुगेर सेवा गरेको स्मरण गर्दै उनले सिद्धमार्ग टोलबासीहरुजस्तो बिकासका लागी एकजुट हुने ब्यक्तिहरु अहिलेसम्म नदेखेको बताए । बांकी दिनहरुमा आफ्नो तर्फबाट टोलबिकासका लागी जस्तोसुकै सहयोग गर्नेसमेत उनले प्रतिबद्धता जनाए । कार्यक्रमका विशेष अतिथि एवं युवा निर्माण व्यवसायी हिक्मत जंग कार्कीले आफ्नो टोल विकासका लागी अरुले गर्देलान् भनेर बस्नुभन्दा पनि आफै लाग्नुपर्नेमा जोड दिए । हामी सरकारले विकास गर्देला भनेर पर्खेर बस्छौ उनले भने त्यसरी पर्खदा हाम्रो टोल कहिल्यै पनि बिकासको बाटोमा जांदैन । टोलबासीहरुले गरेको कामको उनले खुलेर प्रशंसा गरे । साथै आगामी दिनमा आफू टोलसंग समन्वय गरेर अघि बढ्न तयार रहेको उनले बताए । कार्यक्रममा बोल्दै पत्रकार अर्जुन गिरीले टोलबासीहरुले सांच्चै नै उदाहरणीय कार्य गरेको भन्दै अगाडिका दिनमा पनि यसरी नै आफ्नो टोक विकासमा एकजुट भएर लाग्न आग्रह गरे । अर्का पत्रकार कृष्णमणि रानाभाटले सिद्धमार्ग टोलबासीलाई बर्षयाममा सेति नदीले समस्या पारेको उल्लेख गर्दै त्यसतर्फ सरोकारवाला निकायलाइ ध्यानाकर्षण गराए । कार्यक्रममा हवल्दार गौतम श्रेष्ठ, सामाजिक परिचालिका भावना श्रेष्ठ लगायतले बोलेका थिए । टोल बिकास संस्थाकी अध्यक्ष बुद्धीमाया पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाकी सदस्य ताराकुमारी रानाले स्वागत र सचिव सीता पराजुलीले सञ्चालन गरेकी थिइन् ।

Post a Comment

 
Top