0
गोल्डेन न्यूज संवाददाता
अखण्ड नेपाल पार्टीले राज्य पुनःसंरचना गरिँदा उत्तर, दक्षिण जोडिने गरी बनेको हालको ५ विकास क्षेत्रलाई नै ५ संघीय प्रदेश र काठमाडौं, भक्तपुर, ललितपुरलाई मिसाएर केन्द्र प्रदेश भएमा कोही कसैको विरोध नआउने बताएको छ । पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा सो धारणा राख्दै नेपालको संविधान वर्तमान संविधानसभाले नै गर्नुपर्नेमा ठूला दलले ४÷५ नेताको कोठे भेलाले एकोहोरो भारतसँग मात्र जोडिएको हिमाल, पहाड, तराईमा समेटिएको मस्यौदा आउनु देशको लागि अभिषाप भएको महासचिव केश बहादुर के.सी.ले बताए । प्रदेशको निर्माण गरिँदा जातिको आधारमा नगरी प्राकृतिक सम्पदाको नाममा गरिँदा सबैको भावना समेटिने र आरक्षण जातीय आधारमा नगरी वर्गीय आधारमा गर्नुपर्ने बताएको छ । देश पुनःनिर्माणको अवस्थामा रहेकोले सबै पार्टीको सहभागिता रहने हुँदा पूर्ण समानुपातिक थ्रसहोल्ड नभएको व्यवस्था गर्नुपर्ने माग गरेको छ । नेपाली भाषालाई राष्ट्रभाषा र अन्य जातीय भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने महासचिव के.सी.ले बताए । आम जनताको भावना हिन्दु राष्ट्र रहेकोले सोही अनुसार हिन्दु धर्म सापेक्ष नेपाल, हिमाल पहाड तरार्य समेटिएको संघीय राज्य, नागरिकतामा कडाई र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यस्था गर्नुपर्ने माग राखेको छ । वर्तमान प्रस्ताव र ठूला दलका ठूला सीमित नेताको कारणले देश अन्यौलमा गएकोले सबैलाई सहभागितामा ल्याई छिटो संविधानको घोषणा गरी देशलाई विकास निर्माणमा लानुपर्ने धारणा राखेको छ ।  अखण्ड नेपाल कास्की अध्यक्ष मिन बहादुर के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु उदय बहादुर बस्नेत, पदम बहादुर कार्की, डिल बहादुर अधिकारी, भरत बस्नेत, डिल्लीरमण बाँस्तोला, महिला समिति सदस्य सुमित्रा के.सी., जिल्ला सचिव शोभाकर लामिछाने, कोषाध्यक्ष कृष्ण बहादुर थापा, उपाध्यक्ष टेकन गिरी, लेखनाथ नगर अध्यक्ष मोति गिरी लगायतले आ–आफ्नो धारणा राखेका थिए । पार्टीले पहिलो चरणको आन्दोलन अन्तर्गत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने, धर्ना, कोणसभा र भाद्र ४ गते १ घण्टा चक्काजाम सहित दोस्रो चरणको कार्यक्रम देशको परिस्थिति हेरी भाद्र १० गतेदेखि थप कार्यक्रम गरिने जिल्ला इन्चार्ज पदम बहादुर कार्कीले बताए ।

Post a Comment

 
Top