0
गोल्डेन न्यूज संवाददाता 
पोखरा उद्योग वाणिज्य संघले पश्चिमाञ्चल क्षेत्री प्रशासक दिनेशकुमार थपलियालाई विहीबार बिदाई गरेको छ । पर्यटन मन्त्रालयको सचिवको कार्यभार सम्हाल्न जान लागेका थपलियालाई पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले माला र पुष्पगुछा सहित बिदाई गरेका हुन् भने उनलाई कार्यक्रममा सहभागी लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरिले साथ दिएका थिए । कार्यक्रममा संघका अध्यक्ष विन्दुकुमार थापाले क्षेत्रीय प्रशासकको रुपमा थपलियाको कार्यकालले  निजी क्षेत्र र सरकारी निकायको सहकार्य बिना  विकास संभव छैन भन्ने मान्यता स्थापित गरेको बताए । भावुक मुद्रामा प्रस्तुत भएका थापाले क्षेत्रीय प्रशासकको अगुवाईमा सुरु भएका कास्की गौरवका १५ वटा परियोजना पोखराको विकासको लागि कोषेढुङ्गा सावित हुने बताए । भूकम्पपछिको उद्धार र राहत बितरणमा क्षेत्रीय प्रशासकले खेलको नेतृत्वदायी भूमिकाको प्रसंसा गर्दै अध्यक्ष थापाले निजी क्षेत्रलाई प्रदान गरेको भूमिकाले आफूहरु गौरवान्वित भएको बताए । अध्यक्ष थापाले पर्यटन सचिवको रुपमा पोखराप्रेमी थपलियाको कार्यकालमा पोखराले थप उपलब्धी हात पार्ने आशा व्यक्त गरे । ‘उहाँको कार्यकालमा पोखरालाई दीर्घकालीन प्रभाव पार्ने ठूला परियोजनाहरु निर्माण हुने हामीले आशा लिएका छौँ–‘अध्यक्ष थापाले भने । अध्यक्ष थापाले कवि मनका थपलियालाई उनको प्रकाशोन्मुख कविता कृति पोखरामै विमोचन गर्न आग्रह गर्दा  हल तालीले गुञ्जायमान भएको थियो ।  कार्यक्रमा बोल्दै क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले आफ्नो करीव १ वर्षे पोखरा बसाई निजी क्षेत्र मैत्री वातावरण बनाउनेतर्फ अनुभव हाँसिल गर्न फलदायी रहेको बताए । उनले पोखराको निजी क्षेत्र देशको अन्य भागको भन्दा तुलनात्मक रुपमा  सार्वजनिक दायित्व बोकेको निजी क्षेत्र भएको प्रतिक्रिया दिए । ‘निजी क्षेत्र नाफा कमाउन बसेको म बुझ्छु तर यहाँको निजी क्षेत्र नाफामुखी मात्र हैन, राष्ट्रिय दायित्ववोध र उपभोक्ताप्रतिको कर्तव्य बुझेको निजी क्षेत्र हो’, उनले भने‘ विकास प्राप्तिको संवेदनशिलताप्रति  यहाँको निजी क्षेत्र प्रतिवद्ध पाए ।’ भूकम्पपछि राहत संकलन र बितरणमा पोखराको निजी क्षेत्रले देखाएको तत्परताको प्रशंसा गर्दै उनले थपे–‘नीति नियम, विधि विधान र पद्धति अनुसार चल्नुपर्छ भन्ने आसय भएको निजी क्षेत्रप्रति म ऋणी छु ।  विकासको काममा  निगरानी गर्नु, साझेदारीमा काम गर्नु  निजी क्षेत्रको दायित्व भएको बताउँदै उनले  निजी क्षेत्रलाई अन्तरघुलन नगरी विकास सम्भव नभएको बताए । उनले आफू पोखरा रहँदा पोखरेलीकै चाहनाको संवोधन हुने गरी विभिन्न परियोजना अगाडि सारेको बताउँदै त्यसको कार्यान्वयनमा लाग्ने प्रतिवद्धता समेत जनाए । अन्तर्निर्भरताबाट आत्मनिर्भरता खोज्नु अहिलेको विकासको रणनीति बन्नुपर्नेमा जोड दिँदै उनले  विचारबाट विभक्त भएरस  विकास सम्भव नहुने तर्क गरे । विचारको बिखण्डनले  मनहरु बिखण्डित हुने भएकोले विकास सम्भव नहुने भए पनि राजनीतिक दलहरुको भूमिकाको अवमूल्यनको पक्षमा आफू नहरेको उनको भनाई थियो ।  विकाससले  विद्धेष र द्धन्द्ध अन्त्य गर्ने बताउँदै उनले अर्थतन्त्र चलायनमान बनाउन मनहरुलाई जोड्नुपर्नेैमा जोड दिए । पर्यटन प्रहरीलाई सुविधा सम्पन्न बनाउने तथा पोखरामा रहेको पर्यटन वोर्डको कार्यालयलाई सुविधा सम्पन्न बनाउने उनको प्रतिवद्धता थियो ।  कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपालको कुल ग्राहस्थ उत्पादनमा चार प्रतिशतको योगदान गरे पनि सम्भावनायुक्त पर्यटन क्षेत्रलाई माथि उठाउन थपलियाको भूमिका महत्वपूर्ण हुने बताए । उनले ४ नम्बर प्रदेशको राजधानी बन्न आँटेको पोखरालाई अन्तर्राष्ट्रिय सहर बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिँदै भने–‘पोखराबाट अन्य सहरहरुमा हवाई मार्ग बिस्तारमा पनि पर्यटन सचिवको रुपमा ध्यान दिनुपर्छ । पोखराका ताल वरपर बन्ने साइकल लेन र पोखराको नयाँ बजारमा रहेको संग्रहालयलाई साँँस्कृतिक केन्द्र बनाउने योजना अगाडि सार्न पनि उनले माग गरे । पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीको धन्यवाद तथा महासचिव रविन्द्रबहादुर प्रजुको संचालन रहेको कार्यक्रममा बोल्दै  लेखनाथ  उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरिले बृहत्तर पोखराको सोचलाई व्यवहारमा परिणत गर्नका निम्ति पर्यटन सचिवको रुपमा थपलियाबाट ठूलो आशा गरिएको बताए । पोखराको वृहत्तर विकासमा क्षेत्रीय प्रशासकले देखाएको सक्रियता र निजी क्षेत्रप्रति देखाएको सहृदयिताको उनले प्रशंसा पनि गरे । पोखरा पर्यटन परीषदका कार्यवाहक अध्यक्ष चिरञ्जिवी पोखरेलले नेपाल पर्यटन वोर्डमा  निजी क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने माग गर्दै पोखराको पर्यटन कार्यालयलाई अधिकार र स्रोत साधन सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

Post a Comment

 
Top