0
गोल्डेन न्यूज संवाददाता
गजल सन्ध्या पोखराले अग्रज गजलकार ललिजंग रावललाई सम्मान र गजलकार जनार्दन दाहाललाई पुरस्कृत गरेको छ । शनिबार पोखरामा आयोजित एक कार्यक्रममा उनीहरुलाई सम्मान एवं पुरस्कृत गरिएको हो । त्यस अवसरमा सम्मानित व्यक्तित्व एवं प्रमुख अतिथि ललिजंग रावलले अग्रज गजलकार जनार्दन दाहाललाई नगद पुरस्कार तथा दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरेका थिए भने ललिजंग रावललाई अग्रज गजलकार दीपक समीपले सम्मानपत्र र दोसल्लाद्वारा सम्मान गरेका थिए । पुरस्कृत व्यक्तित्व दाहाल भानुभक्त क्याम्पस तनहुँका उप–प्राध्यापक समेत हुन् । त्यस अवसरमा बोल्दै सन्ध्याका पूर्व कार्यसमिति सदस्य समेत रहेका पुरस्कृत व्यक्तित्व दाहालले पोखरासंग आफ्नो छुट्टै साइनो रहेको बताए । आफ्नै संस्थाबाट पुरस्कृत एवं सम्मानित हुन पाउँदा खुशी लागेको बताउँदै उनले पोखरा–तनहुँबीच विशेष सम्बन्ध रहेको बताए । अर्का सम्मानित व्यक्तित्व रावलले सोच, चिन्तन र विचारका हिसावले गजल सबैभन्दा उत्कृष्ट बिधा रहेको स्पष्ट पारे । उनले नजानी–नजानी गजलमा कलम चलाउँदा समस्या निम्तिने भन्दै गजल जस्तोसुकै अवस्थाबाट सृजना नहुने बताए ।
गजल सन्ध्याकी अध्यक्ष बिर्सना बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिभा छनौट समितिका संयोजक दीपक समीप, सन्ध्याका पूर्व अध्यक्ष रुपिन्द्र प्रभावी कटु, मन क्षेत्री, सल्लाहकार ईश्वरमणि अधिकारी, लक्ष्मण थापा, उपाध्यक्ष अमृत सुवेदी गुराँस, सह–सचिव मोहन भण्डारी, शुक्ला गण्डकी साहित्य संगमका अध्यक्ष शेषमणि आचार्य, पूर्व अध्यक्ष आनन्द क्षेत्री लगायतले आफ्नो भनाइ राखेका थिए ।



Post a Comment

 
Top