हरि पन्त
पोखराबाट नारायणगढ, चितवन आवत–जावत धेरैपटक गरियो । यात्रा, कहिले गाडीमा त कहिले मोटरसाइकलमा । एक दिन चितवनबाट पोखरा फर्कने क्रममा मुग्लिन आइपुग्नै लाग्दा बसको झ्यालबाट ‘पन्थदेवी माइको मन्दिर’ लेखिएको बोर्डमा एक्कासी नजर पुग्यो । ‘पन्थ देवी माइको मन्दिर !’–म अचम्वित भएँ । गाडी तीव्र गतिमा गुडिरहेको अवस्थामा देखिएको त्यो दृश्यले मनमा कौतुहलतामात्र लाग्यो, अन्य केही बुझ्न सकिन । अन्य मन्दिर देख्दा त चासो लिने गरिन्छ भने आफ्नै थर जोडिएको देवीको मन्दिर देखेपछि चासो नलिने कुरै भएन । पोखरा फर्किएपछि मन्दिरको बारेमा केही पन्त दाजुभाइहरुलाई जानकारी गराएँ तर त्यसको पूरा विवरण संकलन गर्ने काम भने भएको थिएन । केही समयपछि चितवन जाँदा मोटरसाइकलबाटै गएँ । मुग्लिनबाट नारायणगढतर्फ लागेपछि त्यहि मन्दिरको बोर्ड खोज्दै अघि बढें । मुग्लिनबाट ३ किलोमिटरको दूरीमा सडकको दायाँतर्फ ‘पन्थदेवी माइको मन्दिर’ लेखिएको बोर्ड भेटाएँ । दिउसोको करिब ३ बजेको थियो । वरिपरि सुनसान, घना जङ्गल तर बस्ती छैन । मुग्लिन–नारायणगढ सडकखण्डमा गुड्ने सवारी साधन बाहेक अन्य केही देखिंदैनथे । सडकबाट करिब १ सय ८० मिटर तल त्रिशुली नदीको किनारमा मन्दिर रहेछ ।
मन्दिरतर्फ अघि बढें तर मनमा डर र त्रास लिएर । माथि सडक छ, तल विशाल त्रिशुली नदी र बीचमा घना जङ्गल डर नलाग्नु कुरै भएन । छेउमा सानो बाटो रहेछ । मनमा डर लागेपनि डराइ–डराइ मन्दिर खोज्नतर्फ लागें । मन्दिर जाने बाटोभरि फोहोर नै फोहोर । चितवन क्षेत्र नं. २ अन्तर्गत सन्दीभञ्ज्याङ गा.वि.स. वडा नं. ६ मुढेवास भन्ने स्थानमा रहेको पन्थदेवी माइको मन्दिर बल्ल–बल्ल भेटाएँ तर मन्दिर हो या होइन ठम्याउन सकिन । मूर्दा जलाउँदा मलामी बस्ने एउटा छाप्रो जस्तो स्वरुपमा रहेछ मन्दिर । छाप्रोभित्रको मौलोमा केही ध्वजा र सानो घण्ट देखेपछि मन्दिर हो भन्ने एकिन गरें । पाँच वटा खावाँ गाडेर छाप्रो (मन्दिर) बनाइएको रहेछ । छाप्रोभित्र अलि–अलि ढलान गरिएको छ तर भत्किनै लागेको अवस्था । मन्दिरको देब्रेपट्टी बाख्राको कमारी पाठी र दाहिनेपट्टि परेवा काट्ने ठाउँ भनेर लेखिएको छ । मन्दिरभित्र ओढार (गुफा) छ । ओढारभित्र केही मूर्ति र शिलाहरु देखिन्छन् । ओढारभित्रबाट पानी बगिरहेको छ भने सानो पाइप लगाएर पानीको धारा पनि बनाइएको छ । अत्यन्तै डर लाग्यो, ओढारभित्र पस्न सकिन । बाहिरबाटै सबैतिर नजर लगाएँ । मन्दिरको माथि हेर्दा डरलाग्दो भिर, भिरमा खस्नै लागेजस्तो ठूलो ढिस्को । ढिस्कोमा विशाल सिमलको बुढो रुख, जून मन्दिरको सिधा माथि पर्दछ । मन्दिरको नजिकै केही बाँस र केराको बोट पनि देखिन्छन् । मन्दिरको ठीक अगाडि नदी पारी हेर्दा पनि विशाल सिमलको रुख छ जून मन्दिरमाथि भएको रुख जत्तिकै देखिन्छ । साथमा घना जङ्गल बाहेक अन्य केही देखिदैन ।
मन्दिर कसरी उत्पत्ति भयो, कसरी पत्ता लाग्यो ? भन्ने बारेमा थप जिज्ञासा लाग्यो र छिटो–छिटो सडकमा आएँ । करिब १ कि.मि.को दूरीमा (मुग्लिनतर्फ) २÷३ वटा घर देखें । मन्दिरको बारेमा केही बुभ्mनका लागि त्यतै लागें । स्थानीय ६६ वर्षीय नरबहादुर घर्तीसंग भेट गरें र मन्दिरको बारेमा धेरै कुरा बुभ्mने प्रयास गरें । उहाँले पन्थ देवी माइको मन्दिरलाई पन्थ बाजेको मन्दिर नामले चिनाउनुभयो । उहाँका अनुसार पन्थदेवी माइको मन्दिरमा पहिला–पहिला बाहुनलेमात्र पूजा गर्ने गरेकाले सबैले हेलाँ गर्ने गरेका छन् । त्यो स्थान सडकमा आवत–जावत गर्ने सवारी साधनका यात्रुले दिशापिसाव गर्ने ठाउँ हो । केही समयअघि मुग्लिनका तुलबहादुर त्रिपाठीले दुईवटा बोर्डमा मन्दिरको नाम लेखी राखिदिएपछि फोहोर मैला केही कमि भएपनि पूर्ण सरसफाइ हुन नसकेको नरबहादुर बताउनुहन्छ । उहाँ मन्दिरको बारेमा थप जानकारी दिंदै भन्नुहुन्छ–‘पन्थ बाजे शक्तिशाली देवता हो । मनले चाहेको बाजेले पूरा गरिदिनुभएको छ । मन्दिरको ओढारभित्र ४÷५ जना मानिस बसेर पूजा गर्ने ठाउँ छ । ओढारमा कहिल्यै पनि पानी सुक्दैन । पूजा गर्न लाग्दा पानी आफै कम हुन्छ ।’
उहाँका अनुसार मन्दिरमा नित्य पूजाआजाका लागि ७२ वर्षीय सन्तबहादुर चेपाङलाई राखिएको भएपनि पूजाआजाले निरन्तरता पाएको छैन । औंशी र पूर्णिमाको दिन बाहेक अरु दिन सधैं मन्दिरमा पूजाआजा गर्न मिल्ने भएपनि पूजारीको आगमन नुहँदा मन्दिरको धार्मिक महत्व घटेको महसूस हुन्छ । मन्दिर नजिक त्रिशुली नदी छ तर नदीले बलाबखत अन्य स्थानमा क्षति पु¥याउँदा पनि मन्दिरमा भने क्षति नपुगेको नरबहादुर बताउनुहुन्छ । पन्थदेवी माइको उत्पत्ति कहिले भयो ? भन्ने प्रश्नको उत्तर दिन नसकेपनि मन्दिरको उत्पत्तिका बारेमा नरबहादुरको भनाइ यस्तो छ–‘चितवनको सन्दीभञ्ज्याङ गाउँमा पन्थ बाजे र उनकी बुहारी बस्दथे । पन्थबाजेको धेरै खेत थियो । पन्थ बाजेको खेतमा काम गर्ने खेताला भने भूतहरु हुन्थे ।’ खेतमा काम गर्ने पनि भूत ! आश्चर्यका कुरा सुनाउँदै नरबहादुर भन्नुहुन्छ–‘एक दिन खेतमा काम गर्नेक्रममा पन्थ बाजेकी बुहारी खाजा लिएर खेतमा आइन । बुहारी अत्यन्तै राम्री सुन्दरी थिइन ।
खेतको आलीमा खाजा राखेर बुहारी घर फर्किदै थिइन । आलीमा राखेको खाजा अचानक हरायो । भोकले खरिएका भूतहरुले खाजा खान नपाएको झोंकमा बुहारीलाई नै खाइदिए !’ मन्दिर उत्पत्तिबारे रोचक कुरा थप्दै नरबहादुर भन्नुहुन्छ–‘भूतले आफ्नी बुहारीलाई खाइदिएपछि रिसले चूर भएका पन्थबाजे भूतमाथि जाइलागे । पन्थबाजे र भूतको ठूलो लडाइँ भयो । पन्थ बाजे र भूत लड्दा–लड्दै त्रिशुली नदी किनारमा आइपुगे । भूत अचानक त्रिशुली नदी त¥यो तर पन्थ बाजे त्रिशुली नदी तर्न नसकी त्यहीं बसे र अलप भए ।’ पन्थ बाजे अलप भएको ठाउँ र भूत बसेको ठाउँमा एकै पटक सिमलको रुख उम्रियो । धेरै समयपछि पन्थबाजेका छोराले आफ्ना बुबा र श्रीमतीको खोजी गर्दै जाँदा त्यहीं नदी किनारबाट अलप भएको जानकारी पाएपछि बुबा र आफ्नी श्रीमतीको तस्वीर राखेर पूजा गर्न थाले । त्यसपछि नै त्यो ठाउँमा पन्थदेवी माइको मन्दिर स्थापना भएको नरबहादुर बताउनुहुन्छ ।
पन्थदेवी माइको मन्दिर हामी सम्पूर्ण पंथ तथा पन्त वंशजहरुको इतिहास हो भन्ने कुरा दुईमत हुन सक्दैन । अत्यन्त जोखिमयुक्त स्थानमा संरक्षणको पर्खाइमा रहेकोे पन्थ देवी माइको मन्दिरको संरक्षण र प्रचार–प्रसार गर्नु हामी सबैको कतव्र्य र दायित्व हो । त्यसैले पन्त समाजका केन्द्रीय समिति, जिल्ला समितिहरु उक्त मन्दिरको संरक्षण, सम्वद्र्धन र प्रचार–प्रचार गर्नुपर्ने खाँचो देखिन्छ । उक्त मन्दिरको संरक्षण र उचित प्रचार–प्रसार हुन सके हाम्रा भावी पुस्ताका लागि पनि इतिहास बन्न सक्छ । त्यसैले मन्दिरको स्तरोन्नति, विकासका लागि आवश्यक पहल गर्न हामी सबै लाग्न आवश्यक छ ।
(लेखक ः पन्त समाज कास्कीका सदस्य तथा पोखराका पत्रकार हुनुहुन्छ ।
Post a Comment