गोल्डेन न्यूज संवाददाता
गत श्रावण १३ गते आएको बाढीले बगाएको कास्कीको भदौरे तमागी स्थित ठूलाखेत र माझथुम जोड्ने खहरे खोलामाथिको पुलको ठाउँमा अब भने मोटरेवल पुल निर्माण गरिने भएको छ । पुल निर्माणका लागि आउँदो सोमबार सर्वे गर्न लागिएको कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । ‘सर्वे भईसकेपछि ठेक्काको प्रक्रियामा जान्छ’ अधिकारीले भने–‘करिब दुई तीन महिनासम्ममा ठेक्का प्रक्रिया सकेर निर्माण कार्य अघि बढाइनेछ ।’ पक्की पुल निर्माणका लागि समय लाग्ने भएकाले तत्कालको समस्या समाधानका लागि पहाड ट्रष्ट नामक गैर सरकारी संस्थाले अस्थायी पुलको जिम्मा लिएको पनि उनले बताए । उक्त संस्थाले कहिलेबाट काम सुरु गर्छ भन्नेचाहिँ उनले खुलाएनन् । बाढीले बगाएका पुलमध्ये चापाकोट र कास्कीकोट ४ जोड्ने ककरेमा अवस्थित पुलको पनि सर्वे गर्ने कार्य भईसकेको उनले जानकारी दिए । सो स्थानमा भने पहिलेको जस्तै झोलुङ्गे पुल निर्माण हुनेछ । यसैबीच भत्केका पुलहरुको पुनःनिर्माणमा सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीयले गुनासो गरेका छन् । पैदलयात्री र मोटरसाईकलसम्म ओहोर–दोहोर गर्न मिल्ने गरी निर्माण गरिएको कंक्रिटको उक्त पुल खहरे खोलामा ठूलो बाढी आएपछि बगाएको थियो । उक्त पुल बगाएपछि विभिन्न संघ संस्था र स्थानीयको जनश्रमदानमा २ पटकसम्म बाँसका अस्थायी पुल निर्माण गरिएको भएपनि कुनैपनि पुल खोलाले बाँकी राखेन । पुल निर्माणका लागि स्थानीय निकायमा पटक–पटक अनुरोध गर्दा पनि प्रशासनले वास्ता नगरेको स्थानीयहरुले आरोप लगाएका छन् । पुल नहुँदा विशेषगरी स–साना बालबालिकाहरुलाई विद्यालय जान आउन समेत समस्या परेको छ । स्थानीय जनकल्याण बोर्डिङ स्कूल र सिद्ध बराह माध्यमिक विद्यालयमा दिनहुँ खोला तरेर आउन जान समस्या भएपछि विद्यार्थीहरुको पढाई समेत प्रभावित बनेको छ । पुल बगाएपछि झण्डै एक महिनाको बीचमा सो ठाउँमा विभिन्न संघ संस्था र समूहका व्यक्तिहरु राहत लिएर पुगेका छन् । बाढीग्रस्त भदौरे ५ डुँडेको फाँटका पीडितहरुलाई समेत बारी माझथुममा नै बोलाएर राहत सामाग्री वितरण गर्ने गरिएको छ । तर पुल निर्माण गर्नतर्फ भने कसैको ध्यान जान नसकेको स्थानीय विष्णु दहालले बताए । त्यसैगरी कास्कीको कास्कीकोट गाविस स्थित स्थानीय ठोट्ने खोलामा निर्माण गरिएको पुल पनि श्रावण १३ कै बाढीका कारण बगाएको थियो । स्थानीय आमा समूह र गाविसको सहयोगमा निर्मित सो पुल पनि मर्मत हुन नसक्दा स्थानीयहरुलाई निकै सास्ती भएको छ । पुल निर्माणका लागि पहल गर्न स्थानीयले माग गरेका छन् । आमा समूहले वर्षौँ लगाएर जुटाएको रकमबाट निर्मित सो पुल भत्केपछि अब भने स्थानीय प्रशासनले निर्माण गरिदिनुपर्ने स्थानीय केशव सुवेदी बताउँछन् । यसैगरी कास्कीकोट ४ लौरुक र चापाकोटको बाम्दी जोड्ने पुलपनि पुनर्निर्माणको प्रतिक्षामा रहेको छ ।
Post a Comment