0
दिनेश अधिकारी ‘चरी’ डन मारिएको एक वर्षपछि फेरि प्रहरीको इन्काउन्टरमा डनको पहिचान बनाएका कुमार श्रेष्ठ घैंटे मारिएका छन् । प्रहरीको मस्टवाण्डेट सूचीमा रहेका घैटे मारिएपछि व्यवसायीलाई चन्दा मागेर उठीबास लगाउन थालेका डनहरु त्रसिद बनेका छन् । यस्तै डन, गुण्डा र आपराधिक प्रवृत्तिको शिकार भएका छन् कास्की कांग्रेसका ईमान्दार र कर्तव्यनिष्ठ छवि बनाएका नेता रामजी पौडेल बादल । उनको जसरी हत्या भएको छ त्यसको जति भत्र्सना गरेपनि कमै हुन्छ । उनको हत्यामा संलग्नहरु केही हिरासतमा त केही अझै फरार छन् । हत्यामा संलग्न पार्टीकै जिम्मेवार नेता कार्यकर्ता संलग्न हुन्छन् । हत्यामा संलग्न आरोप लागेका जिम्मेवार व्यक्तित्व प्रहरी हिरासतमै अनसन बस्छन् र अन्य नेताहरु तिनैको संरक्षण गर्दछन्, अनसन तोडाउन जूख खुवाउँदै हिंड्छन् । यो कस्तो लाजमर्दो विषय ? पार्टीको उच्च तहमा रहेका व्यक्तिले सबैलाई मिलाएर लानुपर्नेमा उनै व्यक्तिलाई हत्यामा संलग्न भएको अरोप लाग्छ । त्यस्ता व्यक्तिले पदको मर्यादा, आफ्नो नैतिकता केही पनि ख्याल गरेको पाइँदैन । यसले भोलि आफू र पार्टीलाई कहाँ पु¥याला भन्ने ख्याल कहिले कहाँ गरिन्छ ? यसको मूल्याङ्कन न पार्टीले गर्छ न तिनै व्यक्तिले । यदि मूल्याङ्कन गर्ने हो भने त हत्यामा संलग्न भएको आरोप लागेर प्रहरी हिरासतमा पर्दा नैतिकताले पदबाट राजीनामा आउँथ्यो होला या पार्टीले कार्वाही प्रक्रिया अघि बढाउँथ्यो होला । यो दुवै काम कहिंकतैबाट हुन सकेको छैन । पार्टीको भविष्य सुरक्षित गर्ने हो भने नेपाली कांग्र्रेस गम्भीर हुन जरुरी छ । देशका ठूला शहरहरुमा टोले गुण्डादेखि लिएर ठूलै दादाहरु समेत छन् । विशेषतः काठमाडौंमा डनहरुको जगजगी रहेको छ । व्यवसायीहरुलाई बन्दुक देखाएर करोडौं सम्पत्ति कुम्ल्याउन सफल भएका डनहरु कोही मामा घरमा छन् भने कोही लुकेर बस्न थालेका छन् । काठमाडौंको बढ्दो अपराधिकरणलाई न्यूनिकरण गर्न प्रहरीले चलाएको अप्रेसन सफल बन्दै गएको चरी र घैटे इन्काउण्टरमा मारिएको घटनाले पुष्टि गर्छ । ग्याङ बनाएर निर्माण व्यवसायीदेखि लिएर सामान्य व्यवसायीबाट हप्ता असुली गरेर ज्यान पाल्दै आएका गुण्डाका कारण कतिपय व्यवसायी विस्थापित समेत भएका छन् । काठमाडौंमा रहेका बाँकी डनहरुलाई पनि तह लगाउने होभने शान्ति सुरक्षाको प्रत्याभूति मात्रै जनताले गर्ने छैनन् व्यवसायमा लगानी गरेर देशलाई समृद्विको बाटोतिर बढाउने पनि छन् । मौलाउँदै गएको डनवादलाई निर्मुल पार्नको लागि सबैभन्दा पहिले राजनीतिक दलहरु सचेत हुन जरुरी छ । चरी मारिंदा होस् वा घैटे, उनीहरुको पक्ष लिएर सरकारको विरुद्वमा उत्रिए । विरोधमा उत्रनु उनीहरुको धर्म पनि हो । किनकि नेताहरुको घरबार चल्छ र चुनावमा आर्थिक र भौतिक खर्च नै डनले गरिदिन्छन् । चरी मारिंदा एमालेका केही सभासदले संसदको बैठकमा समेत सरकारको विरोध गरे । चरी मारिँदा संसद तात्यो । घैंटे मारिएपछि संसद फेरि नतात्ला भन्न सकिंदैन । ‘डन’ को पहिचान बनाएका व्यक्तिहरु प्रहरीको इन्काउण्टरमा मारिँदा सदन तान्ने कारण डन र नेताको सम्बन्धमा मात्रै निहीत हुने गरेको देखिन्छ । चरी र घैंटेले आफ्नो छोटो जीवनमा जेजस्तो कार्य गरे, त्यसले उनीहरुलाई यो स्थितिमा पु¥यायो । अपराध कर्मले केही धन बटुल्न सकिन्छ, तर त्यसले उसको जीवनमा सुख दिँदैन । र, अकालमै ज्यान गुमाउनु पर्छ । प्रहरीले मौलाउँदै गएको डनवादलाई तह लगाउन गरेको अप्रेसनप्रति राजनीतिक दलका नेता तथा सभासदहरुले बधाई दिनुपर्छ । जबसम्म देशमा गुण्डागर्दीको बोलवाला चल्छ तबसम्म देश समृद्विको दिशातर्फ लम्कन सक्दैन र जनता सधै त्रासमा बाँचिरहनु पर्ने अवस्था रहन्छ । त्यसैले हाबी हुँदै गएको डनवादलाई सिध्याउन प्रहरीले गरेको कामप्रति दलहरुले सहयोग गर्न जरुरी छ । देशमा सुशासन कायम गर्न सिकाउने दलका नेता नै अपराधी जोगाउन लाग्छन् भने यो देशलाई कस्ले बदल्ने ? आज जनताले दलका नेताहरुलाई यहि प्रश्न गरिरहेका छन् । अपराधलाई राजनीतिक संरक्षण दिनेभने भोलि नमच्चेला भन्न सकिंदैन । कोही पनि धनी बन्ने नाममा गुण्डागर्दी, भ्रष्टाचार र अपराध कर्ममा नलागौं ।





Post a Comment

 
Top