गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उप–प्रधानमन्त्री रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालको आकाशमा अनिष्ट छाएको भन्दै सबैखाले अनिष्टको सामना गरि अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । नेपाली कांग्रेसका नेता तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य रामजी पौडेल बादलको हत्या भएको १३औं पुण्य तिथिमा नेपाली कांग्रेस कास्कीले लेखनाथमा आयोजना गरेको श्रद्धाञ्जलीसभामा बोल्दै उनले वैशाख १२ मा आएको महाभूकम्प, संविधान बनाउन नदिन भइरहेको प्रपञ्च र पार्टीका साथीहरुबीचमा मेलमिलाप गराउन खोज्दा भएको बादल हत्या प्रकरण यस्तै अनिष्टको उपज भएको बताए । नेता पौडेलले बालदको हत्या गर्ने अपराधीलाई कुनैपनि हालतमा मुक्त हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै त्यस्ता अपराधीहरुलाई दूधबाट माखा फालेझैं कांग्रेसबाट तत्काल फाल्नुपर्नेमा जोड दिए । उनले नेता बादलको योगदानको पार्टीले उच्च मूल्याङ्कन गर्ने र बादलको नाममा प्रतिष्ठान, स्मारक तथा बादल उद्यान÷पार्क निर्माण गर्न आफू पार्टीको तर्फबाट सबैखाले सहयोग गर्न तयार रहेको स्पष्ट पारे । हाल नेपालमा संक्रमण जारी रहेको भएपनि लामो समय संक्रमण धान्न नसकिने भन्दै नेता पौडेलले जनताको आकांक्षालाई प्रतिनिधित्व गर्दै तत्काल संविधान जारी गर्नुपर्ने खाँचो औंल्याए । कांग्रेसले पहिले नै सीमाङ्कन सहितको ६ प्रदेश तयार गरेको भएपनि एमालेलाई मिलाउन खोज्दा सात प्रदेश पुगेको र त्यसपछि १६ बुँदे सहमतिले ८ प्रदेश बनाउने निर्णय भएको जानकारी दिंदै उनले भने–‘जसरी प्रदेश बाँडेपनि विवाद रहन्छ । तसर्थ कम विवाद हुनेगरि संघीयताको पछिल्लो खाका प्रस्तुत गरिएको हो । केही नमिलेका ठाउँमा आयोग गठन गरेर भएपनि पछि मिलाउनु पर्छ भनेका छौं ।’ नेता पौडेलले शान्ति सुरक्षा बिगारेर र घूसपैठ गरेर संविधान ल्याउन नदिने षड्यन्त्र भइरहेकोले त्यसलाई परास्त गर्न सबैसंग आग्रह गरे । कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले अपराध गर्नेलाई तत्काल पक्राउ गर्नुपर्नेमा जोड दिंदै दोधारे कुरा नगर्न पार्टीका स्थानीय जिम्मेवार व्यक्तिलाई निर्देशन दिए । केसीले बादलको सपना पुरा गर्न उनकी धर्मपत्नी चन्द्रावती नै अघि बढ्नुपर्नेमा जोड दिंदै आफ्ना परिवारका सदस्य अघि नबढे पार्टीका नेताहरुले सहानुभूतिका शब्द व्यक्त गर्ने बाहेक अरु काम नगर्ने बताए । अर्का केन्द्रीय सदस्य बालकृष्ण खाँडले कांग्रेसकै नामबाट कांग्रेस नेताको हत्या हुनुले विश्वास, निष्ठा र आस्थाको राजनीतिमा प्रश्न उब्जाएको भन्दै बादलको हत्या प्रकरणले देशभर इमान्दार कांग्रेसको शिर झुकेको बताए । उनले कांग्रेसकै नेता तथा सभासदहरु अन्य जातजातिलाई काट र मार भनेर आदेश दिंदा समेत पार्टीले केही गर्न नसक्ने अवस्था सृजना भएकोमा चिन्ता व्यक्त गर्दै बादलको हत्यामा संलग्न हुने एवं योजना बनाउने साना, ठूला, माननीय, ताननीय जो सकै भएपनि उन्मुक्ति पाउन नहुने बताए । नेता खाँडले पार्टीको महाधिवेशन तोकिएको भएपनि केन्द्रीय आमन्त्रित सदस्य मनोनित गरिएकोमा असन्तुष्टि व्यक्त गरे । ‘चुनावको घोषणा भएपछि सरकारले सामान्य कर्मचारीको नियुक्ति वा सरुवा गर्न पाउँदैन तर कांग्रसले आफ्नो कार्यकाल सकिएर महाधिवेशन गर्न नसकेको बेला पुरानो मिति राखेर केन्द्रीय सभापतिद्वारा आमन्त्रित सदस्य मनोनित गरिनु हास्यास्पद हो’–नेता खाँडको भनाइ थियो । कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाटले कांग्रेसकै सदस्यको बिल्ला भिर्ने अपराधीलाई अहिलेसम्म पार्टीको सम्बन्धित समितिले निष्काशन नगर्दा गल्ली र चोकमा बस्ने अरु पार्टीका कार्यकर्ताले कांग्रेसलाई अपराधीको पार्टी भन्ने आरोप लगाउन थालेको बताए । उनले बादलचोक या बादलमार्ग बनाउन र बादलको पूर्ण कदको शालिक बनाउनुपर्ने खाँचो औंल्याए । कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले कांग्रेसकै केही मान्छेको मिलेमतोमा कांग्रेसकै सदस्यता लिएका व्यक्तिहरुले बादलको हत्या गरेको भन्दै पार्टीलाई कसरी कब्जा गर्ने भन्ने होडबाजीको शिलशिलाको शिकार बादल बनेको बताए । पार्टीका नेता कार्यकर्तालाई अधिवेशनका बेला गुण्डा र चोरहरु प्यारो लाग्ने गरेको भन्दै उनले बादलको हत्या प्रकरणमा किटानी जाहेरी परेकोले यथाशीघ्र पक्राउ गरि कार्वाही गर्न प्रहरी अधिकारीलाई सुझाव दिए । कास्कीका प्रहरी प्रमुख हरि बहादुर पालको नाम लिएर कांगे्रेस नेता पाण्डेले भने–‘तपाइँलाई अपराधी पत्ता लगाउने चुनौती आएको छ, यो चुनौतीलाई सफलतापूर्वक पूरा गर्ने तपाइँलाई साथीको हैसियतले मैले सम्मान गर्नेछु । त्यसैले पावरको खेलमा नचल्नुहोला ।’ नेता पाण्डेले चिनेको हत्यारालाई कठघरामा ल्याउन नसक्ने हो भने प्रहरी प्रशासनको कुरामात्र नभएर कांग्रेस हुँ भनेर शिर ठाडो पार्न समेत नसकिने स्पष्ट पारे । नेपाली कांग्रेस कास्कीका सभापति एवं सभासद यज्ञबहादुर थापाले बादललाई पार्टीको तर्फबाट उच्च सम्मान दिने र बादलको हत्यारालाई कठघरामा ल्याउने दायित्व पार्टीको काँधमा रहेको बताउँदै अपराधीहरु केही दिन लुकेपनि सधैं उम्कन नपाउने बताए । उनले बादलकी धर्मपत्नी, आमा र छोरी तथा परिवारलाई सान्त्वना दिंदै बादलको नाममा गठन हुने प्रतिष्ठानको अध्यक्ष बादलकी धर्मपत्नी चन्द्रावतीलाई बन्न आग्रह गरे । स्व. बादलकी धर्मपत्नी चन्द्रावती पौडेलले आफ्नो श्रीमानले आफूलाई भन्दा पनि पार्टीलाई धेरै समय दिने गरेको बताउँदै पार्टीका नेता र कार्यकर्ता एवं शुभचिन्तकले देखाएको आत्मीयता र श्रद्धाले आफूलाई भावविह्वल बनाएको बताइन । उनले हत्यारा र अपराधीलाई पार्टीमा समावेश गर्दा कांग्रेसको बेइज्जत भएको भन्दै गुण्डालाई तह लगाउन नसक्ने हो भने पार्टी र नेताहरुले गुण्डाको पहिचान लिएर बस्नुपर्ने अवस्था आउने बताइन । पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङले बादल हत्याको सम्बन्धमा तत्कालै छानविन समिति गठन गर्न र बादलको स्मृतिमा ट्रष्ट स्थापना गर्न आग्रह गर्दै त्यसका लागि आफ्नो तर्फबाट १० हजार रुपैयाँ प्रदान गरे । केन्द्रीय सदस्य जीवन परियारले बादलको हत्यारालाई कार्वाही गर्न आफूहरुले प्रधानमन्त्री संग कुरा राखेको भन्दै बादलको नाममा पार्क, चोक या ट्रष्ट बनाउने कुरामा आफ्नो पनि सहयोग रहने बताए । पूर्व राज्यमन्त्री महादेव गुरुङले बादलमाथिको प्रहार इमान्दार कांग्रेसमाथिको प्रहार भएको भन्दै अपराधीलाई पक्राउ गर्न ढिलाइ हुनुको पछाडि कांग्रेस नेताहरुको हात रहेको सुन्नमा आएको र केन्द्रले छानविन समिति अहिलेसम्म गठन नगरेको भन्दै असन्तुष्टि प्रकट गरे । कास्की कांग्रेसका नेता शुक्रराज शर्माले रामजी बादलको स्मृतिमा रचनात्मक काम गर्न र हत्यारालाई कार्वाही गर्न सबै एकजुट बन्नुपर्नेमा जोड दिए । अर्का नेता खेमराज पौडेलले बादलका हत्याका योजनाकारलाई समेत कार्वाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिंदै कास्कीबाट प्रतिनिधित्व गर्ने कांग्रेस सभासदले बादलको हत्या प्रकरणमा केही नबोलेकोले उनीहरुलाई बादलको श्राप लाग्न सक्ने बताए । उनले कास्की कांग्रेस बादलको हत्या प्रकरणमा विभाजित जस्तो देखिएकोले केन्द्रबाटै छानविन समिति गठन गर्न माग गरे । कांग्रेस महासमिति सदस्य शोभियत बहादुर अधिकारीले पनि एक जना गुण्डा मारिंदा संसदमा आवाज उठाउने सभासदले कांग्रेसको लोकप्रिय नेता मारिंदा केही नबोलेको भन्दै आपत्ति प्रकट गरे । उनले अपराधी पत्ता लगाउन केन्द्रले नै छानविन समिति बनाएर पहल गर्नुपर्ने बताए । कार्यक्रममा सभासद वृन्दा राना र शारदा पौडेलले पनि हत्यारालाई कार्वाही गर्न माग गरेका थिए । बादलको हत्या भएको दिन उनीसंगै रहेका कांग्रेसका क्षेत्रीय सदस्य तथा जनजाति नेता मनोज गुरुङले बादलको हत्या योजनावद्ध ढङ्गबाट गरिएको बताउँदै हत्याको तीन दिन अगाडिबाटै विभिन्न खाले धम्की सार्वजनिक हुनुले नै त्यसलाई पुष्टि गर्ने बताए । बादललाई आफूले मोटरसाइकलमा राखेर आउँदै गर्दा आफ्नो हेल्मेट फुट्ने गरी आक्रमण भएको र त्यसपछि लाठोले मेरो गर्धनमा हानेपछि आफू बेहोस भएको जानकारी दिंदै गुरुङले भने–‘म हस्पिटलको बेडमा पुगेपछि होस खुल्यो र त्यसपछिमात्र बादललाई खोजी गर्ने अरु साथीहरुलाई आग्रह गरें ।’ गुरुङले स्थानीय प्रहरी नायव निरीक्षकले गम्भीरता देखाएको भए तत्कालै घाइतेको उद्धार हुन सक्ने र ठूलो घटना नहुने भएपनि हत्यामा संलग्न अपराधीको निर्देशन अनुसार प्रहरी परिचालित नभएको भन्दै आक्रोश पोखे । प्रहरी परिचालित नहुनुको पछि तिनै अपराधीहरुले प्रहरी नायव निरीक्षकलाई मोटरसाइकल सहित आर्थिक सहयोग गर्नुनै मुख्य रहेको उनले बताए । कार्यक्रममा रामजी पौडेलका बादलका राजनीतिक यात्रा र सामाजिक क्षेत्रमा उनको योगदानका बारेमा स्थानीय कांग्रेस नेता तथा अधिवक्ता विष्णु कुशल भुजेलले जानकारी गराएका थिए भने स्थानीय विश्वमोहन पौडेलले स्व. बादलका बारेमा कविता वाचन गरेका थिए । स्व. बादलका भतिजा ज्ञानेन्द्र पौडेलले हत्यारालाई पार्टीबाट निष्काशन नगरिएको, परिवारले किटानी जाहेरी दिंदा पनि अपराधी पक्राउ गर्न ढिलाई गरिएको र बादलको हत्या पछि पार्टीले झण्डा समेत नझुकाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
Post a Comment