0
गोल्डेन न्यूज संवाददाता
पोखराको लामाचौरमा आयोजना हुने तीजको तयारी तीव्र पारिएको छ । नव आदर्श क्लव लामाचौरले यही भदौ २८, २९ र ३० गते आयोजना गरेको तीज महोत्सवका लागि गठन गरिएका २० वटा उपसमितिले आफ्नो क्षेत्रमा सक्रियता जनाएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष धर्ममान सिंह भण्डारीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । तीन दिनसम्म चल्ने महोत्सवलाई राष्ट्रिय स्तरको बनाउन र यसको सांस्कृतिक महत्वलाई थप उजागर गर्न सबै प्रयत्न गरिने प्रचार संयोजक अर्जुन अधिकारीले बताए । महोत्सवका लागि आर्थिक संकलन उपसमितिले पनि विभिन्न व्यापारिक घराना संग छलफल गरिरहेको छ । लामाचौरको बानिँया स्टोर्स मुख्य प्रायोजक रहेपनि अन्य सहयोगको लागि छलफल भैरहेको भन्दै संयोजक बमबहादुर गुरुङ्गले हालसम्म १५ लाख रुपैया सहयोग संकलन भएको बताए । त्यस्तै महोत्सवको मुख्य आर्कषण रहेको तीज गीत प्रतियोगिता संगै सांस्कृतिक कार्यक्रमका लागि पनि राष्ट्रिय कलाकारसंग समन्वय भैरहेको छ । अहिलेसम्म राष्ट्रिय कलाकार शर्मिला गुरुङ्ग, रमिला न्यौपाने, शिव हमाल, चोलेन्द्र पौडेल, प्रजापति पराजुली, जानकी तारनी मगर लगायतका कलाकार निश्चित भएको सांस्कृतिक उपसमिति संयोजक अमर बानिँयाले जानकारी दिए । इन्द्रराज्यलक्ष्मी उच्च माविको प्राङ्गडमा हुने महोत्सवमा तीज गीत सहित श्रष्ठा सम्मान, लोक नृत्य प्रतियोगिता सासाजिक उद्यमी राष्ट्रिय पुरस्कार प्रदान, घैटो फुटाउने, रस्सा कस्सी, पत्रकार दौड, महिला म्युजिकल चियर कार्यक्रम हुने सचिव लक्ष्मी पाण्डेले जानकारी दिइन । त्यस्तै महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिताका लागि पाँच टीमको अन्तिम तयारी भएको खेलकुद संयोजक शुशिल कुमार श्रेष्ठले बताए । त्यस्तै अन्तर विद्यालय छात्रा भलिवलको तयारी पनि भैरहेको बताइएको छ । महोत्सवले लामाचौर सहित समग्र पोखराको विकासमा भूमिका खेल्ने आयोजकले अपेक्षा गरेको छ ।



Post a Comment

 
Top