२१औं शताव्दि लाग्दा पनि हाम्रो समाजमा विभिन्नखाले कुरीतिहरु व्याप्त छन् । विभिन्न नाममा समाजमा प्रचलित कुरीतिहरुबाट विशेष गरी सीमान्तकृत समुदाय त्यसमा पनि महिलाहरु बढी प्रताडित हुने गरेका छन् । पहाडी जिल्लामा किशोरीलाई जबर्जस्ती घरमा लगेर श्रीमती बनाउने कुरीति अझै हट्न सकेको छैन । सुन्दा पनि अचम्म लाग्ने यस्तो कुरीतिको शिकार आज पनि महिलाहरु भइरहेका छन् । जाजरकोटमा यस्तै कुरीतिको प्रतिकार गर्ने एउटी महिला अहिले अस्पताल भर्ना भएकी छन् । घाँस काट्न जंगल गएको बेला दुईजनाले जबर्जस्ती उठाउन खोज्दा तिनीहरुको प्रतिकार गरेकी ती महिला अस्पतालमा शारीरिक र मानसिक आघातबाट गुज्रनुपरेको छ । परम्पराको नाममा चल्दै आएका यस्ता कुरीतिको आड लिएर समाजमा यस्ता अमानवीय कामहरु भइरहेका छन् । तानेर जबर्जस्ती विवाह गर्ने यस्तो कुरीतिसंगै समाजमा आज पनि बोक्सी प्रथा, दाइजो, छुवाछुत, अन्धविश्वास, छाउपडी, कम्लरी, बालविवाह, बहुविवाह, बलि प्रथालगायतका तमाम कुरीतिहरुले निरन्तरता पाइरहेका छन् । केही दिन पहिले नवलपरासीमा बालकलाई बलि दिने काम भयो । स्वर्गद्वारी मन्दिरमा दलितलाई पूजा गर्न रोक लगाइयो । बोक्सीको नाममा हुने प्रताडना छँदैछ । दाइजोप्रथाले कैयौं अभिभावकको ‘सातो’ लिएको छ भने कैयौं महिलाहरुको जीवन समाप्त पारेको छ । तर जसरी यी घटनाहरु सार्वजनिक भइरहेका हुन्छन् उसैगरी यिनका बिरुद्ध जुन मात्रामा बिरोधका स्वरहरु मुखरित हुनुपर्ने हो त्यो हुन सकेको छैन । पीडित र यससम्बन्धी काम गर्ने एकाध व्यक्ति तथा संस्थाहरु बाहेक कसैको पनि चासोको विषय बन्न सकेको देखिंदैन । समाजमा विद्यमान यस्ता कुरीतिहरु धर्म, संस्कृति र परम्पराको नाममा अन्धविश्वासको रुपमा जरा गाडेर बसेका छन् । बिडम्बना नै मान्नुपर्छ, हाम्रा लागि रीति–कुरीति, संस्कार–कुसंस्कार, कर्मकाण्ड सबै धर्म बनेका छन् भने पण्डित पुरेत, धामी झाँक्री, साधु सन्यासी, कथित गुरुहरु सबै भगवानको अवतार भएका छन् । जसले आफ्ना समुदायका कुरीति, कुसंस्कार र कर्मकाण्डलाई धर्मको पोशाक लगाइदिएर तिनको निरन्तरतामा सघाइरहेका छन् । अन्धविश्वासको जगमा निरीहमाथि आफ्नो प्रभुत्व कायम राख्न आविष्कार गरिएका यस्ताखालका मध्ययुगीन बर्बरताले अझैसम्म निरन्तरता पाउनु हामी सबैको लागि लज्जाको विषय हो । परम्पराको नाममा, संस्कृतिको नाममा, भगवानको नाममा र धर्मको नाममा हाम्रो समाजमा धेरै अमानवीय कर्महरु भइरहेका छन् । यही आडमा मान्छेको आत्मसम्मानमा ठेस पुर्रुयाउने, मान्छेमाथि अन्धविश्वास थोपरेर त्यसको फाइदा उठाउने, मान्छेलाई कर्मशील बन्न प्रेरित गर्न छाडेर भाग्यवादी बनाउने, मान्छे मान्छेबीच बिभेदको पर्खाल खडा गरेर सधैं द्वन्द्व सिर्जना गर्ने काम भइरहेको छ । अझ अहिले धर्मको नाममा राजनीतिक खेल सबैभन्दा चर्को छ । तर समाजमा धर्मको नाममा भइरहेका अधर्मी खेलहरुप्रति धर्मका पक्षधर भनिनेहरुको ध्यान पुग्न सकेको छैन । समाजका सचेत वर्गहरु आफ्ना परिवारमा, आफ्नो समाजमा निर्वाध चलिरहेका कुरीतिविरुद्ध खुलेर बोल्ने, आफू र आफ्नो परिवारमा त्यस्ता कुरीति नअपनाउने हो भने ती कुरीतिहरु हट्न कत्ति बेर लाग्ने थिएन । परम्परा र संस्कृति जोगाउने नाममा भित्रिएका गलत अभ्यास र प्रचलनप्रति आाखा चिम्लिएर तिनलाई निरन्तरता दिादा हामी कता जाादैछौं भनेर हेर्ने हो भने ती सच्चिएर आउने थिए । हाम्रा परम्परा, संस्कृति र धर्म सबै समस्त मानव समाजलाई असल, सभ्य बनाउने अस्त्र हुन् । यी अस्त्रको दुरुपयोग हुँदा भित्रिएका कुरीतिको अन्त्य नभई समाज सभ्य हुन सक्दैन । त्यसैले राज्यले कानून बनाएर र सामाजिक तहमा अभियान चलाएर यस्ता कुरीतिको अन्त्य गर्नुपर्दछ । यस्ता कुरीतिहरुको अन्त्य गर्ने कुरामा राजनीतिक, सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रका अगुवाहरुको एकीकृत प्रयास भयो भने सभ्य समाज बन्न बेर लाग्ने छैन । खाँचो यी क्षेत्रको इमान्दार प्रयासको मात्रै हो । यसका लागि सबैले बेलैमा पहल गरौं ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment