0
गोल्डेन न्यूज संवाददाता
राप्रपा नेपालको केन्द्रीय कार्यक्रम अनुसार देशका ७५ वटै जिल्लामा गरिने विरोध कार्यक्रम अन्तर्गत शुक्रबार कास्कीमा सभामुख सुवासचन्द नेम्बाङ्गको पुत्ला दहन गरिएको छ । स्थानीय नयाँबजार स्थित पार्टी कार्यालयबाट शुरु भएको पृथ्वीचोकहुँदै सृजनाचोकमा आएर विरोध सभामा परिणत भएको थियो ।  सभालाई सम्वोधन गर्दै केन्द्रीय सदस्य कुल बहादुर गुरुङ्ग कुलुले राष्टूघाती, जनघाती विषयहरुमा भण्डाफोर गर्न, नेपाली जनतामा निहित सार्वभौम अधिकार स्थापित गरी राष्ट्रिय महत्वहरुसँग जोडिएको विषयहरुमा जनमत संग्रहद्वारा टुङ्गो लगाउनुपर्ने बताए । उनले नेपालमा रहेका सम्पूर्ण भूमिपुत्रहरुको राज्यमा पहुँच हुने गरी समानुपातिक समावेशी प्रतिनिधित्व कायम गर्न, सम्पूर्ण नेपालीहरुको बीचमा सहिष्णुता कायम गरी एकताको सुत्रमा बाँध्न तथा नेपाल र नेपालीहरुको राष्ट्रिय पहिचान र अस्तित्वसँग जोडिएको सनातन धर्म सापेक्ष हिन्दूराष्ट्र बन्ने संविधानमा पुनस्र्थापनको लागि दवाव स्वरुप विरोध सभा गरिएको बताए । प्रशिक्षण विभाग सदस्य बरुण विक्रम राणा र क्षेत्रीय अध्यक्ष गीता गुरुङ्गले धर्म बेचेर खान लाएको हुँदा धर्मको रक्षा गर्नको लागि आम जनसमुदायलाई आग्रह गर्दै देशलाई सनातन हिन्दूराष्ट्र कायम गर्न माग गरे । कार्यक्रममा केन्द्रीय सदस्य एवं अञ्चल संयोजक रमेश बहादुर भट्टराई, जिल्ला उपाध्यक्ष भोलाजंग सुवेदी, प्रेम मल्ल, कोषाध्यक्ष धर्मेन्द्र थापा, क्षेत्रीय अध्यक्षहरु, नगर अध्यक्षहरु लगायत भातृसंगठनका पदाधिकारी हरुको बृहत सहभागीता रहेको थियो । पार्टी उपाध्यक्ष बुद्धिमान दुरा धम्पुको अध्यक्षतमा सम्पन्न कार्यक्रमको संचालन जिल्ला सहसचिव रञ्जना सेन पौडेलले गरेको जानकारी राष्ट्रिय पत्रकार समाजका अध्यक्ष सूर्य बाँस्तोलाले दिए ।

Post a Comment

 
Top